कोरोना कहर बढेपछि यी १४ जिल्लामा भयाे लकडाउन



काठमाडौं । कोरोनाको कहर बढेको भन्दै देशका विभिन्न स्थानमा स्थानीय जिल्ला प्रशासन कार्यालय तथा स्थानीय निकायले धमाधम लकडाउन घोषणा गरेका छन् ।

कोरोनाको मात्रा बढ्दै गएको पाइएपछि उनीहरुले अन्तिम विकल्पको रुपमा लकडाउन गरेको दावी गरेका छन् । उनीहरुले लकडाउनको समयमा विगतको भन्दा कडा रणनीति समेत अख्तियार गरेका छन् ।

सरकारले गत चैत ११ गतेदेखि घोषणा गरेको लकडाउन आशिंक रुपमा गत असारदेखि हटाएको थियो भने पूर्ण रुपमा गत साउन ७ गते देखि पूर्ण रुपमा हटाएको थियो । लकडाउन हटेपनि आम जनमानसको चहलपहल बढेसँगै कोरोनाको मात्रामा समेत बढोत्तरी भएको छ । दैनिक जसो कोरोना सक्रमण हुने दर पनि उत्तिकै बढ्दै गएको छ ।

कोरोना महामारी नियन्त्रणका लागि भन्दै देशभरका १४ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । सरकारले देशमा कोरोना संक्रमण बढ्दै गएको अवस्थामा कोरोनाको अवस्थालाई हेरेर बन्दाबन्दी गर्ने वा खोल्ने अधिकार सम्बन्धित जिल्ला र स्थानीय तहलाई दिएसँगै १४ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।

गृह मन्त्रालयका अनुसार सप्तरी, धनुषा, नुवाकोट, बाँके, मोरङ, पर्सा, बारा, महोत्तरी, झापा, सुनसरी, बझाङ, दार्चुला, सर्लाही र स्याङ्जामा निषेधाज्ञा जारी गरिएको छ । सप्तरी, बाँके, पर्सा, बारा, सर्लाही र स्याङ्जा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ भने पर्सा, बारा र सर्लाहीमा अनिश्चितकालीन निषेधाज्ञा गरिएको छ ।

यस्तै सप्तरीमा साउन २६, बाँकेमा साउन २४ र स्याङ्जामा साउन २३ गतेसम्म निषेधाज्ञा जारी गरिएकोे छ ।

दार्चुलाको मार्मा गाउँपालिका, झापाको बिर्तामोड र अर्जुनधारा नगरपालिका, मोरङको विराटनगर महानगरपालिका, सुनसरीको बराह क्षेत्र नगरपालिकाको वडा नम्बर ६, ७ र ८, महोत्तरीको जलेश्वर नगरपालिका र महोत्तरी गाउँपालिका, धनुषाको जनकपुरधाम उपमहानगरपालिका र क्षीरेश्वरनाथ नगरपालिका, नुवाकोटको सदरमुकाम क्षेत्र, बझाङको थलारा गाउँपालिका–५ र केदारस्यू गाउँपालिका ६ र ७ मा निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयले जनाएको छ ।


क्लिकमान्डु