स्रोत जुटाउने माध्यमः १७ बैंक र २ फाइनान्सलाई सवा ४५ अर्बको ऋणपत्र निष्काशन गर्ने अनुमति



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले हालसम्म ४५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशनको अनुमति पाएका छन् ।

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले चुक्ता पुँजीको २५ प्रतिशत बराबर ऋणपत्र जारी गरिसक्नु व्यवस्था गरेको थियो । जसअनुसार १७ वटा वाणिज्य बैंक र २ वटा फाइनान्स कम्पनीसहित १९ संस्थाले ४५ अर्ब २५ करोडको ऋणपत्र निष्काशन गर्न अनुमति पाए पनि सबैले निष्काशन गरिसकेका छैनन् । ।

राष्ट्र बैंकले गत आवको मौद्रिक नीतिमा वित्तीय क्षेत्र सुदृढीकरणका लागि वाणिज्य बैंकहरुले २०७७ असार मसान्तसम्म चुक्ता पुँजीको २५ प्रतिशत बराबर ऋणपत्र जारी गरिसक्नु पर्ने व्यवस्था गरेको थियो ।

तर मर्जर तथा प्राप्तीमा सहभागी हुने बैंकले २०७८ असार मसान्तसम्म तोकिएको प्रतिशतमा ऋणपत्र जारी गर्न पाउने सहुलियत राष्ट्र बैंकले दिएको छ ।

कारोनाका कारण अहिले राष्ट्र बैंकले ऋणपत्र जारी गर्नुपर्ने मितिलाई केही पर धकेलिदिएको छ । बैंकहरुले जारी गरेको ऋणपत्रको शतप्रतिशत रकम कर्जा प्रवाहका लागि उपयोग गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई दीर्घकालीन ऋणपत्र जारी गरी वित्तीय साधन परिचालन गर्न प्रोत्साहन गरेको हो । जसकारण धितोपत्र बजारमा उपकरणगत विविधीकरण मात्रै भएको छैन । तरलता अभावको मारबाट पिरोलिने वित्तीय क्षेत्रलाई पनि ऋणपत्रले केही राहतको महशुस गराएको छ ।

राष्ट्र बैंकले गत आर्थिक वर्षमा १७ वटा वाणिज्य बैंकलाई ४४ अर्ब ८० करोड रुपैयाँ र २ वटा वित्त कम्पनीलाई ४५ करोड रुपैयाँको ८.५० देखि १०.२५ प्रतिशतसम्म ब्याजदरमा ऋणपत्र जारी गर्ने स्वीकृति दिएको हो ।

अझै बैंक तथा वित्तीय संस्थाको ५४ अर्ब २९ करोड रुपैयाँ बराबरको ऋणपत्र दायित्व रहेको राष्ट्र बैंकले जनाएको छ ।

हालसम्म ऋणपत्र जारी गर्न स्वीकृति पाएकोमा बैंक अफ काठमाडौं १ अर्ब ६० करोड रुपैयाँ, सेञ्चुरी २ अर्ब २० करोड रुपैयाँ, ग्लोबल आइएमई ३ अर्ब रुपैयाँ, कुमारी ३ अर्ब रुपैयाँ, नेपाल बैंक २ अर्ब ५० करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट बैंक ४ अर्ब रुपैयाँ र प्राइम कमर्सियल बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गरेका छन् ।

त्यसैगरी, सनराइजले ३ अर्ब रुपैयाँ, एनसीसी ३ अर्ब र एनएमबि बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरिसकेका छन् ।

प्रभु बैंकले यही साउन १९ गतेदेखि २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गरिरहेको छ ।

त्यस्तै राष्ट्रिय वाणिज्य २ अर्ब ५० करोड रुपैयाँ, सानिमा ४ अर्ब रुपैयाँ, एभरेष्ट १ अर्ब रुपैयाँ, सिटिजन्स २ अर्ब ५ करोड रुपैयाँ, कृषि विकास २ अर्ब ५ करोड रुपैयाँ र नेपाल एसबीआइ बैंकले २ अर्ब ५ करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न अनुमति पाएका छन् ।

त्यसैगरी, गुडविल फाइनान्सले २५ करोड रुपैयाँ र आइसीएफसी फाइनान्सले २० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाद्वारा जारी ऋणपत्र न्यूनतम ५ वर्षदेखि १० वर्षसम्म परिवक्छ हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।

कोरोनाका कारण अहिले बैंकिङ प्रणालीमा फालाफाल तरलता छ । ऋणपत्र जारी गर्दाको तुलनामा अहिले ब्याजदर निकै सस्तो भएको छ । कर्जाको ब्याजदर नै एक अंकमा आइसकेको अवस्थामा ऋणपत्रको ब्याज भने बैंकहरुले दोहोरो अंकमै तिरिरहेका छन् ।

त्यतिमात्रै होइन, यसरी ऋणपत्र जारी गरेर स्रोत जुटाए पनि बैंकहरुले उक्त ऋणपत्र बापतको निश्चित प्रतिशत रकम नाफाबाट रिजर्भमा राख्नुपर्छ ।

गत आर्थिक वर्षमा ४५ अर्बको ऋणपत्र जारी भएको छ । जसकारण गत आर्थिक वर्षको नाफाबाट बैंकहरुले ३/४ अर्ब रुपैयाँ रिजर्भमा राख्नुपर्ने भएकाले यसले नाफालाई केही प्रभाव पार्न सक्ने देखिन्छ ।


पुष्प दुलाल