सिंहदरबारलाई कोरोनाको डर, कर्मचारी बाहेक सबैलाई प्रवेश रोक



काठमाडौं । लकडाउन खुले पनि उपत्यकामा कोरोनाको जोखिम बढेसँगै अर्को निर्णय नभएसम्मका लागि बुधबारदेखि सिंहदरबार प्रवेशमा रोक लगाइएको छ । गृहमन्त्रालयका अनुसार सिंहदरबारमा काम गर्ने कर्मचारी बाहेक सबैलाई सिंहदरबार प्रवेशमा रोक लगाइएको हो ।

गृहमन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीका अनुसार अर्को सूचना जारी नभएसम्मको लागि सबै खाले आवागमन बन्द भएको हो ।

‘उपत्यकामा कोरोना भाइरस बढेसँगै सिंहदरबारमा हुने आवगमन नियन्त्रित गर्ने निर्णय भएको छ,’ उनले भने, ‘यो निर्णय आजबाट यो निर्णय लागू भएको हो, अर्को निर्णय नभएसम्मका लागि कायम रहनेछ ।

बुधबार सिंहदरबार प्रवेशका लागि दक्षिण ढोकामा पुगेका निजामति कर्मचारी, सर्वसाधारण, सञ्चारकर्मी कसैलाई पनि प्रवेश दिइएन । जसका कारण उनीहरु सिंहदरबार प्रवेश गर्ने दक्षिण ढोकाबाट फर्कन बाध्य भए ।

गृहको निर्णय अनुसार सिंहदरबारभित्र मन्त्रालय, आयोगलगायतका निकायमा काम गर्ने कर्मचारी बाहेकलाई प्रवेशमा रोक लगाइएको छ । सिंहदरबारमा प्रवेशका लागि पास लिएका सञ्चारकर्मीसँगै सर्वसाधारणका लागि जारी हुने अस्थायी पास समेत बन्द गरिएको छ ।

लकडाउन खुलेसँगै बाहिरी जिल्लाबाट उपत्यका भित्रनेहरुको संख्या बढिरहेको र उपत्यकामा पनि कोरोना संक्रमितहरुको संख्या बढिरहेकाले कोरोनाको जोखिम उच्च भएको छ ।

मंगलबार प्रधानमन्त्रीसँग भेटेका विज्ञहरुले समेत उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेको भन्दै लकडाउन गर्नका लागि सुझाव दिएका थिए । जसमा प्रधानमन्त्रीले समेत सकारात्मक प्रतिक्रिया दिएका थिए ।

कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रण गर्नका लागि सरकारले ४ महिनासम्म लकडाउन गरी साउन ७ गतेदेखि लकडाउन खोलेको थियो । यद्यपि भदौ १ गतेसम्मका लागि हवाई सेवा र अर्को निर्णय नभएसम्मका लागि शैक्षिक संस्था, सिनेमा हल, जीम हल, स्वीमिङ पुललगायतमा समेत बन्द कायमै राखिएको छ ।


क्लिकमान्डु