अख्तियारको छाँयामा कम्पनी रजिष्ट्रार कार्यालय, जान मान्दैनन् कर्मचारी



काठमाडौं । देशभरका सरकारी तथा निजी क्षेत्रका कम्पनी दर्ता गर्ने कम्पनी रजिष्ट्रारको कार्यालयमा भ्रष्टाचारको मात्रा बढेपछि कर्मचारी जानै डराएका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको निकायमा कर्मचारी जानै मान्दैनन् ।

कुल ६० जनाको दरबन्दी रहेको कार्यालयमा हाल १७ वटा पद रिक्त छ । रिक्त पदमा आईटी निर्देशक, उप–रजिष्ट्रार, सहायक रजिष्ट्रार, कम्प्युटर इन्जिनियर, नासु र कार्यालय सहयोगीका पद रिक्त छ । लामो समयदेखि ती पद रिक्त हुँदा सेवाग्राही भने मर्कामा परेका छन् ।

कार्यालयमा १ आईटी निर्देशक र ४ जनाको दरबन्दी रहेको उप–रजिष्ट्रार पदमध्ये २ पद रिक्त छ । यसैगरी ९ सहायक रजिष्ट्रार, ३ कम्प्युटर इन्जिनियर, १ नासु र १ कार्यालय सहयोगीको पद रिक्त भएको छ ।

रिक्त पदमध्ये सबैभन्दा बढी सहायक रजिष्ट्रार छ । कार्यालयमा कुल १६ जना सहायक रजिष्ट्रारको दरबन्दी छ ।

जसमा ९ जना सहायक रजिष्ट्रारको रिक्त छ । हाल कार्यरत ७ जना सहायक रजिष्ट्रारमध्ये १ जना कानून विभाग हेर्ने हो भने बाँकी ६ जना सहायक रजिष्ट्रार सामान्य विभागका हुन् ।

यी ६ जना सहायक रजिष्ट्रारले आफ्नो सहित ९ जना रिक्त पदको समेत कार्यभार सम्हाल्ने बाध्यता छ ।

यसैगरी, कार्यालयमा ३ जना कम्प्युटर इन्जिनियरको दरबन्दीमा सबै रिक्त छ । कम्पनीको विवरण दर्ता गर्ने प्रविष्टको पद नै कार्यालयमा पुर्ति हुन सकेको छैनन् ।

किन रिक्त छ कम्पनी रजिष्ट्रारका एक चौथाइ पद रिक्त
नेपालमा हालसम्म २ लाख ३६ हजार ८२४ कम्पनी रजिष्ट्रार भइसकेका छन् । दैनिक सयौं कम्पनी रजिष्ट्रारको जिम्मेवारी लिएको कार्यालयमा दरबन्दीको एक चौथाइ पद रिक्त रहनुको पहिलो कारण हो भष्ट्राचार । पछिल्लो समय कम्पनी रजिष्ट्रार कार्यालयका कर्मचारीलाई अख्तियारले २४ सै घण्टा निगरानी गरिरहेको पाइएको छ ।

अख्तियारले यसरी निगरानी गर्नुको कारण कर्मचारीमा बढ्दो घुसखोरी नै हो । एक वर्षयता अख्तियारले कार्यालयका उच्चपदस्थ कर्मचारीदेखि कार्यालय सहयोगीसम्मलाई घुस लिँदै गर्दा पक्राउ गरेको छ ।

सोही कारण कम्पनी रजिष्ट्रारको कार्यालय भष्टाचारी अड्डाको रुपमा बद्नाम भएको छ । सोही कारण कार्यालयमा सरुवा भएका निजामती कर्मचारी पनि आउन मान्दैनन् । कार्यालयका उप–रजिष्ट्रार रामप्रसाद ढकालले पनि सो कुरा स्वीकार गरे ।

उप–रजिष्ट्रार ढकालले क्लिकमाण्डूसँग भने–‘कार्यालयमा धेरै दरबन्दी रिक्त हुँदा काम कारवाहीमा धेरै असर परेको छ, यहाँबाट सरुवा भएर जाने कर्मचारी तुरुन्तै प्रक्रिया पुर्याएर जान्छन् तर आउनु पर्ने कर्मचारी लामो समय भयो आउनै मानेका छैनन् ।’

कार्यालयमा जटिल काम हुनुका साथै अख्तियारले कर्मचारीलाई आवश्यकताभन्दा बढी नै निगरानीमा राख्ने गर्दा अन्य विभागबाट सरुवा पाएका कर्मचारी समेत दरबन्दी अनुसार नआएको उप–रजिष्ट्रार ढकालले जानकारी दिए ।


क्लिकमान्डु