नेपाल बैंकले ७.९९% ब्याजदरमा घर कर्जा दिने, अन्य बैंकमा भएको कर्जा पनि स्वाप गर्न सकिने



काठमाडौं । के तपाईं घर बनाउँदै हुनुहुन्छ ? त्यसका लागि सस्तो ब्याजदरमा ऋण चाहिएको छ ? यदी त्यसो हो भने सरकारी स्वामित्वमा रहेको नेपाल बैंकले सबैभन्दा सस्तो ब्याजदरमा घर बनाउन ऋण दिने भएको छ ।

अन्य वाणिज्य बैंकहरुले बेस रेटमा अधिकतम ५ प्रतिशतसम्म घर कर्जामा ब्याजदर निर्धारण गरिरहेका बेलामा नेपाल बैंकले भने सस्तो ब्याजदरमा घर कर्जा उपलब्ध गराउने भएको हो ।

नेपाल बैंक लिमिटेडले नेपालको बैंकिङ क्षेत्रमा सबैभन्दा कम ७.९९ प्रतिशत ब्याजदरमै घरकर्जा दिने जानकारी दिएको छ । यो ५ वर्षको अवधिका लागि हुने बैंकले जानकारी दिएको छ ।

बैंकले घर निर्माण गर्न, घर खरिद तथा तला थप गर्नका लागि समेत सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको हो । यसको अतिरिक्त बैंकले नयाँ लघु उद्यम कर्जा, सम्बृद्घ व्यवसाय कर्जा÷ घडेरी कर्जा योजनाहरुको पनि शुरु गरेको छ ।

त्यसैगरी बैंकले लघु उद्यम कर्जा तथा सम्वृद्घ व्यवसाय कर्जामा वार्षिक ८.९९ प्रतिशत ब्याजदर तोकेको छ । यो उक्त प्रकृतिका कर्जामा अन्य बैंकको तुलनामा न्यून ब्याजदर हो ।

यसप्रकारका कर्जाहरु प्राप्त गर्नका लागि सम्बन्धित निकायमा दर्ता भई नियमितरुपमा सञ्चालन भएका वा नयाँ सञ्चालन हुने क्रममा रहेका उद्योग वा व्यापार÷व्यवसाय सञ्चालन तथा विस्तारको निमित्त २५ लाखदेखि ९९ लाख रुपैयाँसम्मका लागि लघु उद्यम कर्जा र १ करोड रुपैयाँदेखि ३ करोड रुपैयाँसम्मको चालु तथा स्थिर पूँजी व्यवस्थापनका लागि सम्बृद्घ व्यवसाय कर्जा उपलब्ध गराइने बैंकले जानकारी दिएको छ ।

दुबै प्रकारका कर्जाहरु अन्र्तगत व्यवसायलाई आवश्यक पर्ने संरचना निर्माण, यन्त्र वा उपकरण, फर्निचर खरिद गर्न स्थिर पूँजीकर्जा र चालु सम्पत्ति व्यवस्थापनका लागि चालु पूँजीकर्जा प्रदान गर्न सकिनेछ ।

लघु उद्यम कर्जा ग्राहकले आवश्यक सम्पूर्ण कागजात पेश गरेकोे ७ कार्य दिनभित्र निर्णय गरी प्रदान गर्न सकिने व्यवस्था छ ।

घडेरी खरिद गरी घर निर्माण गर्ने उपभोक्तालाई लक्षित गरी बैंकले घडेरी कर्जा पनि ल्याएको छ । त्यसको वार्षिक ब्याजदर ९.९९ प्रतिशत छ ।

घडेरी जग्गा खरिद गर्न र अन्य बैंक तथा वित्तिय संस्थाबाट लगानी भएको सोही प्रकारको कर्जा स्वाप गरी ग्राहकको आवासीय आवश्यकता पूरा गर्न यो कर्जाको शुरुवात गरिएको हो ।

यस कर्जा अन्तर्गत खरिद गरिने घडेरी जग्गा कम्तीमा साढे दुई आना वा साढे चार धुरदेखि बढीमा एक रोपनी वा डेढ कट्ठासम्म क्षेत्रफल भएको हुनुपर्नेछ । यो कर्जाको अवधि ५ वर्षदेखि २० वर्षसम्म कायम गरिएको छ ।

यस बैंकले १८६ वटा शाखाहरु, १२५ बटा एटीएम तथा २९ वटा एक्स्टेन्सन काउण्टरमार्फत् बैंकिङ सेवा दिँदै आएको छ । चालु आवभित्र सबै जिल्लामा शाखा सञ्जाल बिस्तार गरिसकेको बैंकको कुल शाखा संख्या २१४ पुर्याउने लक्ष्य लिएको छ ।


क्लिकमान्डु