ब्रोकरको काम गर्न नेप्सेमा आवेदन दिएका बैंकले कहिले पाउँछन् लाइसेन्स ?



काठमाडौं । झण्डै एक वर्ष अघि नै सहायक कम्पनी खोलेर ब्रोकरको काम गर्नका लागि नेप्सेमा आवेदन दिएका ११ वटा बैंकको फाइल यत्तिकै रोकिएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिले बैंकका सहायक कम्पनीलाई ब्रोकरको लाइसेन्स दिनुअघि केही अध्ययन आवश्यक भएको भन्दै मौखिकरुपमा त्यो काम रोक्न नेप्सेलाई निर्देशन दिएको थियो ।

समितिको निर्देशनपछि नेप्सेले ती बैंकका सहायक कम्पनीलाई ब्रोकरको काम गर्न सिफारिस गरेर धितोपत्र बोर्डका पठाउन सकेको छैन ।

समितिले उक्त कार्य रोकेर सांसद रामकुमारी झाँक्रीको संयोजकत्वमा उपसमिति गठन गरेको थियो । उक्त समितिले झण्डै एक वर्ष लगाएर तयार पारेको प्रतिवेदनमा विभिन्न ११ वटा प्रश्नको सम्बोधन गर्दै बैंकको सहायक कम्पनीलाई ब्रोकरको लाइसेन्स दिन भनेको छ ।

ती प्रश्नको जवाफ नभेटिएसम्मका लागि ती ११ वटा बैंकका सहायक कम्पनीले लाइसेन्स पाउने सम्भावना छैन ।

आवेदन दिने ११ वटा सहायक कम्पनीमा माच्छापुच्छे« सेक्युरिटीज, सिबीआईएल सेक्युरिटीज, मेगा स्टक मार्केट, एनआईसी एसिया सेक्युरिटीज, एनबीबीएल सेक्युरिटीज, केबिएल सेक्युरिटीज, जेबीएनएल सेक्युरिटीज, सानिमा सेक्युरिटीज, सेन्चुरी स्टक, प्रभु सेक्युरिटिज र सिभिल सेक्युरिटीज रहेका छन् ।

यी कम्पनीहरुले आफूलाई सिफारिस गर्न भन्दै नेप्सेमा निवेदन दिएका थिए । अर्थसमितिले रोकेसँगै यी कम्पनीलाई नेप्सेले सिफारिस गरेर धितोपत्र बोर्डमा पठाउन सकेको छैन ।

यसरी आवेदन दिनेमध्ये जनता बैंक र ग्लोवल आइएमई बैंक आपसमा मर्जर भएका छन् । अब यी दुई बैंकको दुई कम्पनीमा एउटा अर्थात् जनता बैंक खारेज हुनेछ भने ग्लोवल आइएमई बैंकको सहायक कम्पनी मात्रै कायम रहने छ ।

बोर्डले ११ वटा प्रश्न सम्बोधन गर्दै सहायक कम्पनीलाई ब्रोकरको लाईसेन्स दिनु भनेर धितोपत्र बोर्ड र नेप्सेमा पत्र पठाइसकेको छ ।

उक्त पत्र पाएपछि बोर्डले काम शुरु गरिसकेको र आफ्नो काम सकेर बाँकी काम गर्नका लागि नेप्सेमा पठाउने बोर्डले जानकारी गराएको छ ।

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत वाणिज्य बैंकले सहायक कम्पनी स्थापना गरी सेयर ब्रोकरको काम गर्न पाउने व्यवस्था गरेको थियो ।

सोही व्यवस्था अनुसार बैंकहरुले सहायक कम्पनी खोलेर ब्रोकरको लागि काम गर्न अनुमति माग गरेका हुन् । त्यसका लागि बैंकले सहायक कम्पनी खोलेर कम्पनी रजिष्ट्रार कार्यालयमा निवेदन दिने र त्यहाँबाट अनुमति पाएपछि नेप्सेमा अनुमतिका लागि निवेदन दिनुपर्छ ।

त्यसका लागि भने ब्रोकरको काम गर्नका लागि प्रस्तावनासहित ब्रोकरको कम्पनीको प्रवन्धपत्र तथा नियमावली आवश्यक पर्दछ ।

नेप्सेले आवश्यक कागजात हेरेपछि माग बमोजिम कागजात भएको खण्डमा अन्तिम स्विकृतीको लागि धितोपत्र बोर्डमा पठाउने व्यवस्था रहेको छ ।


क्लिकमान्डु