करिब २ वर्षमा पनि नेप्सेको अनलाइन प्रणालीमा आकर्षित भएनन् लगानीकर्ता (तथ्यांकसहित)



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले झण्डै २ वर्ष अघि शुरु गरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अनलाइन प्रणालीमा हालसम्म जम्मा ४७ हजार २६ जना लगानीकर्ता सहभागी भएका छन् ।

अर्थमन्त्री डा. खतिवडाले २०७५ साल कात्तिक २० गते निकै तामझामका साथ तारे होटलमा उद्घाटन गरेको अनलाइनमा लगानीकर्ताको ध्यान खासै जान नसकेको नेप्सेकै तथ्याङ्कले नै देखाएको छ ।

कात्तिक २० गते उदघाटन भएको र पुस १७ गतेदेखि सेयर बजारमा अनलाइन प्रणाली लागू भएको थियो । यो अवधिमा ४७ हजार मात्रै सहभागी हुनु भनेको यसलाई उल्लेख्य मान्न नसकिने जानकारहरुको भनाइ छ ।

त्यो समयमा लगानीकर्ताहरुले पनि अनलाइन शुरु भएदेखि बजारमा धेरै सुधार आउने भन्दै तत्काल अनलाइन प्रणाली ल्याउन दबाब समेत दिएका थिए । तर पनि लगानीकर्ताहरु नै अनलाइनमा न्यून सहभागी भएका थिए ।

सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले नेप्सेको अनलाइन अन्तर्राष्ट्रिय स्तरको भएन भनेर गुनासो गरिरहेको समयमा जम्मा ४७ हजार २६ जना मात्रै सहभागी भएका छन् । नेप्सेको अनुसार पुँजी बजारमा सक्रिय २ लाख ६४ हजार ६३३ जना लगानीकर्तामा ४७ हजार २६ जना मात्रै अनलाइन प्रयोगकर्ता छन् ।

यो अवधिमा अनलाइनबाट भएको कारोबारमा सबैभन्दा बढी यो सेवा सनी सेक्युरिटिजको छ । सनीबाट ३ हजार २३९ जनाले अनलाइन सेवा लिएका छन् ।

यस्तै धेरै अनलाइन सेवा विस्तार गर्ने ब्रोकरमा नाशा सेक्युरिटिज २ हजार ८८४, भिजन सेक्युरिटिज २ हजार ७७९, कोहिनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज २ हजार ५१६, दिपशिखा धितोपत्र कारोबार कम्पनीबाट २ हजार १७६ जनाले यो सेवा लिएका छन् ।

सबैभन्दा थोरै अनलाइन सेवा लगानीकर्तालाई दिने ब्रोकरमा सगरमाथा सेक्यूरिटिज छ । सगरमाथाले जम्मा १३८ जनालाई मात्रै यो सेवा दिएको नेप्सेको तथ्याङकमा उल्लेख छ । नेप्सेका अनुसार १ हजार भन्दा कम सेवा दिने ब्रोकरको संख्या बढी रहेको छ ।


क्लिकमान्डु