बोर्डको नजरमा सीआईटी ‘स्टक डिलर’का लागि योग्य, सेबोनले दियो पहिलो चरणको अनुमति



काठमाडौं । धितोपत्र बोर्डले नागरिक लगानी कोषलाई स्टक डिलरको काम गर्नका लागि नियमावली अनुसार पहिलो चरणको अनुमति दिएको छ ।

धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले नागरिक कोषलाई बोर्डले स्टक डिलर सञ्चालन गर्नका लागि पहिलो चरणको अनुमति दिएको क्लिकमाण्डुलाई जानकारी दिए ।

बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०६४ को ४ अनुसार अनुमती दिएको छ ।

‘अनुमति प्रदान गर्ने’ भन्ने शीर्षकको १ मा नियम ३ बमोजिम प्राप्त निवेदन र संलग्न विवरण तथा कागजात जाँचबुझ गर्दा ऐन र यस नियमावलीले गरेको व्यवस्थाको आधारमा अनुमतिपत्र प्रदान गर्न उपयुक्त देखिएमा बोर्डले निवेदकलाई नियम ५ बमोजिम पूर्वाधार तयार गर्न सूचित गर्नेछ भन्ने उल्लेख छ ।

पूर्वाधार तयार गरेको जानकारी प्राप्त भएको ३० दिनभित्र धितोपत्र दलाल र धितोपत्र व्यापारीले तयार गरेको पूर्वाधार सम्बन्धमा बोर्डले स्थलगत निरीक्षण तथा जाँचबुझ गर्नेछ र पूर्वाधार सम्बन्धमा गरेको व्यवस्था पर्याप्त देखिएमा धितोपत्र व्यवसाय सञ्चालन गर्न अनुसूची–२ बमोजिमको दस्तुर लिई अनुसूची–६ बमोजिम अनुमतिपत्र प्रदान गर्ने कानूनी व्यवस्था छ ।

कोषले साउन पहिलो साताबाट नै डिलरको काम गर्ने भनेपनि बोर्डबाट अनुमति नपाएका कारण काम शुरु गर्न सकेको थिएन । अब भने कोषलाई डिलरका रुपमा काम गर्नका लागि बाटो खुला भएको हो ।

त्योभन्दा पहिले डिलरले भौतिक पूर्वाधार, कार्यालय व्यवस्थापन, स्पेश, फर्निचर, सुरक्षा व्यवस्था, आईटीको व्यवस्थापन, कर्मचारीको व्यवस्थालगायत काम गर्नुपर्ने हुन्छ । त्यो काम सकेपछि स्टक डिलर कम्पनीले धितोपत्र बोर्डबाट पूर्ण लाइसेन्स पाउने अध्यक्ष ढुंगानाले बताए ।

कोषले स्टक डिलरको काम गर्नका लागि ‘नागरिक स्टक डिलर लिमिटेड’ नामक सहायक कम्पनी पनि खोलिसकेको छ । कम्पनीले काम शुरु गरेपछि सेयर बजारमा स्थायित्व आउने अपेक्षा रहेको छ । चालु आवको बजेटले पनि स्टक डिलर सञ्चालमा ल्याउने भनिसकेको थियो ।

कम्पनीका सेयर होल्डरको रुपमा ३ वटा ठूला कम्पनी कोषका साथै दूरसञ्चार कम्पनी र पुनर्बीमा कम्पनी रहेका छन् ।

कोषले चैत ४ गते ५ जनाको सञ्चालक समिति समेत गठन गरिसकेको छ । ३ जना नागरिक लगानी कोषबाट, १ जना दुरसञ्चार कम्पनी र १ जना पुनर्बीमा कम्पनीका प्रतिनिधि सदस्य छन् ।

५ अर्बको पुँजी भएको कम्पनीले डेढ अर्ब सर्वसाधारणका लागि छुट्याएको छ । अहिले साढे ३ अर्ब मात्रै पुँजी देखिन्छ । कम्पनीले लगानी गर्दा भएको सबै पुँजी एकैपटक लगानी नगरी बजारको अनुसन्धान गरेर मात्रै लगानी गर्ने जनाएको छ ।


क्लिकमान्डु