आर्थिक युद्ध, सुन र ३५०० प्रतिऔंस



सन् २०११ मा डलरसँगको पैठेजोरीमा जित्न सफल भएपछि सुनले उक्त वर्ष आफ्नो नयाँ किर्तिमानी राख्न सफल भयो । तसर्थ धातुलाई अझ फराकिलो भएर मूल्यको उचाई छुन ट्रयाक खुल्यो ।

अहिलेको अवस्थाले निम्त्याउन सक्ने उथलपुथलको भयसँगै सुुन चाँडै प्रतिऔंस २००० डलरको अंक पार गर्न सक्ने भय विश्व अर्थतन्त्रमा आएको देखिन्छ ।

अमेरिका र चीनबीच जारी आर्थिक युद्धको कारण यस्तो स्थिती आउँदै छ वा डलर कमजोरतर्फ उन्मुख छ भन्दा अन्यथा नहोला । तथापि डलर इन्डेक्स झण्डै १९ महिना यताको न्यून विन्दुमा कारोबार भइरहेको छ ।

सुनका लागि यो थप टेवा हो । योसँगै यदी अमेरिकाले चीनमा लगानीलाई थप कडा गर्दा अहिलेसम्म निम्त्याउन नदिएको पुँजी युद्ध (क्यापिटल युद्ध)को सम्भावनालाई टार्न सकिन्न ।

वैश्विक महामारीले निम्त्याएको आर्थिक संकटले अमेरिकाको ठूलो तर जहिल्यै नाजुक स्थितीमा रहने अर्थतन्त्रलाई ठूलो समस्या आउने आँकलनसँगै सुनको मूल्यमा क्रमिक वृद्धि हुनु स्वभाविक हो ।

कोभिडको कारण उत्पन्न आर्थिक संकटले अमेरिकामा सन् २००९ कोभन्दा धेरै आर्थिक संकटका अवस्था आउने आँकलन गरेसँगै डलरको मूल्य थप कमजोर हुने पक्का छ । यो क्रम पूरै युरोप हुँदै बेलायतसम्म हुने देखिएको छ ।

हालैको एउटा सर्वेक्षण अनुसार बेलायतको जीडीपीमा करिब ११.५ प्रतिशतले संकुचन आउने आँकलन गरिएको छ । यी सबै प्रक्षेपण सुनको मूल्यलाई थप टेवा दिन मद्दत गरिरहेका छन् । यी र यस्ता धेरै अवस्थाका कारण सुनको मूल्य २ हजार डलरभन्दा धेरै माथि जाने कुराको संकेत स्पष्ट देखिन्छ ।

आर्थिक अवस्थाहरु यही स्थितीमा रहने हो भने आगामी २ वर्षमा सुनको मूल्य २५०० देखि ३५०० डलरको बीचमा कारोबार नहोला भन्न सकिन्न । २००० डलरको अंक यसपटक सुनका लागि निकै मजवुत तथा महत्वपूर्ण कडी हुनेछ ।

यदी यही अंक अझै लामो समय टिकि राख्यो भने सुनको मूल्य यही वर्षभित्र २५०० डलर निश्चित छ । तर यसका लागि अहिलेको न्यून विन्दुको ब्याजदर कायम नै रहनु अति आवश्यक हुन्छ ।

विगतमा सुन किन्न वा भनौं सुनको मूल्यमा कारोबार गरेर नाफा सुनिश्चित गर्न सहज थिएन । उक्त समय प्रत्यक्षरुपमा सुनका गहना वा काँचो सुन किनेर जम्मा गर्नु पथ्र्यो । तथापि नेपाल जस्तो मुलुकमा अहिलेको अवस्था पनि त्यही नै हो ।

तर नेपाल इतरका देशहरुमा त्यो अवस्था छैन । एक्सचेञ्ज ट्रेडेड फन्ड र अन्य यस्तै औजारमार्फत् सुनको मूल्यको उतारचढाव कारोबार गर्न सकिन्छ । नेपाल इतरका राष्ट्रमा सुन किन्नका लागि धेरै कारणहरु हुन सक्छन् ।

सर्वप्रथम सुनलाई मानिसहरु सम्पत्तिको रुपमा काँचो सुनको सञ्चय गर्छन् । यो नेपाललगायत विश्वभरका मानिसहरुको चलन वा लगानीको साधारण तरिका हो । करिब ४० प्रतिशत उत्पादित सुनको खपत यसरी हुने गर्छन् ।

त्यस्तै गहनाका रुपमा पनि सुनमा लगानी हुन्छ । योसँगै सुनलाई मुद्रास्फिती विरुद्धको सुरक्षणकारुपमा पनि प्रयोग गर्ने चलन छ । मानिसहरु सुनको पछि लाग्नुको अर्को कारण सुनलाई बैश्विक महामारी तथा आर्थिक संकट विरुद्धको सुरक्षणका लागि प्रयोग गरिन्छ ।

त्यसकारण युद्ध, आर्थिक संकट, महामारीआदिको समयमा सुनको मूल्य वृद्धि हुनु स्वभाविक हो । अन्त्यमा लगानीको विविधताका लागि सुनको खरिद गरिने हुँदा यसलाई लगानीको अर्को क्षेत्रको रुपमा हेरिन्छ ।

अझ जुनसुकै उद्देश्यका लागि सुनको प्रयोग गरिएता पनि, मुद्रास्फितीको विरुद्धको यो ठूलो तथा महत्वपूर्ण सुरक्षण हालसम्म सावित भइरहेको छ ।

यो लेख तयार गरिरहँदासम्म सुनको मूल्य प्रतिऔंस १९७३ डलरमा कारोबार भइरहेको छ । जुन सुनको अहिलेसम्मको उच्च मूल्य हो । विश्व सुन इतिहासको अधारमा भन्ने हो भने प्रत्येक उच्चमूल्यको कारोबार लम्बाइ करिब १ दशकको हुनेगर्छ । जस्तैः सन् १९७१ देखि १९८० र सन् १९९९ देखि २०११ सम्म ।

अब यो क्रम जारी भयो र सुनको मूल्य २००० प्रतिऔंसमा केही महिना टिक्न सक्यो भने यसको वृद्धिको क्रमशः एक दशकको नहोला भन्न सकिन्न । र, त्यो चाँडै ३५०० डलर उन्मुख हुँदै १० हजार डलर प्रतिऔंससम्म पुग्न सक्छ भन्नु गलत हुँदैन ।

यही क्रममा अमेरिका र चीनबीच आर्थिक युद्ध कायम रह्यो भने डलरलाई ठूलो नकारात्मक असर गर्छ । जसका कारण सुनलाई धेरै ठूलो टेवा मिल्नेछ । फलस्वरुप सुनले वृद्धिको लयलाई राम्रोसँग उपयोग गर्नेछ ।

जारी व्यापार युद्ध, प्रौद्योगिक (टेक्नोलोजी) युद्ध, भूराजनीतिक युद्ध जस्ता सम्भावित पुँजी युद्धका कारण सुन बलियो क्षेत्रमा सुरक्षित छ भन्दा अन्यथा हुँदैन । तसर्थ सुन अनुत्पादिक हुँदाहुँदै पनि सुरक्षणको हिसाबले थप किन्न नसकेता पनि वा थप सुन नकिनेता पनि भएकाले बिक्री नगरी सुरक्षित राख्न सक्नु धेरै लाभदायक सिद्द हुने पक्का छ ।


क्लिकमान्डु