चितवनमा किन भयो रासायनिक मलको हाहाकार
काठमाडौं । चितवनमा युरियामलको चरम अभाव भएको छ । साउन महिनाको आधा समय सकिँदासमेत धानका लागि कृषकले मल पाउन सकेका छैनन् । घण्टौंसम्म लाइन बस्दा डीएपी र पोटास मल पाए पनि युरिया मल पाउन नसकेको उनीहरुले गुनासो गरेका छन् ।
माडी नगरपालिका–७ का कृषक चन्द्रप्रसाद काफ्लेले भरतपुरमा सबैतिर चहार्दा युरियामल पाउन नसकेको गुनासो गरे ।
युरियामल जिल्लाका कुनै पनि स्थानमा पु¥याउन नसकिएको कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय भरतपुरका प्रमुख रबिन्द्र गौतमले जानकारी दिए । उनका अनुसार धानखेतीका लागि मात्र जिल्लामा युरिया, पोटास र डिएपी गरी १५ हजार मेट्रिक टन मल माग भएको छ । तर अहिले साल्ट टे«डिङ र आफूहरुसँग युरियामल नभएको उनले बताए ।
उनका अनुसार जिल्लामा युरियामल मात्र तत्काल ३ हजार मेट्रिक टन आवश्यक छ । लकडाउनका कारण आपूर्ति असहज हुँदा पर्याप्त मात्रामा मल उपलव्ध गराउन नसकिएकोे कम्पनीले जनाएको छ ।
कम्पनीले गत वर्ष १० हजार मेट्रिक टन युरिया, ५ हजार मेट्रिक टन डिएपी र १ हजार ५०० मेट्रिक टन पोटास बिक्री गरेको थियो । साल्ट ट्रेडिङले तीन हजार मेट्रिक टन युरियामल बिक्री गरेको थियो । अहिले दुवै संस्थामा मल नभएको प्रमुख गौतमले बताए ।
‘धान रोप्ने समयमा नभए पनि गोड्ने समयसम्म आउँछ कि भनेको त्यो पनि बाटो कुर्नु मात्र भयो,’ उनले भने ।
लकडाउनले आउनुपर्ने मल रोकिएको हो । लकडाउन खुलेसँगै आपूर्ति सहज भए पनि मल आउन अझै समय लाग्ने उनको भनाइ छ ।
जिल्लामा बर्खेधान २७ हजार ७३५ हेक्टर र चैतेधान ६ हजार हेक्टर क्षेत्रफलमा लगाइँदै आएको छ । बर्खेधान लगाउने समयमा मल नपाएपछि कृषक चिन्तित बनेका छन् ।
कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख राजन ढकालले मल अभाव अझै केही समय हुने बताए । मल हाल्ने समय भए पनि युरियामल उपलब्ध नहुँदा विकल्पका रूपमा चिनी मल प्रयोग गर्न सकिने उनले बताए । अनुदानमा आउने मल सहकारीमार्फत र अनुदान नपाउने मल निजी क्षेत्रमार्फत बिक्री गर्ने गरिन्छ ।