पर्यटन क्षेत्रको विदेशी लगानीमा चीनको वर्चस्व, ५ वर्षमा ७१ प्रतिशत



काठमाडौं । पछिल्लो ५ वर्षमा पर्यटन क्षेत्रमा चिनियाँ लगानीको प्रतिबद्धता ह्वात्तै बढेको छ । ५ वर्षको अघिको तुलनामा पर्यटन क्षेत्रमा चिनियाँ लगानीको प्रतिबद्धता ९२५ प्रतिशतले बढेको उद्योग विभागको तथ्यांक छ ।

उद्योग विभागका अनुसार आर्थिक वर्ष २०७६/७७ मा हालसम्म कै सबैभन्दा बढी पर्यटन क्षेत्रमा चिनियाँ लगानी ११ अर्ब ६ करोड ६९ लाख रुपैयाँको प्रतिबद्धता आएको छ । जबकी आव २०७२/७३ मा १ अर्ब ८ करोड रुपैयाँको मात्रै चिनियाँ लगानीको प्रतिबद्धता आएको थियो । यसरी हेर्दा ५ वर्षको अवधिमा ९२५ प्रतिशतले चिनियाँ लगानीको प्रतिबद्धता बढेको छ ।

विभागका अनुसार ५ वर्षमा पर्यटन क्षेत्रमा कुल ३२ अर्ब ८० करोड ३३ लाख २० हजार ६०० रुपैयाँ विदेशी लगानीको प्रतिबद्धता आएको छ । जसमध्ये चिनियाँ लगानी मात्रै २३ अर्ब २३ करोड २० लाख ११ हजार ४० रुपैयाँ लगानीको प्रतिबद्धता आएको छ । यसरी हेर्दा पर्यटन क्षेत्रमा कुल विदेशी लगानीको ७०.८२ प्रतिशत लगानीको प्रतिबद्धता चीनबाट मात्रै आएको छ ।

कुन वर्षमा कति लगानी ?
उद्योग विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७२/७३ मा कुल पर्यटन क्षेत्रमा कुल १ अर्ब ९४ करोड ८३ लाख २९ हजार ९८० रुपैयाँको प्रतिबद्धता आएकोमा चिनियाँ लगानीको प्रतिबद्धता मात्रै १ अर्ब ८ करोड रुपैयाँ छ । जुन ५५.४३ प्रतिशत हो ।

आर्थिक वर्ष २०७३/७४ मा कुल विदेशी लगानीको प्रतिबद्धता ५ अर्ब ९८ करोड ८४ लाख ८७ हजार ४०० रुपैयाँ रहेकोमा चीनको लगानीको प्रतिबद्धता मात्रै ४८.९९ प्रतिशत् अर्थात २ अर्ब ९३ करोड ३९ लाख ९९ हजार ४०० रुपैयाँ छ ।

त्यसैगरी आर्थिक वर्ष २०७४/७५ मा पर्यटन क्षेत्रमा कुल ४ अर्ब १५ करोड ८३ लाख ७६ हजार ९४० रुपैयाँमध्ये चीनबाट मात्रै ५०.७१ प्रतिशत अर्थात् २ अर्ब १० करोड ९० लाख २० हजार २४० रुपैयाँ लगानीको प्रतिबद्धता आएको छ ।

आर्थिक वर्ष २०७५/७६ मा पर्यटन क्षेत्रमा कुल विदेशी लगानीको प्रतिबद्धता १० अर्ब ५३ करोड ८० लाख ९४ हजार २८० रुपैयाँमध्ये चीनको लगानीको प्रतिबद्धता मात्रै ५७.३३ प्रतिशत अर्थात् ६ अर्ब ४ करोड २० लाख रुपैयाँ छ ।

त्यसैगरी आर्थिक वर्ष २०७६/७७ मा पर्यटन क्षेत्रमा कुल विदेशी लगानी ११ अर्ब ६ करोड ६९ लाख १ हजार ४०० रुपैयाँमध्ये चिनियाँ लगानीको प्रतिबद्धता मात्रै ९१.८९ प्रतिशत अर्थात् १० अर्ब १७ करोड ३२ हजार रुपैयाँ छ ।

किन बढ्यो लगानी ?
पछिल्लो समय नेपालमा चिनियाँ पर्यटकको संख्या ह्वात्तै बढेको छ । नेपाल भित्रने कुल पर्यटकमध्ये छिमेकी दुई मुलुकको वर्चस्व छ । जसमध्ये भारतीय पर्यटकको सबैभन्दा बढी छ भने दोस्रो स्थानमा चिनियाँ पर्यटकको छ ।

गत वर्षको तथ्यांक हेर्दा करिब १२ लाख विदेशी पर्यटकमध्ये चिनियाँ पर्यटकको संख्या १५ प्रतिशत छ । नेपालमा चिनियाँ पर्यटक बढेसँगै काठमाडौंको ठमेललगायतका मुलुकका विभिन्न क्षेत्रमा चिनियाँ लगानीमा होटल, रेष्टुराँमा लगानी बढेको थियो ।

ठमेलका होटल र रेष्टुराँमा समेत चिनियाँ सस्कृति झल्कने खालका होटल र रेष्टु्राँ स्थापना हुन थालेसँगै चिनियाँ लगानीकर्ताले पर्यटन क्षेत्रमा सम्भावना देखेको ठमेलका व्यवसायीहरु बताउँछन् । हाल ठमेलमा अधिकांश होटल तथा रेष्टुराँमा चिनियाँ प्रभाव देख्न सकिन्छ ।

केही समय अघिसम्म भारतीय लगानी धेरै आइरहेको भए पनि हाल आएर चिनियाँ लगानी बढिरहेको तथ्यांकले देखाएको छ ।

३६८ होटल तथा रेष्टुराँमा लगानी
उद्योग विभागको तथ्यांक अनुसार चिनियाँ लगानीकर्ताले नेपालका विभिन्न ठाउँमा गरी ३६८ वटा होटल तथा रेष्टुराँमा लगानीको प्रतिबद्धता आएको छ । पछिल्लो ५ वर्षमा काठमाडौंमा सबैभन्दा धेरै चिनियाँ लगानीकर्ता आकर्षित भएका छन् भने ललितपुर, कास्की र चितवनमा पनि केही आकर्षण देखिएको छ ।

काठमाडौं केन्द्रित चिनियाँ लगानी

चिनियाँ लगानीकर्ताहरु काठमाडौंमा केन्द्रित हुने गरी होटल र रेष्टुराँ क्षेत्रमा लगानी गर्न खोजेको तथ्यांकले देखाएको छ भने सीमित मात्रामा पर्यटकीय नगरी पोखरा र चितवनमा पनि फाट्टफुट्ट लगानी भएको देखिएको छ ।

गत आर्थिक वर्षको तथ्यांक मात्रै हेर्ने हो भने काठमाडौंमा सबैभन्दा धेरै ६० वटा होटल तथा रेष्टुराँमा लगानीको प्रतिबद्धता आएको छ । जसमा कुल ९ अर्ब २० करोड ३२ हजार रुपैयाँ लगानीको प्रतिबद्धता आएको छ । काठमाडौंपछि ललितपुरका ३ वटा होटल तथा रेष्टुराँमा ४७ करोड, कास्कीमा ८ वटा होटल तथा रेष्टुराँमा ४५ करोडको लगानी र चितवनमा एउटा होटल तथा रेष्टुराँमा ५ करोडको चिनियाँ लगानीको प्रतिबद्धता आएको छ ।

पछिल्लो ५ वर्षमा कुल ३६८ वटा होटल तथा रेष्टुराँमध्ये काठमाडौंमा मात्रै २९३ वटा, कास्कीमा ३३ वटा ललितपुरमा २६ वटा होटल तथा रेष्टुराँमा चिनियाँ लगानीको प्रतिबद्धता आएको छ । त्यसबाहेक रुपन्देही, धादिङ, मकवानपुर, संखुवासभा, नवलपरासीलगातका स्थानमा समेत चिनियाँ लगानीको प्रतिबद्धता आएको छ ।


क्लिकमान्डु