निक्षेपकर्ताको पैसा जग्गा बेचेर तिर्ने सुधिर बस्नेतको प्रस्ताव, ६० दिनभित्र विवरण नबुझाए पैसा नपाइने



काठमाडौं । ओरियण्टल सहकारीले आफ्ना निक्षेपकर्तालाई निक्षेप वापतको रकम उपलब्ध गराउने भन्दै त्यसका लागि फराम भर्न अनुरोध गरेको छ ।

ओरियण्टल सहकारी संस्थामा जम्मा गरेको निक्षेप फरफारक हुन बाँकी रहेका निक्षेपकर्तालाई यही साउन २९ गतेदेखि ६० दिनभित्र फारम भर्न भनेको हो ।

ओरियण्टलका प्रमुख सुधिर बस्नेतले पीडितहरुको आधिकारिक प्रतिनिधि कुन्तिदेवी पोखरेलसँग भएको सहमतिअनुसार भक्तपुरको गुण्डुलगायत देशका विभिन्न भागमा सहकारीको नाममा रहेको सम्पत्ति बिक्री गरी निक्षेपकर्ताको रकम फरफारक गर्ने बताए ।

सहकारीको सम्पत्ति कानूनी प्रक्रिया पूरा गरी २०७५ असार २६ गतेको त्रिपक्षीय सम्झौता र २०७६ बैशाख ३१ गतेको द्विपक्षीय सहमितको आधारमा आफूहरुले निक्षेपकर्तालाई रकम फरफारक गर्न लागेको हो ।

तोकिएको अवधिभित्र आफ्नो निक्षेप जम्मा गरेको खाता नम्बर, बचत रकम, सम्पर्क नम्बर, निक्षेपको विषयलाई लिएर मुद्दा गरे वा नगरेको ब्यहोरा उल्लेख गरी ओरियण्टल सहकारी संस्था लिमिटेडको वेवसाइटमा रहेको फारम भरी सहभागी हुन भनेको छ ।

यदी उक्त फारम नभरे निक्षेपकर्ताले यसअघि नै आफ्नो दायित्व फरफारक गरेको मानिने उल्लेख छ ।

पछिल्ला दिनमा असम्बन्धित मानिसहरु जम्मा भइ हुलहुज्जत गरेको नाजायज आश्वास दिएको र नाराबाजी गरेको भन्दै ओरियण्टलले फरफारकका लागि आफूहरु तयार रहेकै दाबी गरेको छ ।


क्लिकमान्डु