लकडाउनपछि मोटरसाइकल र स्कुटरको व्यापार चम्कियो, व्यवसायी भन्छन्- उत्साही छौं



काठमाडौं । कोरोनाका कारणले ठप्प भएको दुई पांग्रे सवारी साधनको व्यापारले यतिबेला गति लिन थालेको छ । जेठ महिनामा लकडाउन खुकुलो भएसँगै दुई पांग्रे सवारी साधनको बिक्री बढेको व्यवसायीहरुको भनाइ छ ।

सार्वजनिक सवारी साधन सञ्चालनमा अनिश्चितता भइरहेका बेलामा मानिसहरु दुई पांग्रे सवारीमा आकर्षित भएको र कम्पनीहरुले ल्याएका विभिन्न छुटका अफरले पनि ग्राहक आकर्षित भएको उनीहरुको तर्क छ ।

सरकारले गत ११ चैतबाट साउन ६ गतेसम्म कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन लागू गरेको थियो । यसबीच सरकारले निजी सवारीमा जोर-विजोर प्रणाली लागू गरी सञ्चालन गर्न अनुमति दिएको थियो ।

सार्वजनिक सवारी साधनमा कोरोनाको जोखिम बढी हुने हुँदा पनि मानिसहरु निजी सवारीमा आकर्षित हुँदा दुई पांग्रे सवारीको बिक्री बढ्न थालेको हो । व्यवसायीहरुले छुट अफर अन्तर्गत शून्य प्रतिशत डाउनपेमेन्ट, शून्य प्रतिशत ब्याजदर तथा नगद छुटको अफर ल्याएका थिए ।

व्यवसायी भन्छन्- बिक्री उत्साहजनक छ
लकडाउनपछि मोटरसाइकल तथा स्कुटरको व्यापार ३० प्रतिशतले बढेको टीभीएसको मोटरसाइकल र स्कुटरका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक कुमार अग्रवालले बताए । उनका अनुसार लकडाउन अगाडिको भन्दा लकडाउनपछिको व्यापार उत्साहजनक छ ।

‘लकडाउनपछि ठप्प नै थियो, काम गर्न नसकिने पो हो कि भन्ने डर थियो तर अहिले त्यसको ठीक विपरीत व्यापारले गति लिएको छ,’ उनले भने ।

यसैगरी, लकडाउनअघिको तुलनामा लकडाउनपछिको व्यापार सन्तोषजनक रहेको यामाहाका लागि नेपालको आधिकारिक वितरक एमएडब्लू इन्प्राइजेजका बजार व्यवस्थापन प्रमुख विक्रम पौडेलले बताए । उनका अनुसार अन्य व्यवसाय सबै ठप्प भएको अवस्थामा मोटर्सको व्यापार राम्रो हुनु भनेको सकारात्मक पक्ष रहेको बताए ।

‘लकडाउन हुनुपछिको व्यापार निराशाजक छैन,’ उनले भने, ‘कोरोना महामारीबीचमा मोटरसाइकल र स्कुटरको व्यापार हुनु राम्रो हो ।’

त्यस्तै, हिरोको नेपालको लागि आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ प्रालिका अध्यक्ष अभिक ज्योतिले लकडाउनपछि मोटरसाइकल र स्कुटरको व्यापार बढ्नु स्वाभाविक रहेको बताउँछन् । सार्वजनिक यातायात ठप्प भएपछि मोटरसाइकल र स्कुटरको आवश्यकता बढेको उनले बताए । उनका अनुसार लकडाउन खुले लगत्तै शोरुममा ग्राहकको चाप बढेको बताए ।

किन बढ्यो व्यापार ?
मोटरसाइकल तथा स्कुटरको व्यापारमा उत्साहजनक भएकोमा सरकारले १ असारबाट लागु गरेको जोर–विजोर प्रणाली रहेको अधिकांश व्यावसायीहरूको भनाइ छ । साथै, कार भएकाले पनि जोर-विजोर मिलाउनका लागि मोटरसाइकल र स्कुटर किन्न आएको व्यावसायीहरुको तर्क छ ।

सरकारले कोरोना भाइरसको जोखिम भन्दै सार्वजनिक यातायात चल्न नदिएपछि यसको प्रभाव मोटरसाइकल तथा स्कुटर कम्पनीमा देखिएको थियो । जसले गर्दा सवारीको आवश्यकताले गर्दा पनि यसको प्रत्यक्ष रुपमा व्यापारमा सकारात्मक देखिएको हो ।

‘लकडाउन खुलेसँगै सार्वजनिक यातायातमा जोखिम बढेको छ,’ जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक कुमार अग्रवालले भने, ‘मोटरसाइकल र स्कुटर किनेर आफै सुरक्षित बनौं भन्ने मानसिकताले पनि ग्राहक किन्न आएका हुन् ।’

साथै व्यावसाय, रोजगारी भएका मानिसलाई यातायातमा भएको असहजताका कारण पनि सवारी साधनको बिक्री बढेको उनको भनाइ छ । व्यापार, रोजगारी भएका व्यक्तिले न्यूनतम मूल्यमा किन्न सकिने भएकाले पनि व्यापारमा सकारात्मक देखिएको उनको बुझाइ छ ।

कुन कम्पनीको कस्तो अफर ?

यामाहाः

यामाहाले ‘असहज परिस्थितिको सहज सावधान तपाईंको सुरक्षामा हाम्रो साथ’ स्लोगनका साथ १० हजार नगद छुट र शून्य प्रतिशत ब्याजदर, शुन्य प्रतिशत डाउनपेमेन्टको २ महिने योजना सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार साउन मसान्तसम्म मुलुकभर रहेका यामाहामा आधिकारिक शोरुमबाट यामाहाको मोटरसाइकल र स्कुटर एकमुष्ठ नगदमा खरिद गर्दा ग्राहकले १० हजार रुपैयाँको छुट पाउने छन् ।

यसका साथै, शून्य प्रतिशत ब्याजदर, शुन्य प्रतिशत डाउनपेमेन्टको २ महिने योजना पनि मुलकभरका यामाहाको शोरुमबाट उपलब्ध भइरहेको छ ।

यस योजना अन्तर्गत शुन्य प्रतिशत डाउनपेमेन्टमा यामाहाको बाइक र स्कुटर खरिद गर्ने चाहने ग्राहकले १७ प्रतिशत ब्याजदर ३६ महिनामा सम्पूर्ण किस्ता भुक्तानी गर्नुपर्ने हुन्छ । तर ग्राहकले शून्य प्रतिशत डाउनपेमेन्टका लागि कुनै पनि आधिकारिक कम्पनीको ग्यारेन्टी बसेपछि मात्र सो सुविधा उपयोग गर्न पाउँछ ।

यसैगरी शून्य प्रतिशत ब्याजदरमा यामाहाको बाइक र स्कुटर खरिद गर्ने ग्राहकले ५० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने हुन्छ । जसमा ग्राहकले १२ महिनाभित्र सम्पूर्ण किस्ता भुक्तानी गरिसक्नु पर्ने हुन्छ ।

टीभीएसः

नेपालमा टीभीएस नेपालले ‘सुरक्षित यात्राको सुरक्षित सुरक्षित सहयात्री, भीडभाडमा यात्रा छोड्नुस्, आफ्नै टीभीएसको साथ परिस्थितिको सामाना गर्नुस्’ नामक स्लोगनका अफर ल्याएको छ ।

टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले मोटर साइकलमा १२ हजार र स्कुटरमा १० हजार नगद छुट पाउनेछन् । त्यसैगरी, शून्य फाइनान्स वा ‘बाइ नाओ, पे इजी’का साथ ९९ अफर पनि छ । ९९ अफरमा ग्राहकले ४, ६ वा ८ महिनामा ९९ मात्र किस्ता तिर्नुपर्ने स्किम ल्याएका छन् । साथै, कम ब्याजदर, कम डाउनपेमेन्टको योजना छ । ग्राहकले आफ्नो इच्छाअनुसारको स्किमको उचित सदुपयोग गरी लाभ लिन सक्ने कम्पनीको भनाइ छ ।साथै, एक्सचेञ्जको पनि व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

हिरोः

हिरोको नेपालका लागि आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ प्रालि तत्कालै काठमाडौंभित्र शून्य प्रतिशत डाउनपेमेन्ट, शून्य प्रतिशत ब्याजदर अफर ल्याएको छ ।

बजाजः बजाजका लागि नेपालको आधिकारिक बिक्रेता एचएच बजाजले मोटरसाइकल खरिद गर्दा ‘फुल क्यास’मा १२ हजार छुट, ५० प्रतिशत डाउन पेमेन्ट गर्दा शुन्य प्रतिशत ब्याजदर र २० प्रतिशत डाउनपेमेन्टमै मोटरसाइकल उपलब्ध गराउने योजना ल्याएको छ ।


क्लिकमान्डु