भैरहवाको निर्भाना होटलमा १६ करोड लगानीमा क्यासिनो



काठमाडौं । भैरहवास्थित निर्भाना लक्जरी इन्टरनेशनल होटलले १६ करोड रुपैयाँको लगानीमा क्यासिनो सञ्चालन गर्ने भएको छ । चार तारे होटलको मान्यता पाएको निर्भानाले लकडाउन खुलेसँगै उद्योग विभागमा क्यासिनो सञ्चालनका लागि दर्ता गरेको छ ।

होटलको सञ्चालक सुनिलजंग रायमाझीले दर्ताको सम्पूर्ण प्रक्रिया पूरा गरी लाइसेन्सको पर्खाइमा रहेको क्लिकमाण्डूलाई जानकारी दिए ।

उनका अनुसार अहिले सम्पूर्ण प्रक्रिया सकाएर राजस्व मात्रै बुझाउन बाँकी छ । चार तारे स्तरको क्यासिनो सञ्चालनका लागि शुरुमा २ करोड रुपैयाँ राजस्व बुझाउनुपर्छ ।

‘कोरोना नआएको भए लकडाउन अघि नै शुरु गर्ने योजना थियो, तर लकडाउनका कारण शुरु गर्न सकिएको छैन,’ उनले भने, ‘लकडाउनका कारण योजना ५÷६ महिना पर धकलिएको छ ।’

उनका अनुसार क्यासिनोका लागि सामान भारत र चीनबाट सामान ल्याउनुपर्छ । त्यसका लागि पनि अहिले तयारी भइरहेको छ । निर्भानाअघि भैरहवामा टाइगर प्यालेस रिसोर्टमा क्यासिनो सञ्चालनमा छ ।

निर्भानाका सञ्चालक रायमाझीका अनुसार क्यासिनोमा करिब १ सय जनाले रोजगारी पाउनेछन् भने ७३ हजार विदेशी नागरिकलाई सेवा दिने उद्योग विभागको दर्तामा उल्लेख गरिएको छ ।

उद्योग विभागका अनुसार क्यासिनो सञ्चालनका लागि कुल लगानी १६ करोड रुपैयाँ छ । जसमा ११ करोड रुपैयाँ फिक्स्ड क्यापिटल र ५ करोड रुपैयाँ वर्किङ क्यापिटल छ ।

भैरहवामा नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा रहेकाले आगामी दिनमा पर्यटनको सम्भावना बढ्दै जाँदा होटलले क्यासिनोमा लगानी विस्तार गरेको हो ।

‘क्यासिनो विदेशी नागरिकलाई लक्षित भएकाले भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न र सञ्चालनको पर्खाइमा छौं,’ उनले भने ।

विशेष गरी भारतीय र चिनियाँ पर्यटक क्यासिनोमा आकर्षित हुने उनको विश्वास छ ।

भैरहवास्थित विमानस्थल सन् २०२० को अन्त्यसम्ममा निर्माण सम्पन्न भइ सन् २०२१ को मार्च महिनादेखि सञ्चालनमा ल्याउने सरकारले तयारी गरेको छ । विशेष गरी लुम्बिनीमा अत्यधिक पर्यटकको आगमन हुने भएकाले पछिल्लो समयमा भैरहवालगायत स्थानमा पर्यटन क्षेत्रमा लगानी बढिरहेको छ ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भएको पर्यटन क्षेत्र सर्भाइभल र रिभाइभलका लागि सरकारले समेत सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ ।

साथै राष्ट्र बैंकले पर्यटन क्षेत्रलाई प्राथमिकताप्राप्त क्षेत्रमा समावेश गरी बैंक तथा वित्तीय संस्थालाई लगानी बढाउन निर्देशन दिएको छ । यसले पर्यटन क्षेत्रमा लगानी बढ्ने विश्वास गरिएको छ ।

हाल भैरहवा, बुटवललगायतका क्षेत्रमा होटललगायतका उद्योगमा लगानी बढिरहेको छ भने बुटवलमा केवलकार निर्माणको काम पनि भइरहेको छ ।


क्लिकमान्डु