प्रहरीले झण्डै १३ करोड बराबरको १५ किलो सुन बरामद गर्यो



काठमाडौं । पछिल्लो पटक सुन तस्करी पूर्णरुपमा नियन्त्रण गरेको बताउने प्रहरी प्रशासनलाई चक्मा दिने गरी सोमबार राजधानी काठमाडौंमा १५ किलो सुन बरामद गरिएको छ ।

काठमाडौंको कमलादीबाट प्रहरीले उक्त परिमाणमा अवैध सुन पक्राउ गरेको हो । सुन बरामद भएपनि तस्करहरु भने पक्राउ गर्न भने सकिएको छैन ।

प्रहरीले २ थान हतियारसमेत बरामद गरेको छ । सुन कसले ल्याएको हो भन्ने बारेमा केही बताइएको छैन । प्रहरीले मंगलबार नै पत्रकार सम्मेलन गरेर जानकारी दिने बताएको छ ।

हवाइजहाज बन्द भएको अवस्थामा सुन कसरी काठमाडौं आयो भन्ने बारेमा प्रहरीले समेत केही पत्ता लगाउन सकेको छैन । प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ ।

एक उच्च प्रहरी अधिकृतले भने ‘ लकडाउनका कारण अन्तर्राष्ट्रिय हवाई उडान समेत चाटर्ड मात्रै भएको अवस्थामा कसरी सुन आयो भन्ने बारेमा अनुसन्धान भइरहेको छ ।’

अर्का एक प्रहरी अधिकृतले भने तातोपानी वा रसुवागढी नाकाबाट पनि सुन भित्रिएको हुन सक्ने बताए ।

महानगरीय प्रहरी परिसर टेकुमा आजै १२.३० बजे पत्रकार सम्मेलन गर्ने तयारी प्रहरीले गरेको छ ।

प्रहरीले अवैध सुन पक्राउ गरेपनि सुन ल्याउनेहरु को थिए भन्ने बताएको छैन । प्रहरी देखेपछि तस्करहरुले सुन बोकेको झोला फालेर फरार भएका थिए । प्रहरीले उनीहरु सवार सवारी साधनको समेत पहिचान गरिसकेको छ । मंगलबारको मूल्यअनुसार बरामद भएको सुन झण्डै १३ करोड बराबरको रहेको बताइन्छ ।


पुष्प दुलाल