कोरोना रोकथाम तथा नियन्त्रणमा राम्रो काम गर्न सके पर्यटक आउँछन्ः पर्यटन व्यवसायी



काठमाडौं । होटल व्यवसायीहरुले नेपालमा कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि राम्रो काम भइरहेको प्रत्याभुत गराउन सके धेरै संख्यामा पर्यटक आउन सक्ने बताएका छन् ।

होटल संघ नेपालका उपाध्यक्ष विनायक शाहले विदेशी पर्यटकहरुलाई नेपाल जाँदा कोभिडको संक्रमण छैन भन्ने कुराको प्रत्याभूति सरकारले गराउनुपर्ने बताए ।

सरकारले नेपालका कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि राम्रो काम गरेको सन्देश दिनसके नेपाल घुम्न आउने पर्यटकको संख्या बढ्ने शाहको भनाइ छ ।

त्यसका लागि पर्यटकको पीसीआर परीक्षण गर्ने व्यवस्था गर्नुपर्ने उनले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै पीसीआर परीक्षण गर्ने केन्द्र स्थापना गरेमा विदेशमा राम्रो सन्देश जाने र पर्यटकहरु आउन सक्ने उनको भनाइ छ ।

पर्यटन क्षेत्र, होटल व्यवासय सञ्चालनका लागि मौद्रिक नीतिमार्फत ५ प्रतिशत ब्याजदरमा वर्किङ क्यापिटल दिने कुरा आउनु सकारात्मक भएको शाहले बताए ।

तर सरकारले ५० अर्बको पुनरउत्थान कोष खडा नगरेसम्म व्यवसायीले उक्त सुविधा नपाउने र कर्मचारीलाई तलब दिन र होटल सञ्चालन गर्न नसक्ने भएकाले कोषको व्यवस्था छिटो गर्न सरकारलाई आग्रह समेत गरे । उनले नीति नियममा आएको कुरालाई कार्यान्वयनमा लैजाने कुरामा सरकार प्रस्टरुपमा नआउँदा व्यवसायीहरुमा अन्योलता बढेको बताए ।

पर्यटन व्यवसायी सुदर्शन नेपालले ट्रेकिङ, हाइकिङ, क्याम्पिङ ट्रेक गर्ने पर्यटकहरुलाई फोकस गरेर काम गरिने उनको भनाइ छ । कोभिड १९ संक्रमणको जोखिमलाई ध्यान दिएर समूहमा आउने पर्यटक भन्दा पनि व्यक्ति र पारिवारिक पर्यटकलाई फोकस गरेर प्रवद्र्धन गरिएको उनको भनाइ छ ।

यो समयमा धेरै मूलुक संक्रमणको जोखिममा रहेकाले नेपाललाई खुल्ला गर्दा पर्यटकहरु आउनसक्ने सम्भावना बढी रहेको पनि उनले बताए । खासगरी चिनियाँ पर्यटकहरु नेपाल आउन सक्ने उनको तर्क छ ।

व्यवसायीहरुले नेपालमा आउने पर्यटकका लागि सरकारले लिने शुल्कमा छुट दिनुपर्ने समेत बताएका छन् । नेपालमा आउने पर्यटकलाई कसरी कोभिडको संक्रमणबाट बचाउने भन्ने विषय महत्वपूर्ण हुने व्यवसायीहरुले बताएका छन् ।


क्लिकमान्डु