एयरपोर्ट होटल साउन १५ गतेदेखि खुल्ने, शुरु गर्यो पूर्वतयारी



काठमाडौं । सरकारले साउन १५ गतेदेखि होटल खोल्ने निर्णय गरेसँगै होटलहरुले पनि सञ्चालनको पूर्व तयारी शुरु गरेका छन् । सीमित कर्मचारीबाट कम क्षमतामा भए पनि होटल सञ्चालन गर्नका लागि उनीहरुले पूर्व तयारी शुरु गरेका हुन् ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनसँगै बन्द भएका होटलहरु ४ महिनापछि खुल्न लागेका हुन् । कोभिडका कारण पर्यटकको संख्या न्यून हुने भए पनि पूर्वतयारी स्वरुप होटल सञ्चालन गर्न लागिएको उनीहरुको भनाइ छ ।

यसैबीच काठमाडौंको एयरपोर्ट नजिकै रहेको तीन तारे होटल एयरपोर्ट होटलले पनि साउन १५ गतेदेखि सेवा शुरु गर्ने लक्ष्यसहित पूर्वतयारी शुरु गरेको छ ।

‘सरकारले साउन १५ गतेदेखि होटल खोल्ने निर्णय गरेपछि अहिले सरसफाइसँगै कर्मचारीलाई सुरक्षा मापदण्डका तालिम दिन शुरु गरिसकेका छौं,’ एयरपोर्ट होटलका सञ्चालक विनायक शाहले भने ।

उनका अनुसार भदौ १ गतेदेखि आन्तरिक र बाह्य हवाई उडान समेत सूचारु हुने भएपछि इक्वाइरी समेत आउन शुरु भइसकेको छ । होटलले पर्यटन प्रवद्र्धनका लागि देशका विभिन्न स्थानहरु विराटनगर, नेपालगञ्ज, भैरहवामा सञ्चालनमा रहेका पार्टनर होटलसँगको समन्वयमा पर्यटकका लागि प्याकेज समेत उपलब्ध गराएको छ ।

हवाई उडान सूचारु भएसँगै बिस्तारै आन्तरिक पर्यटन सूचारु हुने विश्वासका साथ शाहले होटल सञ्चालन हुन सुखद् भएको उनको भनाइ छ ।

यसअघि नेपाल पर्यटन बोर्डले होटलहरुका लागि स्वास्थ्य सुरक्षा सम्बन्धि प्रोटोकल जारी गरिसकेको छ । सोही प्रोटोकलका आधारमा होटल सञ्चालन गरिने शाहको भनाइ छ ।

बिनायक शाह

हवाई सेवा सञ्चालन नभएसम्मका लागि होटल सञ्चालन हुन गाह्रो हुने भए पनि साउन १५ गतेदेखि ३१ गतेसम्मका लागि पूर्वतयारी स्वरुप होटल खोल्न लागेको उनको भनाइ छ ।

‘कोभिडपछिको अवस्था होटलहरुका लागि सर्भाइभलको पिरियड हो, त्यसैले कम अकुपेन्सीमा भए पनि होटल सञ्चालन गर्न लागेका छौं, शुरुवातमा सीमित कर्मचारीबाट मात्रै होटल सञ्चालन गर्छौ,’ शाहले भने ।

शाहका अनुसार होटल राम्रोसँग सञ्चालन हुनका लागि कम्तीमा ४० प्रतिशत अकुपेन्सी आवश्यक हुन्छ । शुरुवाती समयमा कम क्षमतामा भए पनि बिस्तारै बढ्ने जाने उनको विश्वास छ ।

यसअघि पर्यटनसँग सम्बन्धित विभिन्न संघ संस्थाले पर्यटन क्षेत्र उकास्नका लागि छिटोभन्दा छिटो होटल तथा हवाई सेवा सूचारु गर्नुपर्ने माग राख्दै आएका थिए ।

महामारीबाट सबैभन्दा बढी प्रभावित भएको होटल क्षेत्र सूचारु गर्नका लागि यो पूर्व तयारी हुनेछ ।

‘मानिसहरुमा धर्ममा पनि राम्रो आस्था छ, काठमाडौंमा पशुपतिनाथ मन्दिर, पूर्वमा पाथिभरासँगै पश्चिमतर्फ लुम्बिनीलगायतका स्थानमा जाने पर्यटकका लागि प्याकेज समेत व्यवस्था गरिएको छ,’ उनले भने ।

होटल तथा हवाई सेवा सूचारु हुनु पर्यटन क्षेत्र सर्भाइभका लागि सकारात्मक भएको उल्लेख गर्दै शाहले हाल होटल सञ्चालनका लागि सीमित कर्मचारीलाई बोलाइएको छ । उनका अनुसार सीमित कर्मचारीबाट आलोपालो प्रणालीमा खटाइनेछ । एयरपोर्ट होटलमा ६० वटा कोठा छन् ।

कोभिडका कारण प्रभावित क्षेत्रलाई ५० अर्ब रुपैयाँको कोष स्थापना भए पनि सरकारले त्यसका लागि छिटोभन्दा छिटो कार्यविधि बनाइ राष्ट्र बैंकलाई उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।

‘कोभिडका कारण प्रभावित पर्यटन क्षेत्रलाई दिने भनिएको ५० अर्ब रुपैयाँको कोषबाट सहुलियत ब्याजदरमा ऋण छिटो पाएको अवस्थामा सहज हुन्छ,’ उनले भने । सरकारले पर्यटन क्षेत्रलाई अतिप्रभावित सूचीमा राखेको छ ।


क्लिकमान्डु