लकडाउनपछिको पर्यटन प्रवर्द्धन गर्न सेफले प्रदर्शन गरे नेपाली मौलिक खाना



काठमाडौं । लकडाउन खुलेसँगै पर्यटन क्षेत्रका भावी योजना के हुने अनिश्चयका बीच सेफहरूले आज नेपाली मौलक खाना प्रदर्शन गरेका छन् । लकडाउनका कारण होटल तथा रेस्टुराँ व्यवसाय बन्द रहेपछि लामो समय घरमै थन्किएका सेफहरूले मौलिक खानाका नयाँ स्वाद पस्कँदै आन्तरिक तथा बाह्य पर्यटन  प्रर्वद्धन  गर्ने लक्ष्य लिएका हुन् ।

ललितपुरको सातदोबाटोस्थित आईएचएम कलेजमा भएको नेपाली मौलिक खानाको प्रवद्र्धन कार्यक्रममा करिब ३० जना सेफहरूले देशका ७ प्रदेशलाई प्रतिनिधित्व गर्ने विभिन्न जातजातिका १३ थरी रैथाने खानालाई तयारी गरी आकर्षक प्लेटिङ गरेका थिए ।

सेफहरूले प्रदेश एकबाट राजवंशी समूदायको भक्का, शेर्पा समूदायको फाल्गी, प्रदेश २ बाट मधेशी समूदायको रैथाने खाना कटिया, राई समूदायको किनामा, प्रदेश ३ बाट नेवार समूदायको चटामरी, आलु, तामा र बोडीका परिकार प्रदर्शन गरेका थिए ।

त्यसैगरी प्रदेश ४ बाट आलंखु र काटुङ, प्रदेश ५ बाट ढकनी र कागुनोको खिर तथा ६ नम्बर प्रदेशबाट मार्सी चामलको भात र कोडोको ढिँडो, प्रदेश नम्बर ७ को प्रतिनिधित्व रहने गरी रोटा र चटनीलाई प्लेटिङ गरेका थिए ।

लकडाउनका कारण ग्रामीण पर्यटनमा परेको प्रत्यक्ष असर र त्यसमा पनि होमस्टे व्यवसाय अझै केही समय बन्दै रहने अवस्थाका बीच सेफहरूले मौलिक खानाको स्वादबाट उपभोक्तालाई आकर्षित गर्ने र यसले मौलिक खानाको पनि प्रवद्र्धन हुने विश्वास लिइएको छ ।

आईएचएम कलेजसँगको सहकार्यमा ग्लोवल नेप्लिज सेफ फेडेरेसनको आयोजना र हस्पिटालिटी गाइड्सले व्यवस्थापन गरेको यस कार्यक्रममा नेपाल सरकार , तारागाउँ विकास समितिका होमस्टे प्रशिक्षक रामप्रसाद उपाध्यायले सहभागी सेफ प्रशिक्षकलाई बदलिँदो अवस्थामा होमस्टेको व्यवस्थापन र सेफह?ले व्यवसाय प्रवर्द्धनमा खेल्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा बोल्दै प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सीटीइभीटीका पाठ्यक्रम विकास महाशाखाका निर्देशक मिस्टरकान्त मैनालीले नेपाली सेफ प्रशिक्षक र प्रशिक्षार्थी केन्द्रित रहदै नेपाली मौलिक खानाका विषयमा छुट्टै पाठ्यक्रम निर्माण गरिरहेको जानकारी दिए ।

विज्ञसँग अहिले राय सल्लाह लिने, अध्ययन, छलफल गर्ने र आवश्यक सहजिकरणको कार्यलाई सीटीइभीटीले प्राथामिकताका साथ अघि बढाइरहेको उनले बताए ।
त्यस्तै होमस्टे एसोसिएसन अफ नेपालका अध्यक्ष केशव बडालले मौलिक खानाको प्रवद्र्धनले मात्रै होमस्टे व्यवसायलाई अहिलेको अवस्थामा उठाउन मद्दत पुग्ने बताए ।

आईएचएम कलेजका फाउण्डर सुराच प्रसाईले नेपाली मौलिक खानाको प्रवद्र्धन राष्टियतासँग पनि जोडिएकाले यसतर्फ राज्यको ध्यान जान सके ग्रामीण पर्यटनको विकास र बिस्तार तथा अन्तर्राष्ट्रियस्तरमै नेपाली खाना सस्कृति र पहिचानलाई स्थापित गर्न सकिने बताए ।

ग्लोवल नेप्लिज सेफ फेडेरेसनका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले कोभिडले सबै पक्षको हातेपालो र सहकार्यले मात्रै धर्मराएको ग्रामीण पर्यटन माथि उठ्ने तर्क गरे ।


क्लिकमान्डु