साउन १५ गतेदेखि होटल खुल्ने, हरेक प्रदेशमा १/१ वटा पर्यटन गाउँ निर्माण गरिने
काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईले कोरोनाका कारण प्रभावित पर्यटन क्षेत्र उकास्नका लागि सम्भावित जोखिमलाई ध्यानमा राख्दै अब मास टुरिमजको विकल्प खोज्नुपर्ने बताएका छन् ।
मंगलबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले अब गुणस्तरीय पर्यटक ल्याएर मास टुरिजमको भरपाइ गर्नुपर्ने बताए । उनले पर्यटन क्षेत्र सूचारु गर्ने योजना अनुसार साउन १५ गतेदेखि होटल, ट्रेकिङ, पर्वतारोहणलगायतका व्यवसाय सूचारु गर्ने निर्णय भएको बताए ।
‘कोरोनाको जोखिम भएकाले तत्कालै मास टुरिजममा जान सक्ने अवस्था छैन, त्यसैले गुणस्तरीय पर्यटकमा बढी ध्यान दिनु आवश्यक छ,’ उनले भने ।
उनले यसका लागि सरकारले तोकेको प्रोटोकललाई पालना गर्दै पर्यटन व्यवसाय सूचारु गर्नुपर्ने बताए ।
‘यतिबेला कोरोनाको जोखिम घट्दो देखिए पनि जोखिम हटिसकेको छैन, त्यसैले भोलिका दिनमा पर्यटन क्षेत्रले प्रोटोकल पालना नगर्दा कोरोना फैलियो भन्ने अवस्था आउन दिनुहुँदैन, होइन भने फेरि पर्यटन क्षेत्र बन्द गर्नुपर्ने अवस्था आउँछ,’ उनले भने ।
त्यसैगरीसरकारले संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा पर्यटन गाउँको विकास गर्ने उनले जानकारी दिए ।
पर्यटन सचिव केदार अधिकारीका अनुसार शुरुमा प्रत्येक प्रदेशमा एक÷एक वटा गाउँलाई पर्यटन गाउँका रुपमा विकास गरिनेछ यसका लागि प्रदेश स्तरमा १५ करोड र स्थानीय स्तरमा ५ करोड रुपैयाँको साझेदारीमा पर्यटन गाउँ विकास गरिनेछ ।
सोमबार मन्त्रिपरिषदको बैठकले भदौ १ गतेदेखि आन्तरिक र बाह्य उडान सूचारु गर्ने गरेको निर्णयसँगै साउन १५ गतेदेखि पर्यटनसँग सम्बन्धित अन्य व्यवसाय पनि सूचारु गरिएको बताए ।