बाँदर व्यापारको कथा र सेयर बजारमा सर्किट ब्रेक: गजेन्द्र विष्टको टिप्पणी
एउटा गाउँमा दुई ठूला धनाढ्य चतुरप्रसाद (चप्रे) र ध्रुतबहादुर (ध्रुबे)बीच तीब्र प्रतिस्पर्धा रहेछ । चप्रेले ध्रुबेलाई कसरी सिध्याउने र गाउँमा एकछत्र राज गर्ने भनेर सोच्दै जाँदा बाँदरको व्यापार गर्ने सोच बनाएछ ।
सर्वप्रथम उसले बाँदर सञ्चय गोदामघर निर्माण गरेछ र गाउँलेलाई बाँदर पक्डिएर ल्याउन भनेछ । उसले प्रतिगोटा बाँदरको मूल्य १० रुपैयाँ राखेछ । पछि क्रमशः मूल्य बढाउँदै लगेर २०, ३०, ५०, १०० गर्दै खरिद गरेछ ।
जंगलमा बाँदर सकिँदै गएपछि उसले तिनलाई महंगोमा विदेश निर्यात गर्न लागेको हल्ला पिटाएछ । चप्रेले नयाँ विचार ल्याएर धनी हुन लागेको देखेर ध्रुबेले पनि चप्रेलाई सिध्याउन रातारात बाँदर सञ्चयघर बनाएर अलि बढी मूल्यमा बाँदर आफूकहाँ ल्याउन गाउँलेलाई प्रोत्साहित गरेछ ।
चप्रेले अर्को ढोका खोलेर तिनै बाँदर धमाधम गाउँलेलाई बिक्री गरेछ र गाउँलेले ध्रुबेलाई बिक्री गरिदिएछन् । बाँदरको विदेशी बजार बुझ्दा त केही पनि रहेनछ र हल्लाको पछि लाग्दा ध्रुबे विलखवन्धनमा परेछ ।
त्यसपछि गाउँमा चप्रेको राज चलेछ । नेपालको सेयर बजारसँग यो कथा मिल्दोजुल्दो छ । हल्ला फैलाएर सेयर बजारमा पनि धेरै काम हुने गरेका छन् । त्यसको जल्दोबल्दो उदाहरण हो, नेसनल हाइड्रो पावर कम्पनी ।
हल्लै-हल्ला मात्र
प्रमाणपत्रको चिर्कटोका आधारमा कुनैबेला यस कम्पनीको सेयरमूल्य रु ६ सय माथि पुर्याइएको थियो । एकाध हल्लाबाहेक तात्विक कारण त केही छैन । पछि प्रतिकित्ता ३०.३२ रुपैयाँदेखि अहिले ५५.६० को हाराहारीमा र दैनिक सक्रियरुपमा कारोबार हुने कम्पनीमा नै पर्छ यो ।
स्थापनाकालदेखि हालसम्म यस कम्पनीले सेयरधनीलाई प्रतिफल पनि दिएको जानकारी छैन । कसैलाई थाहा छैन किन हो ? अन्य कम्पनीले लाभांश दिने जानकारीसँगै यस कम्पनीको सेयरमूल्य पनि तलमाथि हुने गर्छ ।
नेसनल हाइड्रोमात्र होइन, कहिलेकाँही समग्र बजारले पनि यस्तै नृत्य प्रदर्शन गरेको देखिन्छ । कोभिडको महामारीका कारण झण्डै तीन महिना लकडाउन र आर्थिक गतिविधिहरु ठप्प भएको अवस्थाका बीच खुलेको सेयर बजारमा पहिला बजार बढेर सर्किट लगाउनुपर्ने र पछि घटेर सर्किट लगाउनुपर्ने अवस्था उत्पन्न भएको थियो ।
पछाडि फर्केर हेर्ने हो भने सेयरको दोस्रो बजार खुलेको पहिलो दशकमा केही सीमित संख्यामा मात्र सेयरको कारोबार हुने र केही सीमित खेलाडीले सेयरको आपूर्ति नियन्त्रण गरी मूल्य बढाउने र घटाउने गर्थे । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुको चुक्ता पुँजी धेरै बढिसकेपछि सीमित लगानीकर्ता अथवा ब्रोकरहरुले मूल्यमा अनावश्यक उतार चढाव गर्न सक्ने स्थिति लगभग अन्त्य भैसकेको छ ।
बैंक वित्तीय संस्थालगायत सेयरमा लगानी गर्ने संगठित संस्थाहरु पनि अहिले सक्रियरुपमा काम गरिरहेका छन् । कहिलेकाहीँ केही बहाना बनाएर ठूला लगानीकर्ताहरुले बजारलाई तलमाथि गर्ने गर्छन् ।
तर बजार केही बढ्नासाथ आपूर्ति बढिहाल्ने र घट्दा खरिदको चाप देखिहाल्ने स्थितिले तिनीहरुलाई हलचल गर्न दिएको छैन । मौद्रिक नीति जारी भएपछि खुलेको बजारले साताको पहिलो दिन यस्तै नृत्य प्रदर्शन गरेको छ ।
बजारमा मूल्य बढेपछि तीनपटक सर्किट लगाई नियन्त्रण गर्न संभव नभएपछि दिनभरका लागि बन्द गर्नुपरेको थियो । फेरि तुरुन्तै घट्नेमा सर्किट लाग्यो भने पनि आश्चर्य हुने छैन ।
सकारात्मक पक्ष
विश्वव्यापी महामारी कोभिडको विस्तार र त्रासपछि आर्थिक गतिविधिहरु पहिलाको अवस्थामै सुचारु हुने स्थिति बन्न सकिरहेको छैन । यस्तो अवस्थामा मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाहरु र व्यवसायीहरुलाई बचाउका लागि राहत त अवश्य मिलेको छ ।
प्रतिफलमा बोनस सेयर बढी आउने विधिको घोषणा गरिएको छ । सेयरको कर्जा धितो अनुपात ६५ बाट ७० प्रतिशत पुर्याइएको छ । बजारमा अहिले तरलता बढेको छ भने नयाँ मौद्रिक नीतिले यस्तो तरलतालाई अझ बढाइदिएको छ । बैंक तथा वित्तीय संस्थाको असारमा असूल हुन नसकेको कर्जा र ब्याजलाई असोजसम्ममा असूल गर्दा पनि असारको वासलातमा राख्न सकिने एवं कोभिड प्रभावित क्षेत्रको कर्जालाई पुनर्संरचना वा पुनर्तालिकीकरण गर्न सकिने व्यवहारिक तथा लचिलो व्यवस्था गरिएको छ । यस क्षेत्रमा ठूलो समस्या भएर नै राष्ट्र बैंकले सम्बोधनका उपाय घोषणा गरेको हो ।
लगानीका नयाँ क्षेत्र नभएको र कर्जाको माग नभएकाले केही बैंकहरुले सेयर धितो कर्जालाई सस्तो ब्याजदरमा उपलब्ध गराउन थालेका छन् । साउनमा लगानी गरी झण्डै ६ महिनाभित्रै प्रतिफल पाउने संभावना रहेको छ । लगानीकर्ताहरुका लागि यी सकारात्मक सन्देशहरु हुन् ।
फेरि अर्को हल्ला
खरतनाक कुरा के छ भने बैंकहरुले ३०/४० प्रतिशत सम्म बोनस सेयर दिनसक्ने हल्ला चलाएर साताको पहिलो दिन बजारलाई तीनवटा सर्किट ब्रेक र दिनभर कारोबार बन्दको स्थितिसम्म पुर्याइयो, जुन तर्कसंगत थिएन ।
कतिपय लगानीकर्ताले फलानो कम्पनीमा लगानी गर, न्यूनतम यतिसम्म मूल्यको ग्यारेन्टी मेरो भयो भन्ने आँट पनि लगानीकर्ताहरुलाई दिएका छन् । यसले साना लगानीकर्ताहरुलाई ठूलो जोखिमतर्फ धेकेल्ने अवस्था पैदा गरिदिएको छ । विशेषगरी धितोपत्र बोर्डले यसमा सुक्ष्म निगरानी गर्नु जरुरी छ ।
बैंकहरुको घट्दो आम्दानी
तीब्ररुपमा कारोबार विस्तार गरिरहेका बैंक तथा वित्तीय संस्थाहरुलाई कोभिडको असरपछि निकै अप्ठ्यारो स्थितिको सामना गर्नुपर्ने हुन्छ । पछि अझ कति जोखिमपूर्ण अवस्था आउने हो भन्न कठिन छ । विशेषगरी सञ्चालन खर्च अधिक भएका यस्ता संस्थाहरुलाई आगामी दिन निकै कठिन हुनेछन् ।
तत्काल नियन्त्रण गर्न नसकिने बढ्दो सञ्चालन खर्च संकटपूर्ण प्रतिकूल अवस्थामा अझ महंगो पर्छ । प्रतिस्पर्धाका बीच ब्याजदर तथा अन्य सेवाशुल्क न्यून हुँदै गएका, नियामक निकायको निर्देशन बमोजिम ब्याजदरको स्प्रेड नियन्त्रण, कोभिड प्रभावितलाई दिइएको ब्याज तथा अन्य सेवाशुल्कमा छुट, साँघुरिएको कारोबार आदिले आम्दानी नराम्ररी प्रभावित भएको छ । त्यसमाथि निर्देशित कर्जाको सीमा ४० प्रतिशतको हाराहारी पुगेको छ ।
असारसम्मको बैंक तथा वित्तीय संस्थाको आम्दानीमा यसले ठूलो असर पुर्याइएको छ । पुँजी बढ्दै गएको र त्यस अनुसार कारोबारको आकार बढ्न नसकेको अवस्थामा आगामी दिनमा विगतको जस्तो उल्लेख्य मात्रामा मुनाफा वितरण गर्न सक्ने अवस्था छैन ।
हुन त नेपालमा भित्री सूचनाका आधारमा सेयरको कारोबार प्रभावित हुने गरेका छन् । तर विगतमा एकांकी सूचना तथा जानकारीहरुले धेरैलाई नसोचेको परिणाम दिएका थुप्रै उदाहरण छन् । गत असारसम्ममा स्प्रेड ४.४ प्रतिशत कायम गर्नुपर्ने, चैतसम्मको कर्जा असूलीमा १० प्रतिशत ब्याज छुट, असारसम्मको कर्जामा २ प्रतिशत ब्याजदर छुट र नयाँ व्यापार विस्तार नभएका कारणले शुल्क, कमिसन, विदेशी मुद्रा व्यवस्थापनबाट हुने अन्य आम्दानी समेत घटेको छ । कतिपय उद्योग व्यवसायबाट ब्याज असूली भएको छैन ।
अहिले धेरैजसो बैंकहरुले डिबेञ्चर जारी गरेकाले २० देखि ३० प्रतिशतसम्म पनि यसका लागि जगेडाकोषमा राख्नुपर्ने, नाफाको २० प्रतिशत सञ्चितकोषमा राख्नुपर्ने, एक्विजिसनका क्रममा प्राप्त स्वाप अनुपात पनि एनएफआरएस प्रणाली अन्तर्गत सञ्चितकोषमा र सम्झौता लाभवापतको करसमेत गरी झण्डै ५० प्रतिशत जति छुट्याउनुपर्ने भएकाले वितरणयोग्य नाफा धेरै खुम्चिने निश्चित छ । जगेडा कोषमा रिटेन अर्निङमा रकम भएका केही बैंकलाई छोडेर अधिकांश बैंकहरुले हल्ला फैलाएजसरी २५/३० प्रतिशत प्रतिफल दिन सक्ने अवस्था देखिँदैन ।
यस्तो पृष्ठभूमिमा अनुमान र अपेक्षाभन्दा धेरै कम मात्र बोनस सेयर आउने प्रष्टै छ । अर्कोकुरा, पहिला सेयरको मूल्य बढ्दोक्रममा बोनस सेयर आएपनि त्यही मूल्य समायोजन हुन्थ्यो र लगानीकर्ताहरुलाई ठूलो नाफा हुने गरेको थियो । अहिले त्यही स्थिति नभएपनि नगद लाभांशभन्दा बोनस सेयरको प्रतिफल बढी हुने आकर्षण त छ । तथापि सेयरको आपूर्ति बढेपछि मूल्य घट्ने यसको मौलिक विशेषता नै हो ।
अर्थतन्त्रको बचाउ
आर्थिक गतिविधिहरु विगत केही बर्ष यता खुम्चिदै गएकाले बैंक तथा वित्तीय संस्थाहरुको कारोबार विस्तार र आम्दानीमा त्यसको सीधा असर देखिन्छ । वैदेशिक तथा स्वदेशी लगानी, वैदेशिक सहयोग, कोभिडको रेमिटान्स आप्रवाह, निर्यातलगायत हरेक क्षेत्रमा असर परेको छ ।
आगामी दिन अझ चुनौतीपूर्ण छन् । त्यसैले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरु र ऋणीहरुको तत्काल बचाउ सर्भाभलका कदम चालेको हो ।
मौद्रिक नीतिले बैंकिङ प्रणालीमा आउने जोखिमसम्मको पुँजी बजारको समस्याप्रति मात्र चासो हुने गर्छ र पुँजी बजारको लागि पनि त्यति हदसम्मको मात्रै नीतिगत सम्बोधन भएको प्रष्टै छ । त्यसैले ठूला लगानीकर्ता जोखिम लिने र तत्कालको लाभ लिइहाल्ने मूडमा देखिएपनि साना लगानीकर्ताहरुले बढ्ता हौसिनु हितकर नहुने र केही समय होसियारीपूर्वक लगानीका निर्णय गर्नु बुद्धिमानी ठहर्छ ।
(लेखक विष्ट नेपाल आर्थिक पत्रकार समाज (सेजन)का पूर्वअध्यक्ष हुन् ।)