एनबी बैंकमा बंगाली र नेपाली सेयरधनीबीच लफडाः सामूहिक राजीनामा दिँदै सञ्चालक, राष्ट्र बैंकले के गर्ला ?
काठमाडौं । नेपाल बंगलादेश बैंकमा लगानीकर्ताहरुबीचको आन्तरिक विवाद चर्किंदै गएको छ । बंगलादेशी बैंक आइएफआइसी र नेपाली लगानीकर्ताको संयुक्त लगानीमा सञ्चालित बैंकको सञ्चालक समितिमा स्वतन्त्र सञ्चालक नियुक्त गर्ने बिषयमा शुरु भएको विवाद लामो समय भइसकेको छ ।
बैंकको प्रतिस्पर्धी व्यवसायीक सफलताका लागि नेपाली लगानीकर्ताहरुले नेपाली प्रतिनिधिको नै माग राखेका थिए भने आइएफआइसीले आफ्नै प्रतिनिधिलाई अध्यक्ष बनाइसकेको छ । नवनियुक्त अध्यक्षको नियुक्तिको विषयलाई लिएरसमेत विवाद चुलिएको छ ।
बंगलादेशी सञ्चालक र नेपाली सञ्चालक तथा लगानीकर्ताबीचको विवादले अहिले विकराल स्थिति सिर्जना गरेको छ ।
गत सातामात्र बैंकको सञ्चालकमा आइसीएफसीमा समेत सञ्चालक रहेका रहेका नाजमुस सकिब अध्यक्ष नियुक्त भएका छन् ।
बैंकको सञ्चालक समितिमा संस्थापकतर्फबाट मोहमद साह अलाम सरवर र कमरून नहर अहमद छिन् भने साधारण समूहबाट इन्द्रबहादुर थापा, मुकुन्द नाथ ढुङ्गेल र दीपक कार्कीलगायत ६ जना सञ्चालक छन् ।
बैंकको पछिल्लो वार्षिक साधारणसभाले १ जना महिलासहित ७ जनाको सञ्चालक समितिले प्रस्ताव पारित गरेको थियो । जसमध्ये संस्थापक समूहबाट ३ जना, सर्वसाधारण समूहबाट ३ जना, र स्वतन्त्र सञ्चालक १ जना राख्ने निर्णय भएको हो ।
कम्पनी ऐन २०६३ (पहिलो संशोधन) अनुरुप समूह उल्लेख नगरीकन एकजना महिला सञ्चालक कुनैपनि कम्पनीले नियुक्त गर्नुपर्ने हुन्छ । सोहीअनुरुप बैंकमा संस्थापकतर्फबाट कमरून नहर अहमद सञ्चालक भएकी हुन् ।
तर हालसम्म स्वतन्त्र सञ्चालक भने नियुक्त हुन सकेको छैन ।
बैंकको संस्थापक कुल ५१.६१ प्रतिशत सेयरमा ४०.९१ आएसीएफसीको र १०.७१ प्रतिशत नेपाली संस्थापक सेयरधनी र सर्वसाधारणको ४८.३८ प्रतिशत सेयर छ ।
कम्पनी ऐन २०६३ तथा नेपाल राष्ट्र बैंक ऐन र बाफियाअनुसार सेयर स्वामित्वको आधारमा कुनैपनि बैंक तथा वित्तीय संस्थाले १७ प्रतिशत सेयर स्वामित्व बराबर १ जना सञ्चालक राख्न पाउँछ ।
ऐनअनुसार आएसीएफसीको तर्फबाट २ जना सञ्चालक नियुक्त गर्न पाउने अधिकार स्वतः छ । तर बाँकी रहेको ६.३० प्रतिशत र नेपाली संस्थापक सेयरको १०.७१ लाई एकमुष्ट मानेर आएसीएफसीले नै एकलौटीरुपमा सञ्चालक राखेको भन्दै बैंककै नेपाली संस्थापक लगानीकर्ताले राष्ट्र बैंकमा उजुरी दिएका हुन् ।
विदेशी संयुक्त लगानीका बैंकहरुले प्रायः आफ्नो प्राविधिक सहयोगी सम्बन्धीत बैंकमा नियुक्त गरेका हुन्छन् । नेपाल एसबीआई, हिमालनय, एनबी र एभरेष्ट बैंक ‘जोइन्ट भेञ्चर’ बैंक नै हुन् । यी बैंकहरुमा संस्थापकहरुले आफ्नै खर्चमा प्राविधिक सहयोगी नियुक्त गरेका छन् ।
तर एनबी बैंकमा भने यस्ता प्रकारका प्राविधिक सहयोगी आइएफआइसीले ३ वर्षयता राखेको छैन ।
संस्थापक समूहतर्फ पनि आइसीएफसीको नै ४०.९१ प्रतिशत हिस्साबाट बार्षिक १ लाख ५० हजार अमेरिकी डलर लाभांश बुझ्दासमेत प्राविधिक सहयोगी राखेको छैन ।
जोइन्ट भेञ्चर बैंकको उद्देश्य भनेको नै विदेशी प्रविधि, सीप र पुँजी भित्र्याउनु हो । तर एनबी बैंकमार्फत् नेपालमा आइएफआइसीले पुँजी भित्रिए पनि आफ्नोतर्फबाट प्राविधिक सहयोगी नराखेर विदेशी सीप र प्रविधि नभित्रिएको बैंकका एक सञ्चालकले बताए ।
‘प्राविधिक सहयोगी भनेको प्रविधि र सीपको लागि हो,’ ती सञ्चालकले भने, ‘आइएफआइसीले सीप र प्रविधि केही दिएको छैन ।’
नेपालका अन्य जोइन्ट भेञ्चर बैंकमा सम्बन्धीत देशका राम्रो दक्ष सीप र प्रविधिको प्रयोग गरेर नै उत्कृष्ट व्यवसायीक सफलता हासिल भएको उनको भनाइ छ ।
मानोमानी भएको पुष्टी भएमा सञ्चालक हेरफेर हुने
संस्थापक सेयरधनीकातर्फबाट सञ्चालक समितिमा ३ जनाको प्रतिनिधित्व हुने गरेको छ । र, सोहीअनुसार एनबी बैंकमा संस्थापकको तर्फबाट आइएफआइसीकै प्रतिनिधिहरु सञ्चालक हुने प्रवृति हावी भएको छ ।
ऐनले पाएको अधिकारभन्दा बाहेक बैंक तथा वित्तीय संस्थामा सञ्चालक नियुक्त गर्दा आपसी समझदारी वा चुनावी प्रक्रियामा जानुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
एनबी बैंकमा सञ्चालक बीचको मदभेदको जानकारी बेलाबेलामा राष्ट्रमा आइरहेको भएपनि अहिले भने लिखित उजुरी नै आएको हुँदा यसमा नियमसंगत छानबिन हुने सुपरिवेक्षणमा एक अधिकारीले बताए ।
‘कम्पनी ऐन तथा नेपाल राष्ट्र बैंकले तोकेको भन्दा विपरीत गएर सञ्चालक नियुक्त गरिएको पुष्टी भएमा पद खारेजीसम्मको व्यवस्था हुन्छ,’ ती अधिकारीले क्लिकमाण्डूसँग भने, ‘एकलैटी निर्णय गर्ने अधिकार कसैलाई छैन, निर्वाचान, आपसी समझदारी नै नगरी र साधारणसभाबाट पारित नगराई सञ्चालक नियुक्त भएको पाइएमा उक्त सञ्चालकको पद स्वतः खारेज हुन्छ ।’
हाल बैंकमा नियुक्त भइसकेका सञ्चालकले राष्ट्र बैंकले तोकेको मापदण्ड पुरा नगरेको वा तोकिएको शैक्षिक योग्यता नभएको भेटिए तुरुन्तै उसको ठाँउमा अर्को सञ्चालक नियुक्त गर्न निर्देशन जारी हुने उनले बताए ।
‘उजुरी दिनलाई एनबी बैंकबाटै १५ दिनअघि एकजना आउनु भएको थियो,’ राष्ट्र बैंक शुपरिवेक्षणका अधिकारीले भने, ‘उजुरीको आधारमा छानबिन भएरहेको छ ।’
एकतर्फि सञ्चालक बैंकमा हावी हुँदा बैंकको वित्तीय स्वास्थ्य बिग्रिने उनको भनाइ छ ।
स्वतन्त्र संचालक नियुक्तिमा आइएफआइसीको दादागिरी
बैंकले विगत २ वर्षयता स्वतन्त्र संचालक समेत नियुक्त गरेको छैन ।
संस्थापक समुहकातर्फबाट सञ्चालक नियुक्तिमा एकाग्रता जमाएको आइएफआइसीले स्वतन्त्र संचालकसमेत आफ्नै तर्फबाट नियुक्तिमा कयौँ कसरत गरिसकेको छ ।
बैंकको स्वतन्त्र सञ्चालकले स्नातकोत्तर गरी राष्ट्र बैंकले तोके बमोजिम अनुभव प्राप्त गरेको हुनुपर्छ ।
बैंकका नेपाली सञ्चालकहरुले स्वतन्त्र सञ्चालक नियुक्तिको माग गरेको करिब २ वर्ष बितिसक्यो । कयौँ बोर्ड बैठकमा नेपाली सञ्चालकहरुले आइएफआइसीका प्रतिनिधिहरुलाई मौखिक तथा लिखितरुपमा नै स्वतन्त्र सञ्चालक नियुक्तिको माग गरको बैंकका एक सञ्चालकले बताए ।
‘पछिल्लो बैठकमा लिखितरुपमा नै स्वतन्त्र सञ्चालक नियुक्त नगरे सबैले राजिनामा दिन्छौं भनेका छौँ,’ ती सञ्चालकले क्लिकमाण्डूसँग भने, ‘उनीहरु स्वतन्त्र सञ्चालक राख्नै चाहँदैनन् ।’
नेपाली लगानीकर्ताहरु स्वतन्त्र सञ्चालक लोकल मार्केट बुझेको बैंक व्यवस्थापन र सञ्चालनमा सहयोग गर्ने नेपाली नै हुनपर्छ भन्छन् भने उनीहरुले कानुन विपरीत आफ्नै मान्छे ल्याउन खोज्ने उनको भनाइ छ ।
यसअघि नै साधारणतर्फबाट सञ्चालक भइसकेका व्यक्तिलाई आइएफआइसीले स्वतन्त्र सञ्चालक नियुक्त गर्न खोजेको बैंकका एक लगानीकर्ताले जानकारी दिए ।
‘साधारणबाट प्रतिनिधि गरिसकेको व्यक्ति स्वतन्त्र सञ्चालक हुन नै पाउँदैन,’ ती लगानीकर्ताले भने, ‘अर्कोतर्फ ती व्यक्तिको राष्ट्र बैंकले तोकेबमोजिम कुलिङ पिरियड नै सकिएको छैन ।’
ती व्यक्ति आइएफआइसीको शुभचिन्तक भएकै कारणले अनेकौँ प्रयास गरेर स्वतन्त्र सञ्चालकमा नियुक्त गर्न खोजिएको उनले बताए ।
स्वतन्त्र सञ्चालक नियुक्तिको हकमा राष्ट्र बैंकले जारी गरेको ‘एकिकृति निर्देशीका २०७६’ मा भनिएको छ- ‘बैंक वा वित्तीय संस्थाको संस्थापक, सञ्चालक वा शून्य दशमलव एक प्रतिशतभन्दा बढी सेयर लिएको सेयरधनी तथा निजको परिवार सोही संस्थाको स्वतन्त्र सञ्चालक हुन पाउने छैन । स्वतन्त्र सञ्चालकले धारण गरेको सेयर स्वामित्व गणना गर्दा परिवारका सबै सदस्यहरुले धारण गरेको कुल सेयर संख्यालाई आधार मान्नु पर्नेछ ।’
साथै स्वतन्त्र सञ्चालक नियुक्ति गर्दा सम्बन्धीत बैंक तथा वित्तीय संस्थाले सोही संस्थामा सार्वजनिक पद धारण गरेको व्यक्तिलाई नियुक्त गर्न नमिल्ने व्यवस्था कम्पनी ऐनमा छ ।
आइएफआइसीले एनबी बैंकको स्वतन्त्र सञ्चालकमा ल्याउन खोजेका व्यक्ति हुन आर्थिक वर्ष २०७३/७४ सम्म साधारण समुहको तर्फबाट सञ्चालक रहेका अरुण श्रेष्ठ । उनी बैंकको सञ्चालकबाट बाहिरीएको ३ वर्ष पुगेको छैन भने २०७३/७४को वार्षिक प्रतिवेदनअनुसार श्रेष्ठको एनबी बैंकमा ७ सय ५५ कित्ता सेयर छ ।
बैंक नेपाली लगानीकर्ता तथा सञ्चालकहरु संयुक्तरुपमा अमित श्रेष्ठलाई स्वतन्त्र सञ्चालक बनाउन मिल्दैन भनेर यस अघिका बैंकका अध्यक्ष जलाल अहमत सामु लिखित नै दिएका थिए ।
श्रेष्ठलाई आइएफआइसीका प्रतिनिधि एनबी बैंकको स्वतन्त्र सञ्चालकमा श्रेष्ठलाई नियुक्त गर्न राष्ट्र बैंकमा समेत लिखित निवेदन लिएर गएको थियो ।
तर राष्ट्र बैंकले यसलाई कानुन विपरित ठहर गरी अस्वीकार गरेको हो । बैंकका आइएफआइसी प्रतिनिधिले सो बेलाका उद्योगमन्त्री र तथा उद्योग सचिवलाई समेत श्रष्ठलाई नै स्वतन्त्र सञ्चालक बनाउन अग्राहसमेत गर्न भ्याएका थिए ।
राष्ट्र बैंकलेसमेत अस्वीकर गरको विषयलाई लिएर बैंकका पुर्वसञ्चालक अमित श्रेष्ठ न्याय माग गर्दै सर्वोच्च अदालतसम्म पुगेका थिए ।
तर सर्वोच्चले समेत यसलाई कानुन विपरीत नै भनेपछि उनी थन्किएका छन् । अहिले पुनः स्वतन्त्र सञ्चालकमा नियुक्तिको नाममा बंगलादेशी र नेपाली लगानीकर्ताहरुबीच आपसी विवादले बढेको हो ।
बैंक आफ्नो २६औँ बार्षिक साधारणसभाको तयारीमा समेत छ । सो अघिनै सञ्चालकको नाम बोर्डले सिफरीस गरेर राष्ट्र बैंकमा स्वीकृतिको लागि पठाउनु पर्ने हुन्छ ।
राष्ट्र बैंकले समेत एनबी बैंकलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्न ताकेता लगाइरहेको छ । तर बैंकले बजारमा सो पदको लागि उपयुक्त व्यक्ति नपाएको भन्दै आनाकानी गरिरहेको राष्ट्र बैंक शुपरिवेक्षणका एक अधिकारीले बताए ।
‘मापदण्ड पुरा गरेर स्वतन्त्र सञ्चालक नियुक्त गर्न भनिरहेका छौँ,’ ती अधिकारीले भने, ‘तोकिएको मापदण्ड पुरा नभएको व्यक्ति सिफारीसमा ल्याएपनि उपयुक्त व्यक्ति भने हालसम्म बोर्डले सिफारीस गरेर ल्याएको छैन ।’
कम्पनी ऐन र बाफियाको मापदण्ड पुरा गरेका सम्बन्धीत बैंकमा ०.१ प्रतिशतभन्दा बढी सेयर स्वामित्व नभएको राष्ट्र बैंकबाट अवकास प्राप्त कार्यकारी निर्देशक वा पुर्वसचिवहरुलाई बैंकले स्वतन्त्र सञ्चालकमा नियुक्त गर्न सक्ने उनले जानकारी दिए ।
स्वतन्त्र सञ्चालक नियुक्तिलाई आइसीएफसीको लगातार २ वर्षदेखिको आनाकानीले गर्दा बैंकले नोक्सानी खेप्नु परेको बैंकका ठुला लगानीकर्ताहरु बताउँछन् ।
‘यदी बैंक व्यवस्थापन दरिलो नहुने हो भने आइसीएफसीकै कारण बैंक पहिले नै घाटामा जान्थ्यो,’ एक लगानीकर्ताले भने, ‘जोइन्ट भेञ्चर बैंककोरुपमा स्थापित नेपालका अन्य बैंक र हाम्रो बैंकलाई तुलना गर्दा हुन्छ, वित्तीय अवस्था के छ भनेर ।’
आर्थिक वर्ष ०६३/०६४/०६५ सालमा यो बैंकको सञ्चालक समिति तथा व्यवस्थापन समिति राष्ट्र बैंकले टेकओभर गरेर बचाएको थियो । राष्ट्र बैंकले एनबी बैंक सुधारका लागि अहिलेका गभर्नर महाप्रसाद अधिकारीको नेतृत्वमा टोली खटाएको थियो ।
आइएफआइसीलाई बैंक व्यवस्थापन कसरी भइरहेको छ केही मतलब नभएका कारण एनबी बैंक बजारमा आएका नयाँ बैंकहरुसँग पनि प्रतिस्पर्धामा पछि परेको उनले बताए ।
‘सञ्चालकले त सीइओ र अन्य उच्च व्यवस्थापनलाई व्यवसायको टार्गेट दिनुपर्छ, अनि नीतिगत र व्यवसायीक सहजीकरण गर्न सहयोग गर्न सक्नुपर्छ,’ लगानीकर्ता भन्छन्, ‘नाफा कति कमाउने, कति व्यवसाय गर्ने, कुन काम कहिलेसम्म गर्ने कर्मचारीलाई केही प्रेसर उनीहरुको तर्फबाट छैन ।’
लाभांश जति नै आएपनि केही फरक नपर्ने भएर आइएफआइसीले बैंक व्यवस्थापन र कर्मचारी नै केही नभन्दा बैंकका कारोबार र काम ढिलासस्तीले ठाउँ पाएको उनले बताए ।
‘कर्मचारीको क्रयशक्ति दिनप्रतिदिन घट्दो छ, यहाँका कर्मचारी सरकारी कार्यलयमा जस्तो गरेर काम गर्छन्,’ लगानीकर्ताले थपे, ‘बैंकर्स संघको अध्यक्षसमेत भइसकेका सीइओ बैंकमा नहुने भए बैंक उहिल्यै डुबिसक्थ्यो ।’
बैंकमा नेपाली सञ्चालकहरु ३ जना भएपनि उनीहरुको कुरा अध्यक्षलगायत आइसीएफसीका प्रतिनिधिहरुले नमान्ने उनले बताए ।
कर्मचारीले काम नै गर्नु नपरेपछि बैंकको पर्फर्मेन्स पनि राम्रो हुने भएपछि एनबी बैंकको पछिल्लो वित्तीय अबस्था पनि खस्किँदो छ ।
सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुमध्ये बैंक गत आवको ९ महिनामा २७ वटा बैंकमध्ये निक्षेप संकलनमा २५औँ, कर्जा प्रवाहमा २४औँ, नाफामा २३औँ र सेयर प्रतिफलमा २२औँ स्थानमा छ ।
बैंकका सीइओ ज्ञानेन्द्र ढुङगाना र उच्च व्यवस्थापन दरिलो भएरमात्र लगानीकर्ताले लाभांश खान भएको बैंकका एक लगानीकर्ताले भने ।
‘बैंकका अध्यक्ष र सञ्चालक भनेको बजारमा के भइरहेको छ, राष्ट्र बैंकका अप्ठ्यारा नीति र अन्य व्यवसायीक समस्यामा व्यवस्थापनलाई सहयोग गर्ने हुनुपर्छ, अनि बैंकले राम्रो व्यवसाय गर्न सक्छ,’ ती लगानीकर्ताले भने, ‘आइएफआइसी प्रतिनिधि सञ्चालकहरु भनेका केबल व्यवस्थापक समितिले र नेपाली सञ्चालकहरुले प्रस्ताव गरेका विषयमा एस/नो भन्नेमात्र छन्, उनीहरुलाई स्वीकार नभएको विषयमा दोहोर्याएर छफफलसम्म गर्ने वातावरण आजसम्म भएको थाहा छैन, हरेक कुरा उनीहरुको मुडमा भरपर्छ ।’
बैंकको सम्पुर्ण आधिकार आफ्नो स्वमित्वमा लिएपछि बैंकको व्यवसायीक सफलतामा आइएफआइसीका प्रतिनिधिहरुले ध्यान नदिँदा अहिलेकै अवस्थाले केही वर्षपछि बैंक ढुब्नसक्ने उनको भनाइ छ ।
एनबीका अध्यक्ष तथा आइएफआइसीका सञ्चालकलाइ किन छैन बैंकको वास्ता ?
बंगलादेशी सरकार र सर्वसाधारणको संयुक्त लगानीमा बंगलादेशको आइसीएफसीको तर्फबाट प्रतिनिधित्व गर्दै बैंकका नाजमुस सकिब गत साता बैंकको अध्यक्ष नियुक्त भएका हुन् ।
उनी बंगलादेशको अर्थमन्त्रालयको अतिरिक्त सचिव हुनुका साथै आइएफआइसीमा सरकारको तर्फबाट प्रतिनिधि गरी सञ्चालकसमेत रहेका छन् ।
नाजमुस सकिबको पहिलो दायित्व/जिम्मेवार कार्य प्राथमिकतामा मन्त्रालयको काम नै पर्छ भने दोस्रोमा आइएफआइसीको जिम्मेवारी । एनबी बैंकको व्यवसायीक निगरानी शुपरिवेक्षणलाई उनले अतिरिक्त समयमा निगरानी गर्नमात्र सक्ने सम्भावना छ ।
बैंकका सम्पुर्ण लगानीकर्ताको माग नै नेपाली सञ्चालकलाई प्रतिनिधित्व गर्न दिनुपर्छ भन्ने हो ।