मौद्रिक नीतिमा नाडाको असन्तुष्टि, पुर्नविचार गर्न अनुरोध



काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल नाडाले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा असन्तुष्टि व्यक्त गरेको छ । शुक्रबार दिउँसो ३ बजे मौद्रिक नीति सार्वजनिक भएको ३ घण्टाभित्रै विज्ञप्ति जारी गरी असन्तुष्टि व्यक्त गरेको हो ।

तीन महिनाको लकडाउनका कारण व्यवसायी धरासायी भएको भन्दै व्यवसाय उत्थानका लागि मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रबाट प्रस्तुत कुनै पनि सुझाव सम्बोधन नभएको अध्यक्ष कृष्ण दुलालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नाडाले निजी प्रयोजनका सवारीसाधनमा प्रवाह हुने कर्जा सीमा ५० प्रतिशतसम्म मात्र हुने व्यवस्थालाई पुर्नविचार गरी यस कर्जाको सीमा बृद्धिगरी ९० प्रतिशत पुर्याउनु पर्ने सुझावलाई पुर्नविचार गर्न समेत अनुरोध गरेको छ ।

सवारीसाधन अपरिहार्य रहेकाले देशभरी सडक सञ्जाल पुर्याउने र प्रत्येक नागरिकलाई आवागमनमा सहजता ल्याउन आफ्नै सवारीसाधन होस् भन्ने नीति आउनु पर्नेमा त्यसको ठीक विपरीत कर्जा प्रवाहको सीमामार्फत सवारीसाधनमा नै अंकुश लाग्ने नीतिलाई नै निरन्तरता दिनु विरोधाभाषपूर्ण भएको नाडाको भनाइ छ ।

नाडाले निजी प्रयोजनका सवारीसाधनमा प्रवाह हुने कर्जा सीमा ५० प्रतिशतसम्म मात्र हुने व्यवस्थालाई पुर्नविचार गरी यस कर्जाको सीमा बृद्धिगरी ९० प्रतिशत पुर्याउनु पर्ने माग गरेको छ । यसबाट सवारी साधन खरिद गर्न चाहनेका लागि सहजता हुने, यसको प्रतिफलस्वरुप ओरालो लागेको सवारी साधनहरुको पैठारीमा सुधार आउने, सरकारको राजश्व प्राप्तिमा स्वभाविक रुपले बृद्धि हुने र देशको अर्थतन्त्र पनि थप चलायमान हुनेछ भन्ने नाडाको विश्वास छ ।

‘नेपाल राष्ट्र बैँकले अटो लोनलाई जोखिमयुक्त वस्तुको रुपमा वर्गीकरण गरी मूल्यको ५० प्रतिशतसम्म मात्र कर्जा दिने नीतिलाई आजको मोद्रिक नीतिले पनि निरन्तरता दिएको छ । त्यसैगरी हालसम्म पनि कायम रहेको र हायर पर्चेज लोनको सम्बन्धमा कर योग्य आयको कूल मासिक आम्दानीको ५० प्रतिशत मात्र किस्ता तिर्न सकिने व्यवस्थालाई पनि मोद्रिक नीतिले निरन्तरता दिएको देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

आर्थिक वर्ष २०७४÷७५ मा कुल सवारी साधनको आयात ४ लाख ३७ हजार ६१४ वटा रहेकोमा आर्थिक वर्ष २०७५÷७६ मा यो घटेर ३ लाख ७० हजार २३८ वटा पुगेको छ । अर्थात् १५.३९ प्रतिशतले आयात घटेको देखिन्छ । त्यसैगरी आर्थिक वर्ष २०७५÷०७६ को माघ महिनासम्मको आयात र चालु आर्थिक वर्ष अर्थात २०७६÷०७७ को माघ महिनासम्मको आयात तथ्यांकलाई तुलना गर्दा पनि कूल आयातमा १६.८० प्रतिशतले आयात घटेको देखिन्छ र यो अझ घटदो क्रममा रहेको देखिन्छ । प्रत्येक बर्ष सवारी तथा ढुवानीका साधनहरुको आयात सरदर २० प्रतिशतले बढदै जाने क्रम रहेकोमा अहिले झण्डै त्यही अनुपातमा कूल आयात ओरालो लाग्दै गएको नाडाको भनाइ छ ।


क्लिकमान्डु