बैंक तथा वित्तीय संस्थाको सेवा शुल्कमा राष्ट्र बैंकको क्याप
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले लिने सेवा शुल्कमा क्याप लागेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् तोकिएको भन्दा बढी सेवा शुल्क लिन नपाउने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी चालु आव वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थाले ग्राहकसँग लिने सेवा शुल्कहरुलाई थप व्यवस्थित र पारदर्शी बनाउन सो प्रावधान गरिएको बताए ।
जसअनुसार अब वाणिज्य बैंकहरुले अधिकतम ०.७५ प्रतिशतसम्म मात्र सेवा शुल्क लिन पाउने छन् । यस्तै विकास वैंकहरुले १ प्रतिशत, वित्त कम्पनी १.२५ प्रतिशत र १.५० प्रतिशत लघु वित्त वित्तीय संस्थाले कर्जा स्वीकृति गर्दा सेवा शुल्क वापत मात्र लिन पाउने व्यवस्था गरिएको छ । साथै ‘क’, ‘ख’, ‘ग’ वर्गका बैंक तथा वित्त कम्पनीले लघुवित्त संस्थालाई प्रवाह गर्ने थोक कर्जाको रुपमा प्रवाह गर्दा विपन्न वर्ग कर्जामा ०.५ प्रतिशत मात्र सेवा शुल्क लिन पाउनेछन् ।