अनलाइनबाट कक्षा लिने विद्यार्थीको भिसा रद्द गर्ने निर्णय अमेरिकाले फिर्ता लियो



पूर्णरुपमा अनलाइन कक्षामा अध्ययन गर्ने विदेशी विद्यार्थीको भिसा रद्द गर्ने निर्णय अमेरिकाको सरकारले फिर्ता लिएको छ । कोरोनाका कारण विश्वविद्यालयका कक्षा पूर्णरुपमा अनलाइनमार्फत् अध्ययन गरिरहेका विद्यार्थीलाई आफ्नै देश फिर्ता पठाउने निर्णय एकसातापछि फिर्ता लिएको हो ।

सरकारको उक्त निर्णयको विरुद्धमा म्यासाच्युट इन्स्टिच्युट अफ टेक्नोलोजी र हवार्ड विश्वविद्यालयले मुद्दा दर्ता समेत गरेका थिए ।

अमेरिकी सरकारले यसअघि नियमअनुसार तत्काल देश नछाडे कारबाही गरिने समेत उल्लेख गरेको थियो । सरकारको उक्त निर्णयको चौतर्फीरुपमा आलोचना भएको थियो ।

अमेरिका सबैभन्दा बढी विदेशी विद्यार्थी अध्ययन गर्न जाने देश हो । नेपालबाट प्रत्येक वर्ष १० हजारभन्दा बढी विद्यार्थी उच्च शिक्षाका लागि अमेरिकामा जान्छन् । अमेरिकी सरकारले विदेशी विद्यार्थीबाट प्रत्येक वर्ष ४५ अर्ब डलर आम्दानी गर्छ ।


क्लिकमान्डु