कोरिया जान पाउँ भन्दै माइतिघरमा प्रदर्शन, ३ हजारबढीको रोजगारी गुम्ने खतरा



काठमाडौं । रोजगारीका लागि दक्षिण कोरिया जान पाउनु पर्ने भन्दै युवाहरुले प्रदर्शन गरेका छन् । कोरिया जानका लागि सम्पूर्ण प्रकृया पुरा गरी उडानको पर्खाइमा रहेका उनीहरुले बुधबार प्रदर्शन गरेका हुन् ।

कोरोना संक्रमणको जोखिमका कारण सम्पूर्ण उडानहरु बन्द भएपछि सम्पूर्ण प्रकृया पुरा भएपनि कोरिया जान नपाएकाहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् । २ हप्ताभित्र पनि सरकारले कोरिया पठाउने पहल नगरे ३ हजारबढीको रोजगारी गुम्ने खतरा रहेको उनीहरुले बताएका छन् ।

रोजगारी गुमेपछि अहिलेसम्मको समय र मिहेनत खेर जाने, डिप्रेसनको सिकार हुने डर भएकाले तत्काल कोरिया पठाउन माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरिएको सहभागि रामहरी देवकोटाले बताए । सरकारले आफ्ना मागहरु पुरा नगरे पूर्ण रुपमै ४५ सय युवा आन्दोलन गर्न बाध्य हुने उनको भनाइ छ ।

सामाजिक दुरी कायम गरी भएको प्रदर्शनमा सहभागिहरुले ‘कि रोजगारी दे, कि कोरिया जान दे’, ‘कोरियाको लागि अन्तर्राष्ट्रिय उडान सूचारु गर’, गरि खान दे सरकार, ‘उडान खोली जान दे सरकार’, ‘प्रधानमन्त्री ज्यू बाले गरिखाने थलो बेचे, हामीलाई गरिखाने थलो जान देउ’, ,‘काम रोक्न पाइदैन, नालायक सरकार चाँहिदैन’, ‘सरकार सक्छौ भने देशमै देउ रोजगार, सक्दैनौ भने लाखौ बेरोजगार युवाहरुको भविष्य नविगार’ नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।


क्लिकमान्डु