संसदीय उपसमितिको निष्कर्षः नेप्सेको अनलाइन प्रणालीमा समस्या नै समस्या, दियो यस्ता सुझाव !



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अनलाइन प्रणाली अझै पनि पूर्ण हुन नसकेको संसदीय समितिको ठहर रहेको छ । पुँजी बजार तथा मुद्रा बजार सम्बन्धमा अध्ययन गर्न सांसद रामकुमारी झाँक्रीको संयोजकत्वमा गठन भएको उपसमितिले नेप्सेको अनलाइन प्रणाली पर्याप्त नभएको ठहर गरेको छ ।

समितिले दिएको सुझावमा नेप्सेको विद्युतीय कारोवार प्रणालीलाई ग्राहकको बैंक खाता तथा डिम्याटसंग आवद्ध गराई कारोबार पश्चात स्वचालितरुपमा बैंक खातामा रकम तथा डिम्याट खातामा सेयर जम्मा र खर्च हुने व्यवस्था अनिवार्य गरी ग्राहकले भौतिकरुपमा उपस्थित बिना नै कारोबारको भुक्तानी लिने दिने कार्य गर्न सक्ने गरी यथाशीघ्र विद्युतीय कारोबार प्रणालीलाई पूर्णरुपमा स्वचालित गराई अन्तर्राष्ट्रियस्तर अनुरुप बनाउन सुझाव दिएको छ ।

विद्युतीय कारोवार प्रणलीको पद्धतिगत र क्षेत्रगत दायरामा नेपाल धितोपत्र बोर्ड, नेप्से, ब्रोकर्स र लगानीकर्ताहरुको बुझाइमै फरक रहेको पाएको समितिको सुझावमा छ । समितिले आईपीएस, कनेक्ट आईपीएस, खल्ती, इसेवाबाट भुक्तानी गर्ने भन्ने विषयवस्तुहरु स्वचालित कारोबार प्रणालीमा समावेश हुने हुन वा होइनन् ? भन्ने विषयमा स्पष्ट हुन आवश्यक ठानेको छ ।

समितिको सुझावमा अटोमेटेड टे«डिङ मेसिनलाई पूर्णरुपमा कार्यान्वयन गर्न नेप्सेले सिडिएससीसँग सिस्टम इन्ट्रिग्रेसन गरी आफ्नो डाटा सेयर हुनुसक्ने बनाउने र सोर्स कोर्ड लिएर स्वामित्व लिन समेत सुझाव दिएको छ ।

ट्रेडिङ म्यानेजमेन्ट सिस्टम (टिएमएस) लाई ब्रोकरहरुले आफ्नो प्रणालीका रुपमा सञ्चालन गर्ने गरी व्यवस्थित गर्न सुझाव दिएको छ ।

ग्राहकले आफ्नो खातामा भएको बैंकबाट ब्रोकरको बैंक खातामा सिधै फण्ड ट्रान्सफर गर्न सक्ने व्यवस्था गर्न पनि सुझाव दिएको छ । नेप्सेको विद्युतीय कारोवार प्रणालीमा सम्बद्ध पक्षहरुको विश्वसनीयता बढाउन तथा बढीभन्दा बढी लगानीकर्ताहरुलाई आकर्षित गर्ने काम गर्न, नेप्सेले विद्युतीय कारोवार प्रणालीका सम्बन्धमा लगानीकर्ता तथा सम्बद्ध पक्षहरुलाई प्रभावकारीरुपमा प्रशिक्षित गर्नुपर्ने सुझाव दिएको छ ।


क्लिकमान्डु