अमेरिकामा विदेशी विद्यार्थीलाई समस्या, अनलाइन कक्षा मात्रै भए विद्यार्थीको भिसा रद्द हुने



अमेरिकामा रहेका विदेशी विद्यार्थीहरुलाई समस्या हुने भएको छ । त्यहाँको सरकारले अनलाइन कक्षा मात्रै सञ्चालन हुने भएमा उनीहरुको भिसा रद्द गर्ने निर्णय गरेको छ । जसअनुसार धेरै विद्यार्थीहरु अमेरिका छाड्नुपर्ने अवस्था आएको छ । उनीहरुको भिसा आगामी सेप्टेम्बर महिनादेखि भिसा रद्द हुनेछ ।

अमेरिकाको अध्यागमन एवम् भन्सार एजेन्सी (आईसीई)ले यो नियम नमान्नेहरुलाई देश निकाला समेत गर्न सक्ने निर्णय गरेको छ ।

यतिबेला कोरोना भाइरसको महामारीका कारण अमेरिकामा सञ्चालित धेरै विश्वविद्यालयले अनलाइन कक्षामा मात्रै सीमित भउका छन् । तर कति संख्यामा विदेशी विद्यार्थीहरु प्रभावित हुनेछन् भन्ने यकिन छैन ।

प्रत्येक वर्ष लाखौंको संख्यामा अमेरिकामा उच्च शिक्षाका लागि विदेशी विद्यार्थीहरु जान्छन् । जसबाट विश्वविद्यालयले ठूलो धनराशी आम्दानी गर्छन् ।

हवार्ड विश्वविद्यालयले समेत नयाँ शैक्षिक सत्रमा सबै कक्षाहरु अनलाइनमाध्यमबाट अध्यापन गराइने उल्लेख गरेको छ । आईसीईको स्टुडेन्ट एन्ड एक्सचेञ्ज भिजिटर प्रोग्रामले सेप्टेम्बर महिनासम्म सबै कक्षा अनलाइनबाट भए पनि अमेरिकामा बस्न पाउने अनुमति दिएको छ ।

तर सोमबार गरिएको नयाँ निर्णयमा सेप्टेम्बरदेखि अनलाइन कक्षामात्रै लिने विद्यार्थीहरुलाई अध्यामनको नियमन अनुसार देशबाट हटाइने प्रक्रिया सहितको कारबाही गर्ने स्पष्ट पारेको छ ।

यो नियम एफ-१ भनिने अध्ययन भिसा र एम-१ भनिने व्यवसायी तालिमका लागि विद्यार्थी भिसा भएकाहरुको हकमा लागू हुनेछ ।

अमेरिकाको वाणिज्य मन्त्रालयका अनुसार सन् २०१८ मा विदेशी विद्यार्थीबाट ४५ अर्ब डलर अर्थात ५३ खर्ब रुपैयाँ अर्थतन्त्रमा योगदान भएको उल्लेख गरेको छ ।

नेपालबाट पनि प्रत्येक वर्ष १० हजारभन्दा बढी संख्यामा विद्यार्थीहरु अमेरिकामा उच्च शिक्षाका लागि जान्छन् । विदेशी विद्यार्थीहरुको संख्यामा अमेरिकामा नेपालीहरु १२औं स्थानमा छ ।


क्लिकमान्डु