चेम्बरका पदाधिकारी र कलकत्तास्थित नवनियुक्त महावाणिज्यदूत पौडेलबीच भेट



काठमाडौं । कलकत्तास्थित महावाणिज्य दूतावासका महावाणिज्य दूत ईश्वरराज पौडेलसँग नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीले भेट गरेका छन् ।

भेटमा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले पारवहनलागत घटाउन त्यहाँबाट हुनसक्ने प्रयास जारी राख्न पहल हुनुपर्ने बताएका थिए । कलकत्ता कस्टम हाउससँग राम्रो संम्बन्ध राख्दै नेपाली कार्गोलाई सहजीकरण गर्ने, कोलकत्ता पोर्ट ट्रस्टसँग समन्वय गरी पोर्टमा लाग्ने झमेला हटाउनका लागि पहल गरिदिन पौडेलसमक्ष आग्रह गरे ।

महावाणिज्यदूत पौडेलले नेपालको समग्र हितमाआफ्नो कार्य केन्द्रीत हुने प्रतिबद्धता जनाए । साथै चेम्बरलगायत फ्रेट फर्वाडर्स एशोसियसन, चेम्बरका कलकत्तास्थित समकक्षी संस्था इन्डियन चेम्बर अफ कमर्स कलकत्ता, द बंगाल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रि कलकत्ता, फेडेरेसन अफ वेस्ट बंगाल ट्रेड एसोसिएसन, बीबीडी बाघकलकत्ता, वेस्ट बंगाललगायतका उच्चस्तरीय निकायसँगको समेत सहकार्यमा व्यापार सहजीकरण गर्न आफू दृढ समर्पित रहेको बताएका थिए ।

चेम्बरका अध्यक्ष श्रेष्ठले सिपिङ लाइनले कन्टेनरमा लिने डिटेन्सन शुल्कमा एकरुपता नभएको हुँदा सो हटाउनेतर्फ पहल गर्नुपर्ने अनुरोध गर्देै नेपालका लागि यथेस्ट रेल्वे मुभमेन्ट कार्गोको व्यवस्था हुनुपर्ने बताए ।

साथै सीआईएफ वीरगञ्ज हुने गरी एलसी कारोबार गर्दा पारवहन लागत कम हुने भएकाले सिपिङ लाइनको सहयोगी भूमिका महत्वपूर्ण हुने हुँदा त्यसतर्फ पहल गरी दिन र कन्टेनर डिटेन्सन शुल्कलाई कम गर्न आवश्यक पहल गर्न समेत अनरोध गरेका थिए ।


क्लिकमान्डु