नेपालमा भेन्टीलेटर बैंकको सेवा सुरु



काठमाडौं । कोरोना भाईरसको संक्रमणबाट जुधिरहेको वर्तमान अवस्थामा (कोभिड १९) प्रकोपले महामारीको रुप लिंदै गर्दा अति आवश्यक पर्ने भेन्टीलेटर लगायतका सघन उपचारका उपकरणहरु सहज र सुलभ माध्ययमबाट उपलब्ध गराउने उदेश्यका साथ नेपाल भेन्टीलेटर सर्भिसको सुरुवात भएको छ ।

नेपालमा विद्यमान भेन्टीलेटर लगायत अन्य स्वास्थ उपकरणको अभावले कोरोना भाइरससँगको युद्दमा डटेर लड्न कठिन हुने अवस्था आंकलन गरिएको छ । यस अभावले हाल सम्पूर्ण स्वास्थ जगतमा निम्त्याएका र भविष्यमा समेत हुन सक्ने जोखिमलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने विषयमा छलफल विचार, विमर्श गरी भेन्टीलेटर बैंकको स्थापना गर्नु पर्छ भन्ने निष्कर्षमा पुगि “नेपाल भेन्टीलेटर सर्भिस” नामक परोपकारी संस्था संस्थापना भएको हो । जुन समस्याको जड्नै कुनै वस्तुको अभावले भएको छ भने त्यसको एकमात्र समाधान भनेको सोही वस्तुको उपलब्धताले दिन सक्छ भन्ने मान्यता अनुरुप यस संस्थाको संस्थापना गरिएको हो ।

परोपकारी संस्थाको रुपमा स्थापना गरिएको नेपाल भेन्टिलेटर सर्भिसको मुख्य उदेश्य नेपालमा भेन्टिलेटर लगायतका सघन उपचारका उपकरणहरुको अभावमा कसैको ज्यान जोखिममा नपरोस् र दुरदराजका अस्पतालहरु सम्म यी उपकरणहरु सुलभ र सहज रुपमा उपलब्ध गराउन सकियोस् भन्ने रहेको छ । यस संस्थाले नेपालका सरकारी, सामुदायिक र निजि अस्पतालहरुमा भेन्टिलेटर लगायतका उपकरणहरु सर्वसुलभ रुपमा उपलब्ध गराउने छ ।

कोभिड १९ महामारीको अवस्थामा नेपाल सरकार संगको सहकार्यमा आवश्यक परेका स्थानहरु तथा फिल्ड हस्पिटलहरुमा यस संस्थाका भेन्टिलेटरहरु परिचालन गर्ने सकिने गरि संस्थाले समन्वय गर्दै छ ।

यस संस्थाले नेपालका औद्योगिक तथा ब्यबसायीक गृहहरु, बैंक तथा वित्तीय संस्थाहरु, विभिन्न संघ संस्था लगायतका मनकारी हृदय भएका व्यक्तिहरुलाई संस्थाको उदेश्य पुरा गर्न हातेमालो गर्न आग्रह गर्ने र एउटा कोष खडा गरि सो कोषमा जम्मा भएको रकमलाई भेन्टीलेटर खरिद गर्न, भेन्टीलेटरको मर्मत सम्मार गर्न खर्च गर्नेछ ।

संस्थाको संस्थापना पूर्व नै यसले थालेको सार्वजनिक उपयोगिता, परोपकारी र कल्याणकारी कार्यको सरहाना गरि विभिन्न संघ, संस्था र व्यक्त्तिहरुले भेन्टीलेटरहरु लगायत नगद सहयोग गरेका छन् भने धेरैले सहयोग गर्ने प्रतिबद्दता जनाएका छन् ।

हाल यस संस्थासँग कोभिड १९को लागि अति आवश्यक पर्ने मेकानिकल भेन्टीलेटरहरु सहित, हाइफ्लो न्याजल क्यनुला,बाइप्याप, लगायतका ३० वटा उपकरणहरु जम्मा भैसकेका छन् । कोभिड(१९ उपचारको लागि संसार भर अति प्रभावकारी देखिएको हाइफ्लो न्याजल क्यनुला नेपालमै पहिलो पटक यस संस्थाले उपलब्ध गराउने भएको छ । कम्पनिले थप उपकरणहरुको खरिद प्रक्रिया सुचारु गरिसकेको छ ।

संस्थाले आफ्नो कार्यालय स्थापना गर्नुका साथै आवश्यक अन्य प्रशासनिक कार्यहरु पनि सुचारु गरिसकेको छ । यस संस्थाले भविष्यमा तिनै तहका सरकारसँग समन्वय गरि नेपालमा भेन्टीलेटरको संचालन र व्यवस्थापन गर्ने उदेश्य राखेको छ । कम्पनीले हाल प्रदेश नं ३ मा भेन्टीलेटरलाई केन्द्रिकित गर्ने र कालान्तरमा नेपालका सातैवटा प्रदेशमा यसको शाखा विस्तार गरि सो प्रदेशलाई आवश्यक भेन्टीलेटर सोहि प्रदेश कै शाखाबाट उपलब्ध गराउने छ ।


क्लिकमान्डु