कोरोनाबाट बच्न भारतीय व्यवसायीले लगाए ४ हजार डलर पर्ने सुनको मास्क



कोरोना भाइरसको संक्रमणबाट बच्न एकजना भारतीय व्यवसायीले ४ हजार डलर पर्ने सुनको मास्क लगाएका छन् ।

कुल ६० ग्राम तौल भएको मास्क बनाउनका लागि कालिगढलाई ८ दिन लागेको पुणेका व्यवसायी शेखर कुरहाडेले भने ।

‘यो मास्क पातलो छ भने यसमा स-साना प्वालहरु छन्, जसले मलाई श्वास फेर्न सहयोग गर्छ,’ ती व्यवसायीले अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीलाई भने ।

‘मलाई यकिन छैन कि यसले कोरोना भाइरसको संक्रमण हुनबाट जोगाउँछ वा जोगाउँदैन, तर मैले यसबारेमा अन्यबाट सुझाव पनि लिइरहेको छु,’ ती व्यवसायीले भने ।

घरबाहिर निस्कँदा मलाई यसले सुन्दर देखाउँछ भन्ने लाग्ने उनले बताए । उनका अनुसार उनले सुनको मास्कका साथै ब्रासलेट, सिक्री र हातका हरेक औँलामा औँठी पनि लगाएका छन् ।

उनका अनुसार सुनको मास्क लगाउने आइडिया मिडियामा प्रकाशित एक समाचारबाट आएको थियो । समाचारमा एकजनाले चाँदीको मास्क बनाएर लगाएको उल्लेख थियो ।

‘अहिले मसँग मानिसहरु सेल्फी खिच्नका लागि अनुरोध गर्दछन्,’ उनले भने ।

‘जब मलाई मानिसहरुले देख्छन्, उनीहरु सुनको मास्क लगाएको देख्दा आश्चर्यमा पर्छन,’ उनले भने ।

कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सार्वजनिक स्थानमा जाँदा भारत सरकारले मास्क अनिवार्य गरेको छ । हालसम्म भारतमा ६ लाख ५० हजारभन्दा बढी कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् भने १८ हजार ६०० भन्दा बढीको मृत्यु भइसकेको छ ।


क्लिकमान्डु