मलाई कोरोना मन्त्री समेत भनेर उडाइयो, अहिले १५ हजार संक्रमित पुगेः पर्यटनमन्त्री भट्टराई



काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईले क्वारेन्टिन व्यवस्थापनमा सरकार चुकेको बताएका छन् । कोरोना संक्रमण नियन्त्रणमा सरकारी प्रयास सकारात्मक भएपनि क्वारेन्टिन व्यवस्थापनमा चुकेको उनले स्वीकार गरे ।

क्वारेन्टिनको राम्रो व्यवस्था नहुँदा संक्रमण बढेको उनको भनाइ छ । उनले भारतीय सीमा क्षेत्र खुला भएका कारण नेपालमा कोरोना संक्रमण रोकथामको ठूलो चुनौती रहेको बताए । नाका बन्द हुँदा पनि सहज ढंगले मानिसहरुको आवतजावत भएका कारणले पनि संक्रमणको दर बढेको बताए ।

‘शुरुमा मलाई अन्तर्राष्ट्रिय उडान बन्द नगरेर कोरोना संक्रमण बढ्यो भनेर आरोप पनि लगाइयो, कोरोना मन्त्री भनेर पनि भनियो, त्यतिबेला २ जनामा मात्रै दखिएको थियो, तर अहिले भारतबाट आउनेहरुमा बढी देखियो र १५ हजारबढी पुग्यो,’ उनले भने ।

शुक्रबार मन्त्रालयले आफ्नो तीन महिनाको कार्यप्रगति विवरण सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सीमा क्षेत्रबाट निर्वाधरुपमा नेपाल भित्रिने क्रम बढेपछि क्वारेन्टिन व्यवस्थापनमा समस्या देखिएको बताएका हुन् ।

विश्वका अन्य मुलुकहरुको अवस्था हेर्दा नेपाल सरकारले गरेका प्रयासहरु सकारात्मक रहेको उनले दाबी गरे । सरकारले संक्रमण नियन्त्रणका लागि राम्रा कामहरु गरेपछि केही विरोधका लागि विरोध गरेको उनले बताए ।

नियतबश खोट लगाउनुबाहेक अरु हिसाबले खोट लगाउनुपर्छ जस्तो आफूलाई नलागेको उनले बताए ।


क्लिकमान्डु