रित्तो भएको सरकारी ढुकुटीमा पैसा आउन थाल्यो, १७ दिनमा ४५ अर्ब राजस्व उठ्यो



काठमाडौं । राजस्व नउठेको कारण दैनिक खर्च समेत चलाउन नसकेको घोषणा अर्थमन्त्री डा युवराज खतिवडाले गरेका थिए ।

तर,लकडाउन खुकुलो हुँदै गएपछि खाली नै भएको सरकारी ढुकुटीमा पैसा आउन थालेको छ । सरकारको हिसाब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार पछिल्लो १७ दिनमा ४५ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ ।

सर्बोच्च अदालतले लकडाउन खुलेको ३० दिनभित्र मात्र कर तिर्दा हुने व्यवस्था गरेको थियो । सार्वजनिक यातायात पूर्ण रुपमा संचालनमा आएपछि मात्र लकडाउन खुलेको भन्न सकिने सर्बोच्चको फैसला छ । सरकारले लकडाउन खुकुलो गरेपनि हटाएको छैन । यस आधारमा कर नतिर्दा जरिवाना लिन कर कार्यालयले सक्ने थिएन ।

ढुकुटी नै रित्तो भएपछि अर्थसचिव,राजस्व सचिव तथा आन्तरिक राजस्व विभागका महानिर्देशक र राजस्वका कर्मचारीलाई ठूलो कारोबार गर्ने व्यवसायीलाई फोन नै गरेर कर तिर्न अनुरोध गरेका थिए ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार जेठ ३२ गतेसम्म ५ खर्ब ८८ अर्ब रुपैयाँ थियो । असार १७ गतेसम्म आइपुग्दा ६ खर्ब ३३ अर्ब रुपैयाँ राजस्व उठेको छ ।

असार लागेसँगै दैनिक १ अर्बभन्दा बढी राजस्व उठेको छ । चैत ११ मा लकडाउन घोषणा भएसँगै कर तिर्ने समयलाई बैशाख हुँदै जेठ २५ सम्म सारिएको थियो । आन्तरिक राजस्व विभागले मूल्य अभिबृद्धि कर र अन्तशुल्क असार ७ र आयकरको किस्ता असार १५ भित्र तिर्ने व्यवस्था मिलाएको थियो । यद्यपी सर्बोच्चको आदेश अनुसार नतिर्दा समेत केही नहुँने व्यवस्था छ ।

सर्बोच्चले सहुलियत दिएपनि निजी क्षेत्रका संघ संस्थाको नेतृत्वमा बस्नेहरुले सार्वजनिक रुपमा नै सक्नेले बाँकी भएको कर तिरेर सहयोग गर्न अनुरोध गरेका थिए । कर्पोरेट रुपमा ठूलो कर बुझाउने बैंक तथा वित्तीय संस्थाले पनि बाँकी भएको कर बुझाउने निर्णय गरेका थिए ।

ढुकुटी रित्तो भयो भनेका अर्थमन्त्रीले राजस्व संकलन हुँन थालेपछि अर्थतन्त्रमा सुधार देखिन थालेको बताउत थालेका छन् ।


क्लिकमान्डु