११ महिनामा सवारी साधनको आयात ५५% ले घट्दा विद्युतीय गाडीको आयात १०२% ले बढ्यो



काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा कुल १० हजार ३४९ सवारी साधन मुलुक भित्रिएका छन् ।

भन्सार विभागका अनुसार चालु आवको जेठ मसान्तसम्ममा पेट्रोल तथा डिजलबाट चल्ने सवारीसाधन ९ हजार ७७५ र विद्युतीय सवारी साधन ५७४ वटा भित्रिएका हुन् ।

यो गत आवको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा ५५.३२ प्रतिशतले कम सवारी साधन आयात भएका हुन् ।

गत आवमा कुल १६ हजार ८७४ वटा सवारी साधन भित्रिएका थिए । जसमध्ये १६ हजार ५१३ पेट्रोल तथा डिजलबाट चल्ने सवारी साधन र ३६१ वटा विद्युतीय सवारी साधन नेपाल भित्रिएका थिए ।

यसैगरी अघिल्लो आवको जेठ मसान्तसममा १५ हजार ७९२ वटा पेट्रोल तथा डिजलबाट चल्ने सवारी साधन आयात भएकोमा चालु आवको सोही अवधिमा ६१.५५ प्रतिशतले कमी आइ जम्मा ९ हजार ७७५ वटा सवारी साधन आयात भएको छ ।

जबकी विद्युतीय सवारी साधनको आयात भने बढेको छ । अघिल्लो आवको जेठ मसान्सम्ममा २८३ विद्युतीय सवारी साधन आयात भएकोमा चालु आवको ११ महिनामा भने १०२.८२ प्रतिशतले बढेर ५७४ वटा विद्युतीय सवारी साधन आयात भएका छन् ।

विभागका अनुसार जेठ १ गतेदेखि १४ गतेसम्म जम्मा ९३ वटा विद्युतीय सवारी साधन भन्सार जाँचपास भएका छन् । जसमध्ये जेठ ७ गते ७५ वटा, जेठ १३ गते १६ वटा र जेठ १४ गते २ वटा मात्रै जाँचपास भएका छन् ।

गत वर्ष जेठ महिनामा ५४ वटा विद्युतीय सवारी साधन भन्सारबाट जाँचपास भएका थिए । जसमध्ये गतवर्षको भन्दा यो वर्ष आयात दोब्बर नजिक पुगेको देखिएको छ ।

सुख्खा बन्दरगाहा भन्सा कार्यालयबाट बैशाख १६ गते जाँचपास भएका ४५ वटा गाडी चैत २५ मा भन्सार आइपुगेको विभागले जनाएको छ । त्यसैगरी जेठ ७ गते जाँचपास भएका ७५ वटा सवारी साधन बैशाख ११ गते भन्सार आइपुगेका थिए ।

यसवर्षको जेठ १४ गते १ अर्ब ७२ करोड राजस्व संकलन भएको छ । जबकी २०७६ सालको जेठ १४ गते २ अर्ब १५ करोड र २०७५ सालको जेठ १४ गते २ अर्ब १९ करोड राजस्व संकलन भएको थियो ।


क्लिकमान्डु