घरबिदामा आएका ६२ कामदार माल्टा फर्कन पाएनन्, मन्त्रीका नाममा ठग्ने सलबलाए



काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारी शुरु हुनु अघि नै घर बिदामा नेपालमा आएका कामदार काममा फर्कन नपाएर अलपत्रमा मात्रै परेका छैनन्, दलालबाट ठगिने हो की भन्ने त्रासमा पनि छन् ।

काठमाडौं मातातिर्थका शंकर केसी फागुनको दोस्रो साता २१ दिनको बिदामा बिदा माल्टाबाट घर आए । उनी घर बिदा सकेर पुनः कर्मथलो माल्टामा फर्कने सोचका साथ आएका थिए ।

झण्डै चार महिना हुन लाग्यो तर उनी माल्टा फर्कन सकेका छैनन् । अहिले उनलाई माल्टा फर्कन नपाएको जति चिन्ता छ त्यती नै दलालबाट ठगिने हो की भन्ने चिन्ता पनि छ ।

विश्वभर फैलिएको कोरोना भाइरसका कारण नेपालमा पनि चैत ११ गतेबाट लकडाउन शुरु भयो । अहिले लकडाउन अघोषित रुपमा खुलेको छ ।
लकडाउन सहज भएसँगै आफ्नो माल्टा जाने सपना पूरा होला भनेर केसीसहित ६२ जना बसेका छन् ।

उनीहरुलाई माल्टा पुर्याउँछु भन्दै केही व्यक्तिले ठग्नसमेत खोजेको केसीको भनाइ छ ।

‘यसबीच केही ट्राभल एजेन्सीले श्रम स्वीकृती नै नलिइ प्लेन चार्टर गरेर लैजाने भन्दै त केहीले आफू मन्त्रीको मान्छे हुँ म तपाईहरुलाई माल्टा पुर्याउँछु भनेर ठग्न खोजे,’ उनले भने, ‘कुन मन्त्रीलाई भनेर हामीलाई लैजान सक्नुहुन्छ भने मन्त्रीको नाम भन्नु भएन । मन्त्रीको नाम सोधेपछि अहिले उहाँ सम्पर्कमा हुनुहुन्न ।’

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको सीसीएमसीले वैदेशिक रोजगारीमा जान चाहनेलाई जाने दिने निर्णय गरेपनि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले समयमा नै निर्णय गर्न नसक्दा उनीहरु नेपालमा नै रहेका छन् ।

मन्त्रालयले त्यसका लागि वैदेशिक रोजगार विभाग र काठमाडौं कार्यालय ताहाचललाई पत्र नपठाएका कारण कामदार उनीहरु अलपत्र परेका हुन् ।

माल्टा फर्किन नपाएका केसी

घर बिदामा आएर ६२ जना नेपाली कामदार माल्टा जान नपाएर अलपत्र परेका छन् । उनीहरु सबै माल्टाका होटल, रेष्टुराँ, म्यानिफ्याक्चरिङलगायतका क्षेत्रमा काम गर्ने कामदार रहेको माल्टाबाट फर्केका शंकर केसीले बताए ।

कम्पनीबाट छोटो बिदामा आएका उनीहरुलाई अहिले कम्पनीले काममा फर्कनु भनेर इमेल समेत पठाइसकेको केसीकोे भनाइ छ । माल्टा फर्कनेहरुमा ३२ जनाको श्रम गर्न बाँकी नै छ ।

अधिकांश फागुनको दोस्रो साता नेपाल आएका थिए ।

‘अहिले कम्पनीले खुला भएर तत्काल काममा आउन भनेको छ’, केसीले भने, ‘कम्पनीले सबैलाई बोलाएको छ, यहाँबाट जानका लागि सरकारले कुनै पनि सहयोग गरेन । हामी नेपालमा कोरोना देखिएपछि होम क्यारेन्टिनमा छौं, हामी कोरोना संक्रमितको सम्पर्कमा पुगको छैनौं, कोरोना परीक्षण गरेर जान्छौ भन्दा पनि पाएनौ ।’

माल्टामा प्रायः होटल तथा रेष्टुराँ जुन २० देखि २४ सम्ममा खुलेको र त्यहीअनुसार आफूहरुलाई काममा बोलाएको केसीको भनाइ छ ।

माल्टाबाट आउनेमा आफूसहित ३६ जनाको कतार एयरवेजमा फर्कनका लागि रिटर्न टिकट पनि रहेको उनको भनाइ छ ।

यता वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयका प्रमुख उमेश बस्नेतका अनुसार विदेशबाट नेपालमा आएका सबै नेपाली कामदारलाई कसैले रोक्न सक्दैन ।

उनका अनुसार पुन श्रम स्विकृती लिनका लागि मन्त्रालयले स्वीकृती दिनुपर्छ । मन्त्रालयले जहिलेबाट खोल्न स्वीकृती दिन्छ त्यो दिनबाट श्रम स्वीकृतीको काम शुरु हुने उनको भनाइ छ । यसका लागि यति नै समय लाग्छ भन्ने टुंगो नभएको उनको तर्क छ ।


क्लिकमान्डु