सेयर बजार खोल्न नसकेको भन्दै अर्थमन्त्रीले सेबोन अध्यक्षलाई झपारे- गनगन गर्न नआउनू
काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस नियन्त्रण गर्न सरकारले गरेको लकडाउनका कारण बन्द भएको सेयर बजार अहिलेसम्म खुल्न सकेको छैन ।
लकडाउन खुल्दा पनि सेयर बजार नखुलेपछि अर्थमन्त्री डा. युवराज खतिवडा निकै चिन्तित बनेका छन् ।
सेयर बजार खुलाउन नसकेको भन्दै अर्थमन्त्री खतिवडाको आलोचनासमेत भइरहेको छ ।
सेयर लगानीकर्ताका च्याउसरी खुलेका संगठनहरुको दबाबमा बजारलाई झण्डै ३ महिनादेखि बन्धक बनाएर राखिएको छ । धितोपत्र बोर्डको लाचारीका कारण बजार खुल्न नसकेको हो ।
अर्थमन्त्री खतिवडाले शुक्रबार धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई अर्थमन्त्रालय बोलाएर आक्रोश व्यक्त गरे ।
लगानीकर्ताले जति बेला भन्यो त्यति बेला बजार बन्द गर्ने हो भने आगामी दिनमा मन्त्रलयमा बजारको समस्या लिएर नआउनू भन्दै मन्त्री खतिवडाले अध्यक्ष ढुंगानालाई झपारे पनि ।
सेयर बजार कहिल्यै बन्द नहुनेः बोर्डसँग झुके लगानीकर्ताका संगठन, आन्दोलन नगर्ने सम्झौता
‘सँधै लगानीकर्ताले कराए भन्दै बजार बन्द गर्नुपर्छ भन्ने हो एक महिना नै बन्दै गरे पनि हुन्छ, हैन म लगानीकर्तालाई कराउँन दिँन्न भन्ने आँट छ भने र लगानीकर्तालाई सम्झाउन सक्छु भन्ने लाग्छ भने बजार खोल्नु, यस विषयमा मैले केही पनि भनेको छैन,’ मन्त्री खतिवडाको भनाइ उदृत गर्दै स्रोतले क्लिकमाण्डूसँग भन्यो ‘यति लामो समय तपाईंहरुले बजार बन्द गर्दा बाहिर के सन्देश गयो होला ?’
खतविडाले बजारलाई कसरी चलाउने भन्ने जिम्मा बोर्डको भएको पनि स्मरण गराए ।
‘बजारको विषयमा निर्णय गर्ने जिम्मा तपाईंकै हो, अबका दिनमा कसैले पनि विरोध नगर्ने वातावरण बनाएर बजार खोल्नु, बजार खोल्दा कुनै पनि लगानीकर्ताले प्रश्न गर्ने ठाँउ नहोस्, मैले अब सेयर बजारको विषयमा कुनै पनि गुनासो सुन्न नपरोस् र गनगन गर्न पनि नआउनू,’ मन्त्री खतिवडाले अध्यक्ष ढुंगानालाई भने ।
मन्त्रीको कुरा सुनेर फर्केका बोर्ड अध्यक्ष ढुंगाना अब बजार कुनै पनि बाहनामा बन्द हुन नदिने गरी खोल्ने मनस्थिति बनाएर फर्किए ।
अब बजार खोल्दा लगानीकर्तालाई पनि केही राहत दिने गरी बजार खोल्ने, नेप्सेको अनलाइन सिस्टममा देखिएको सबै समस्या समाधान गर्ने तयारीमा रहेका छन् ।
लामो समय बजार बन्द भएपछि अब बजार खोल्नुपर्छ भन्नेमा लगानीकर्ता पनि पुगेका छन् । अहिले लगानीकर्ताले बजार आइतबारदेखि खुला हुनुपर्छ भनेपनि धितोपत्र बोर्ड भने आगामी साता सम्भव भएसम्म मंगलबारदेखि बजार खुला गर्ने तयारीमा रहेको छ ।
यति लामो सयम बजार बन्द गरेर इतिहास रच्नुमा मन्त्री खतिवडाको पनि योगदान देखिएको छ ।
लकडाउन खुकुलो भएसँगै अत्यावश्यक सेवा, बैंक तथा वित्तीय संस्था, सहकारी, उद्योग भन्दा खुलेपनि सेयर बजार भने खुल्न सकेन । यसमा मन्त्रालयले बजार खोल्नु भनेर भन्न सकेन । मन्त्री खतिवडा सरकारका प्रवक्ता पनि हुन ।
उनले बजार खोल्ने विषयमा न मन्त्रिपरिषदबाट निर्णय गराउन सके, न मन्त्रालयबाट नै निर्देशन दिन सके । मन्त्रालयले वास्था नगरेपछि बोर्डले पनि बजार खोल्न कुनै पहल गरे । फलस्वरुप नेपालको सेयर बजारले बजार बन्द गर्न इतिहास रच्यो । त्यही भएर पनि अहिले भने मन्त्री खतिवडा चिन्तित भएको स्रोतको भनाइ छ ।
बजार खुल्ने संकेत नदेखिएपछि मन्त्री खतिवडाले अध्यक्ष ढुंगानालाई बजार तत्काल खोल्न र बजारको विषयमा कुनै समस्या भए आफूसँग गुनासो गर्न नआई देखिएको समस्या आफैं समाधान गर्न भनेका छन् ।
अध्यक्ष ढुंगानाले शुक्रबार नै लगानीकर्ताका संगठनहरुलाई बजार कहिल्यै बन्द नगर्ने सम्झौतापत्रमा हस्ताक्षरसमेत गराएका छन् ।