संकटमा एमसीसीः असार १६ को डेडलाइन, प्रतिनिधिसभाको बैठक असार १७



काठमाडौं । अमेरिकाले नेपाललाई दिने भनिएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संकटमा परेको छ ।

नेपाल सरकारसँग अमेरिकाले गरेको सम्झौताअनुसार असार १६ गतेभित्र प्रतिनिधिसभाको बैठकबाट एमसीसी सम्झौता अनुमोदन गर्नुपर्ने थियो । तर मंगलबार प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले संसद बैठक असार १७ गतेका लागि बोलाएका छन् ।

यसरी एमसीसी अनुमोदन राजनीतिक संकट परेको छ ।

सरकारको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीभित्र एमसीसी अनुमोदनको विषयमा विवाद छ ।

प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभाको बैठकबाट एमसीसी अनुमोदनको पक्षमा भएपनि कतिपय नेता यसको विपक्षमा छन् ।

कोरोना भाइरसका कारण पनि एमसीसी कार्यान्वयनको डेडलाइन केही समय पर सर्नेछ ।

‘असार १६ गतेभित्र पारित गर्नुपर्ने डेटलाइन भए पनि संसद्को बैठक असार १७ मा बोलाएपछि एमसीसी अनुमोदन अब संकटमा परेको छ,’ अर्थमन्त्रालयका एक अधिकारीले भने ।

कोरोना भाइरसका कारण एमसीसीअन्तर्गत निर्माण हुने भनिएको प्रशारण लाइन र कपिलवस्तुमा विस्तार हुने भनिएको राजमार्गको स्तरोन्नती प्रक्रिया अगाडि बढ्ने छैन ।

‘राजनीतिकरुपमा सहमति जुटेपनि अब एमसीसी अगाडि बढ्न कठिन छ, राजनीतिक सहमति भएमा असार १६ मा हुने अनुमोदन १५ दिनपछि भए पनि केही हुँदैन,’ अर्थमन्त्रालयका ती अधिकारीले भने ।

एमसीसी अन्तर्गत नेपाललाई ५० करोड अमेरिकी डलर अनुदान आउने छ । जुन प्रशारण लाइन र सडकको स्तरोन्नतीका लागि खर्च हुने छ ।


क्लिकमान्डु