सांसदलाई सेबोन अध्यक्षको ब्रिफिङः दोस्रो बजार सञ्चालनमा व्यवधान धेरै भए
काठमाडौं । इतिहासमा सबैभन्दा लामो समय सेयर बजार बन्द गराएको धितोपत्र बोर्डको पुगेका अर्थसमितिका सभापतिसहित सदस्यहरुले सामान्य चासो मात्रै देखाएका छन् ।
धितोपत्रबाट प्रेषित सूचना अनुसार अर्थसमिति सभापति कृष्ण दाहालसहित सांसद रामकुमारी झाँक्रीको संयोजकत्वमा गठित उप–समितिका सदस्यहरु बोर्डका पुगेका थिए ।
बोर्डका अधिकारीहरुसँग धितोपत्र बजारका समसामयिक विषयहरुमा छलफल तथा अन्र्तक्रिया कार्यक्रम भएपनि बजार बन्द नै रहेको विषयमा समान्य मात्रै चासो देखाएको तर बजार बन्द भएर आफ्नो ऐतिहासिक रेकर्ड कहिलेसम्म कायम राख्ने र कहिले खुल्ने विषयमा कुनै गहन छलफल भएको छैन ।
कार्यक्रममा अर्थसमितिका सभापति दाहालले नेपालको वित्तीय प्रणालीमा पँुजी बजार र यसको नियमन निकाय बोर्डको भूमिका महत्वपूर्ण भएको हुनाले यसको विश्वसनीय एवं दिगो विकासका लागि कटिबद्ध भएर लाग्नुपर्ने धारणा राखे ।
उनले धितोपत्रको प्राथमिक बजारको विकास उत्साहजनक देखिए पनि दोस्रो बजारको विकास भने सोही गतिमा हुन नसकेको बताए ।
आगामी दिनमा वास्तविक क्षेत्रका कम्पनीहरुलाई भित्र्याउन पहल गर्नुपर्ने, सार्क क्षेत्रका अन्य देशमा जस्तै नेपालको धितोपत्र बजारमा पनि विदेशी रणनीतिक साझेदार भित्र्याई बजारको स्तर अभिबृद्धि गर्नुपर्ने, पँुजी बजारलाई अन्तर्राष्ट्रिय बजारसँग आवद्ध गराउनुपर्ने, वस्तु विनिमय बजार सम्बन्धी पूर्वाधारको विकास गर्न सुझाव दिएका छन् ।
दाहालले बजारको विकासका लागि सम्बन्धित निकायहरुको भूमिका समन्वयकारी हुनुपर्नेमा जोड दिए । उनले बोर्डको संस्थागत क्षमता अभिवृद्धि र धितोपत्र नियमन तथा बोर्ड सञ्चालन सम्बन्धी कानूनी अपर्याप्तता हटाइ यसलाई सुदृढ गर्नका लागि समितिले पर्याप्त भूमिका निर्वाह गर्ने आश्वासन समेत दिए ।
कार्यक्रममा सदस्य मेटमणि चौधरीले धितोपत्रको दोस्रो बजारको अनलाइन कारोबारका लागि प्रयोग हुने प्रविधि र हाल दोस्रो बजार बन्द भएको विषयमा चासो राखेका थिए ।
सदस्य रामकुमारी झाँक्रीले दोस्रो बजारमा हुने सूचना सम्प्रेषण, लगानीकर्ताका संघ संस्थाको गतिविधिका बारेमा चासो राख्दै लगानीकर्ता संघ तथा आर्थिक पत्रकारलाई आवश्यक परे अन्य नियमन निकायसंग समन्वय गर्दै आचारसहिंता लागू गर्नपर्ने धारणा राखिन् ।
नेपालको पँुजी बजारलाई भरपर्दाे र विश्वसनीय बनाउनुपर्ने, बोर्डको संस्थागत एवं नियमन क्षमता सुदृढ गरी बोर्डलाई सबल र ससक्त नियमन निकायको रुपमा विकास गर्न प्रयास गर्नुपर्ने धारणा राखिन् ।
कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक निरज गिरीले लकडाउन अवधिमा दोस्रो बजार सञ्चालनका लागि इडिआईएसको व्यवस्था तथा ब्रोकरले पुँजीगत लाभकर म्यानुअली सिस्टममा भर्नुपर्ने व्यवस्थाको अन्त्य गरेको जानकारी गराए ।
बजार सञ्चालन लगायतका कार्यका लागि नेप्से, सिडिएससी लगायतका संस्थालाई आवश्यक तयारी गर्न निर्देशन दिएको बताए ।
बोर्ड अध्यक्ष भिष्म ढुंगानाले हाल दोस्रो बजार सञ्चालनमा व्यवधानहरु रहेको भन्दै केहीको समस्या समाधान भएको र केही समाधानको क्रममा रहेको जानकारी दिए ।
उनले पुँजी बजार संवेदनशिल बजार भएको र यसको सम्बन्ध वित्तीय प्रणालीको अन्य क्षेत्रसँग पनि भएकोले सम्बन्धित निकायहरुमा समस्या समाधानका लागि अनुरोध गरेको बताए ।
उनले पुँजी बजारको दिगो विकासको लागि बोर्ड, नेप्से, सिडिएससीको संरचनात्मक सुधार गर्नुपर्ने, नेप्सेमा विदेशी रणनीतिक साझेदार भित्र्याउनुपर्ने, धितोपत्र बजार सञ्चालन र बोर्ड सञ्चालनका लागि छुट्टाछुट्टै ऐन तर्जुमा गर्नुपर्ने आवश्यकता रहेको बताए ।
उनले विदेशी पुँजी परिचालन गर्न र देशमा उद्यमशीलता तथा नवप्रवर्तनलाई प्रवद्र्धन गर्न बोर्डले छिट्टै प्राइभेट इक्विटी तथा भेञ्चर क्यापिटल सञ्चालनका लागि कोष व्यवस्थापकलाई अनुमति दिनुका साथै वस्तु विनिमय बजारको पूर्वाधार विकासका लागि बोर्डले छिटै प्रक्रिया अगाडि बढाउने बताए ।