लकडाउनले लगानीयोग्य रकम बैंकमै थुप्रियो: निक्षेप बढेको बढ्यै, कर्जा घटेको घट्यै
काठमाडौं । लकडाउनमा वाणिज्य बैंकहरूमा लगानीयोग्य रकम उल्लेख्यरूपमा बढेको छ । सरकारले गरेको लकडाउनको करिब ३ महिनाको अवधिमा निक्षेप १ खर्ब ५४ अर्ब रुपैयाँले बढेको हो ।
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेबाट लकडाउन गरेको छ । फागुन मसान्तसम्म वाणिज्य बैंकहरुमा ३१ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप थियो । जुन असार ५ गतेसम्म १ खर्ब ५४ अर्ब रुपैयाँले बढेर ३२ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ ।
चैत मसान्तसम्म बैंकहरुमा ३१ खर्ब ८९ अर्ब रुपैयाँ, बैशाख मसान्तसम्म ३२ खर्ब १४ अर्ब रुपैयाँ, जेठ मसान्तसम्म ३२ खर्ब ७६ अर्ब रुपैयाँ र असार ५ गतेसम्म ३२ खर्ब ९४ अर्ब रुपैयाँ निक्षेप सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुमा थन्किएको छ ।
लकडाउनमा दिनहुँ बैंकहरुमा निक्षेप थपिने क्रम बढिरहेको भएपनि कर्जा प्रवाह भने क्रमिकरुपमा सुस्ताइरहेको छ । फागुन मसान्तसम्म वाणिज्य बैंकहरुले २८ खर्ब ३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जुन चैत मसान्तसम्म आइपुग्दा ४२ अर्ब रुपैयाँले बढेर २८ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको थियो ।
चैत महिनामा मात्र ४२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका बैंकहरुले लकडाउन लम्बिएसँगै कर्जा प्रवाह सुस्ताउन थालेको थियो ।
चैत मसान्तसम्म बैंकहरुले २८ खर्ब ४५ अर्ब रुपैयाँ, बैशाख मसान्तसम्म २८ खर्ब ३६ अर्ब रुपैयाँ, जेठ मसान्त २८ खर्ब १६ अर्ब रुपैयाँ र असार मसान्तसम्म आइपुग्दा २८ खर्ब ११ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । चैत मसान्तदेखि असार ५ गतेसम्मको अवधिमा बैंकहरुमा ३४ अर्ब रुपैयाँले कर्जा प्रवाह घटेको हो ।
लकडाउन सुरु भएसँगै बैंकमा पैसा जम्मा गर्ने बढेपनि त्यसको विपरीत आर्थिक क्रियाकलाप रोकिदाँ कर्जा लिनको ग्राहक भने घटेका छन् ।