कन्सलटेन्सी क्षेत्रलाई अतिप्रभावित सूचीमा राख्न इक्यानको माग, घरबेटीसँग भाडामा छुटको अपिल



काठमाडौं । कोरोना भाइरसको महामारीका कारण फागुन यता व्यवसाय प्रभावित भएको भन्दै शैक्षिक परामर्श संघ नेपाल (इक्यान)ले शैक्षिक परामर्श क्षेत्रलाई अतिप्रभावित सूचीमा राख्न शिक्षामन्त्रालयसँग माग गरेको छ ।

कोरोना भाइरसको संक्रमण विश्वव्यापी हुँदै गर्दा फागुन महिनादेखि नै ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) जारी बन्द गरिएको र हालसम्म पनि कार्यालय सञ्चालन गर्न नसकिएको भन्दै यस क्षेत्रलाई अतिप्रभावित सूचीमा राख्न माग गरिएको इक्यानका अध्यक्ष प्रकाश पाण्डेले भने ।

‘बन्दाबन्दी खुकुलो भए पनि व्यवसाय सञ्चालन सकिएको छैन, साथै महामारीको संकट अझै लम्बिने देखिएकाले व्यवसायको सञ्चालनको अनिश्चितता बढेको छ, त्यसैले सबैभन्दा बढी प्रभावितमध्येको यस क्षेत्र पनि भएकाले अतिप्रभावित क्षेत्रको सूचीमा राख्न माग गरेका हौं,’ पाण्डेले भने ।

साथै विभिन्न बैंक तथा वित्तीय संस्थाले कोरोनाका कारण विद्यार्थीहरुले लिएको ऋण उपयोग गर्न नपाएकाले त्यसमा लाग्ने ब्याज, सेवा शुल्क र कर्जाको अवधिमा विशेष सहुलियतका साथ समायोजन गरिदिन समेत इक्यानले अनुरोध गरेको छ ।

‘विद्यार्थीहरुले भर्ना प्रक्रिया पूरा गर्न नसकेको, भिसाको प्रतिक्षामा रहेको वा भिसाप्राप्त भएपछि यात्रा गर्न नपाएको अवस्था रहेको हुँदा शैक्षिक कर्जाको प्रक्रिया जे जस्तो अवस्थामा रहेको पनि त्यसमा लाग्ने ब्याज, सेवा शुल्क र कर्जा अवधि समेतलाई विशेष सहुलियतकासाथ समायोजन गरिदिन हार्दिक अनुरोध गर्दछौं,’ इक्यानले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

त्यसका साथै बन्दाबन्दीको समयमा कार्यालय सञ्चालन नभएको अवस्थामा इन्टरनेटको प्रयोग नभएकाले त्यसको शुल्क मिनाह गर्न र शुल्क बुझाइसकेका कम्पनीको हकमा लकडाउन अवधिको शुल्कबाटै समायोजन गर्न माग गरिएको छ । त्यसैगरी टेलिफोन सेवा समेतको उपयोगको अवस्थामा पनि शुल्क समेत मिनाहा वा समायोजन हुनुपर्ने माग गरेको छ ।

इक्यानले लकडाउनका कारण कार्यालय बन्द रहेको र आर्थिक क्रियाकलाप नभएकाले घर भाडा तिर्नका लागि कठिनाई उत्पन्न भएको अवस्थामा भाडा समेत छुट गरिदिन समेत माग गरेको छ ।

‘बन्दावन्दीको शुरुमै सरकारले गत चैत महिनाको घरभाडा मिनाहा गर्न भनेकाले सम्वन्धित घरधनीहरुले घरभाडामा अधिकतम सहुलियत दिन अपिल गर्दैछौं,’ इक्यानद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

साथै इक्यानले यस संकटको समयमा शिक्षामन्त्रालयको तर्फबाट प्राप्त सकारात्मक उत्प्रेरणा, बैंक तथा वित्तीय संस्थाहरुबाट प्राप्त भइरहेको सहजीकरण, विभिन्न सेवा प्रदायक संघसंस्था तथा व्यक्तिको मित्रवत व्यवहार प्रति हार्दिक आभार व्यक्त गरेको छ । साथै महामारीको चपेटामा परी समस्यामा परेका स्वदेश तथा विदेशमा रहेका विद्यार्थी तथा अभिभावकप्रति उच्चसम्मानका साथ धैर्यधारण गर्नका लागि समेत अपिल गरेको छ ।

विज्ञप्ति


क्लिकमान्डु