बजार बन्द गरेर ऐतिहासिक रेकर्ड कायम गरेको बोर्डले बजार खोल्न अध्ययन कमिटी बनायो



काठमाडौं । लकडाउनलाई बाहना बनाएर सेयर बजार बन्द गरेर ऐतिहासिक रेकर्ड कायम गरेको धितोपत्र बोर्डले बजारलाई आगामी दिनमा कसरी खोल्ने भनेर अध्ययन गर्न कमिटि बनाएको छ ।

चैत ११ गतेबाट शुरु भएको लकडाउनमा बीचमा २ दिन बजार खुले पनि बाँकी समय बजार बन्द रहेको छ । अझै कहिलेसम्म बजार खुल्ने हो यकिन हुन सकेको छैन ।

अनिश्चितकालका लागि बजार बन्द गरेको धितोपत्र बोर्डले आगामी दिनमा बजार कसरी खोल्न सकिन्छ भनेर अध्ययन गर्न समिति गठन गरेको छ ।

धितोपत्र बोर्ड स्रोतका अनुसार आइतबार बसेको बोर्डको सञ्चालक समितिको बैठकले कमिटी गठन गरेको हो ।

कमिटिमा धितोपत्र बोर्डका साथै नेपाल स्टक एक्सचेन्ज (नेप्से), सिडिएससी, नेपाल स्टक ब्रोकर एसोसिएसन तथा लगानीकर्ताहरू रहने बताइएको छ ।

स्रोतका अनुसार उक्त कमिटीले अबको दिनमा बजार कसरी खोल्ने, कहिलेबाट खोल्ने भनेर सुझाव दिने छ । कमिटिको कार्यअवधि २ दिनको रहने बताइएको छ ।

अहिले बजार खुल्दा सेमिलकडाउनको समयमा पनि लगानीकर्ता आउन नसक्ने दाबी गर्दै आएको छ । बोर्डका अनुसार अब बजार खुल्दा धितोपत्र बजारका लगानीकर्तालाई केही राहत दिन सकिन्छ कि भनेर पनि अध्ययन गरिरहेको छ ।

यस्तै नेप्सेको अनलाइनमा प्रणाली पूर्णरुपमा बैंक इन्ट्रिग्रेसन हुन नसकेको भन्दै यही बेलामा अनलाइनलाई पनि पूर्णता दिनुपर्छ भन्ने पक्षमा बोर्ड रहेको छ । दोस्रो बजारमा अनलाइबाट पूर्णकारोबार आवश्यक रहेको बोर्डको तर्क छ ।


क्लिकमान्डु