सेयर बजार खोल्नुपर्ने माग गर्दै दायर रिटमा सर्वोच्चले विपक्षी बोलायो
काठमाडौं । लकडाउनका कारण सेयर बजार बन्द भएको र खुलाउनु पर्ने माग राख्दै परेको रिटमा सर्वोच्च अदालतले छलफलका लागि विपक्षी बोलाएको छ ।
न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले असार ११ गते विपक्षीलाई छलफलका लागि बोलाएको हो । सर्वोच्च अदालतले १५ दिनभित्र महान्यायधिवक्ताको कार्यालयमार्फत् लिखित जवाफ पेश गर्न विपक्षीका नाममा आदेश जारी गरेको हो ।
‘अन्तरिम आदेश माग गरेको सन्दर्भमा दुबै पक्षको उपस्थितिमा छलफल हुन उपयुक्त देखिँदा २०७७ असार ११ गते अन्तरिम आदेश सम्बन्धमा छलफलका लागि पेशी तोकी सो दिन उपस्थित हुन विपक्षीलाई सूचना दिनु,’ आदेशमा भनिएको छ ।
अधिवक्ताद्वय रपिश पोखरेल र हरिप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थमन्त्रालय, धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जलाई विपक्षी बनाए रिट दायर गरेका थिए ।
उनीहरुले सेयर बजार खुला गर्नुपर्ने माग गरेका छन् । साथै लकडाउनको समयमा डिजिटल÷अनलाइन कारोबारबाट नियमित गराइ मौलिक हक प्रचलित गराइदिनका लागि माग गरेका छन् ।