सेयर धितोमा ७५ प्रतिशतसम्म कर्जा दिने व्यवस्था मिलाउन धितोपत्र बोर्डको माग



काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर धितोमा कर्जा प्रवाह गर्दा सेयरको मूल्यांकनको ७५ प्रतिशतसम्म कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरिदिन राष्ट्र बैंकलाई आग्रह गरेको छ ।

बोर्डले सूचना जारी गर्दै १० प्रतिशत भन्दा बढी मूल्य घटेको अवस्थामा मात्रै मार्जिन कल गर्ने व्यवस्था गर्न समेत राष्ट्र बैंकलाई आग्रह गरेको छ ।

हाल बैंक तथा वित्तीय संस्थाहरुले सेयर धितोमा प्रवाह गर्ने कर्जामा सेयरको मूल्यांकनको ६५ प्रतिशतसम्म कर्जा प्रवाह गर्ने व्यवस्था रहेको छ ।

सेयर धितोमा गएको कर्जाको व्याज तिर्नुपर्ने समय २०७७ असोज मसान्तसम्म बढाईदिन र मार्जिनको सीमा भित्रै रहेका ऋणहरु बक्यौता रकममा नै नविकरण गरिदिने व्यवस्था गर्न उपयुक्त हुने भन्दै त्यसै अनुसार बैंकहरुलाई दिर्नेशन दिन राष्ट्र बैंकलाई आग्रह गरेको छ ।
बोर्डले विद्युतीय माध्यमबाट लगानीकर्ता र धितोपत्र दलालबीच रकम पठाउँदा र प्राप्त गर्दा रकमान्तर हुने रकमको सीमा नरहने व्यवस्था गर्न पनि अनुरोध गरेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले धितोपत्र दलाल व्यवसायीलाई मार्जिन कारोबारका लागि प्रवाह गर्ने ऋणको ब्याजदर बैंक स्वयंले प्रत्यक्ष सेयर धितोमा प्रवाह गर्ने कर्जाको ब्याजदर भन्दा कम हुने व्यवस्था गर्न उपयुक्त हुने बोर्डको तर्क छ ।


क्लिकमान्डु