पर्यटक भिसा बन्द, लकडाउन अवधिमा भिसा सकिएका विदेशी नागरिकलाई नविकरण, विलम्ब र जरिवाना नलाग्ने



काठमाडौं । लकडाउन अवधिभर नेपालमा रहन बाध्य भएका विदेशी नागरिकलाई भिसा नविकरण, विलम्ब र जरिवाना शुल्क नलाग्ने भएको छ ।

अध्यागमन विभागले  मंगलबार सूचना जारी गर्दै यसअघि नविकरण शुल्क लाग्ने व्यवस्था हटाएको हो ।

अब विदेशी नागरिकहरु भिसा सम्बन्धि कुनैपनि शुल्क नबुझाइ स्वदेश फर्कन सक्नेछन् ।

विभागका अनुसार गत मार्च २१ सम्म भिसा अवधि भएको र जन २१ गतेभित्र नेपाल बाहिर जाने विदेशी नागरिकलाई कुनैपनि भिसा शुल्क, विलम्ब शुल्क र जरिवाना तिर्नुपर्दैन । उनीहरु विभागमा नआइ जान सक्नेछन् ।

तर सोमबार र मंगलबार गरी झन्डै ६५० जना विदेशी नागरिकले नविकरण शुल्क बुझाएर भिसा थप गरेका थिए । विभागका महानिर्देशक रमेश बहादुर केसीका अनुसार सोमबार ३५० जना र मंगलबार झन्डै ४०० जना विदेशी नागरिक विभागमा आइ भिसा नविकरण गरेको थिए । भिसा नविकरण गर्नका लागि प्रत्येक दिन ३ डलर, विलम्ब शुल्क ५ डलर र जरिवाना ५० हजार रुपैयाँसम्म खर्च लाग्छ ।

उनका अनुसार लकडाउनको अवधिमा १२ हजारभन्दा बढी नागरिक चार्टर्ड उडानमार्फत स्वदेश फर्किसकेका छन् ।

असार १ गतेदेखि पूर्णरुपमा सेवा प्रवाह शुरु गरेको विभागले पर्यटक भिसा तत्कालका लागि बन्द गर्ने निर्णय गरेको छ ।

विभागका अनुसार पर्यटक भिसा बन्द गरिएको छ भने असार ३ गतेदेखि एनआरएन तथा अन्यका लागि गैर पर्यटक भिसा जस्तै, वर्किङ, विवाह, सम्बन्ध, विजनेस भिसा मात्रै जारी हुनेछ ।

त्यसका लागि विभागले अनलाइनबाट फारम भरेर विभागमा सबमिसन आइडी लिएर मात्रै उपस्थित हुन भनेको छ ।

त्यसैगरी असार ३ गते अर्थात् १७ जुनमा विभागमा अपोइन्टमेन्ट लिएका विदेशी नागरिकलाई अनलाइन फारम भरी १८ जनमा आउन भनिएको छ ।


क्लिकमान्डु