के इन्भेष्टमेन्ट र हिमालयन बैंक मर्ज हुन लागेका हुन् ? यस्तो छ रामकहानी



काठमाडौं । दुई साताअघि संस्थापक गभर्नरसमेत रहेका हिमालयन बैंकका संस्थापक हिमालय शमशेर जबरा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेट्न गए ।

राणाले साथमा पाकिस्तानको हबिब बैंकका तर्फबाट प्रतिनिधित्व गर्ने हिमालयन बैंकका सञ्चालकलाई समेत लगेका थिए ।

विषय थियो- लकडाउनका कारण ती विदेशी नागरिकको नेपाल बस्ने भिसाको म्याद सकिएकाले राष्ट्र बैंकको आग्रहमा नेपाल बस्ने म्याद थप सम्बन्धमा ।

केही समय गभर्नर अधिकारीसँग उनीहरुको कुराकानी भयो । बैंकिङलाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल भयो ।

हिमालय शमशेर राणा संस्थापक गभर्नर भएकाले अहिलेका गभर्नर अधिकारीले निकै उच्च सम्मान पनि गरे ।

बैंकिङमा विविध चुनौतिहरु आएको उल्लेख गर्दै गभर्नर अधिकारीले मर्जरमा गएर अझ बलियो बन्न र लागत घटाउन सुझाए ।

निवर्तमान गभर्नर डा. चिरञ्जीवी नेपालले मर्जरलाई अभियानकै रुपमा सञ्चालन गरेका थिए । बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पुँजी एकैपटक ४ देखि २५ गुणासम्मले बढाउँदा डेपुटी गभर्नरकारुपमा डा. नेपालका सारथी थिए महाप्रसाद अधिकारी ।

गत चैत ५ गते गभर्नर डा. नेपालले अवकास पाए । चैत अन्तिम साता अधिकारी गभर्नरमा नियुक्त भए ।

गभर्नर डा. नेपालले ०७६ चैत पहिलो साता अवकास पाउने भएकाले चालू आर्थिक वर्षको शुरुवाती महिनादेखि नै बैंकहरुले उनका दीर्घकालीन प्रभाव राख्ने नीतिहरुको कार्यान्वयन गर्न आनाकानी गरिरहेका थिए ।

डा. नेपालले मर्जरमा जति बल गरे पनि बैंकहरुले भने नयाँ गभर्नर को आउँछ र कस्तो नीति लिन्छ भनेर पर्खेर बसेका थिए ।

तर, नयाँ गभर्नर अधिकारीले पनि आफू अघिका गभर्नरले लिएको मर्जरको नीतिलाई निरन्तर अघि बढाउने सार्वजनिक प्रतिवद्धता व्यक्त गरे । हेर्नुहोस् गभर्नर हुनेवित्तिकै क्लिकमाण्डूले अधिकारीसँग लिएको अन्तर्वार्ता ।

अर्थतन्त्र जोगाउन राष्ट्र बैंकले जस्तोसुकै कदम चाल्छ, ऋण मिनाह हुँदैन, बिग मर्जर हुन्छ: गभर्नर

हिमालयन बैंकका ठूलो लगानीकर्तासमेत रहेका राणाले गभर्नरको आग्रहलाई आफूहरु गम्भीर भएर कार्यान्वयन गर्न लाग्ने प्रतिवद्धता व्यक्त समेत गरे । उनका छोरा अशोक राणा बैंकको सीइओ छन् ।

इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे हिमालय शमशेर राणाका ज्वाँई हुन् । सीइओ राणाका भिनाजू हुन् ।

हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकका प्रभावशाली लगानीकर्ताको पारिवारिक सम्बन्ध भएका कारण यी दुई बैंक आपसमा गाभिने चर्चा लामो समयदेखि हुँदै आएको छ । र, मर्जरमा जाँदा इन्भेष्टमेन्टको पहिलो रोजाइ हिमालयन हो भने हिमालयनको पहिलो रोजाइ पनि इन्भेष्टमेन्ट बैंक नै हो ।

‘हिमालयन बैंक मर्जरमा जाने हो भने सबैभन्दा उपयुक्त जोडी इन्भेष्टमेन्ट बैंक नै हो,’ हिमालयन बैंकका सीइओ अशोक राणा भन्छन्, ‘किनभने इन्भेष्टमेन्टसँग हम्रो धेरै कुरा मिल्छ र सबैभन्दा बढी सिनर्जी पनि आउँछ ।’

राणाको भनाइमा इन्भेष्टमेन्ट बैंकका सीइओ ज्योति पाण्डे पनि सहमत छन् ।

‘पक्कै पनि मर्जरका लागि हिमालयन बैंक हाम्रो पहिलो रोजाइ हो,’ पाण्डे भन्छन् ।

त्यसोभए अहिले दुई बैंकबीचको मर्जरको कुराकानी धेरै अघि बढिसकेको हो ? दुबै बैंकका सीइओ भन्छन्, ‘कुरा भइरहेको सत्य हो, धेरै अघि बढिसकेको अवस्था भने होइन ।’

सीइओहरुले प्रक्रियाको कुरा नबताए पनि यी दुई बैंकबीच मर्जरको कुराकानी धेरै चरणमा भइसकेको छ ।

इन्भेष्टमेन्ट बैंकक अध्यक्ष पृथ्वीबहादुर पाँडे र हिमालयन बैंकक अध्यक्ष तुलसीराम गौतमले मर्जरको कुराकानी निकै अघि बढाइसकेका छन् ।

सञ्चय कोषका प्रशासकसमेत रहेका गौतम हिमालयनको अध्यक्ष भएर आएपछि इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडेलाई पनि डिल गर्न धेरै सजिलो भएको छ भने हिमालयन बैंकको सञ्चालक समितिमा पनि पहिलेको जस्तो झगडा हुन छाडेको छ ।

पाँडेले गौतमलाई विश्वासमा लिएर मर्जरको कुराकानी धेरै अघि बढाइसकेका छन् । हिमालयन बैंकसँग मर्जरमा जान इन्भेष्टमेन्ट बैंक निकै आतुर देखिएको छ ।

किन हतारियो इन्भेष्टमेन्ट बैंक ?

एकातिर लामो समय नम्बर वान बनेर राज गरेको इन्भेष्टमेन्ट बैंक पछिल्ला वर्षहरुमा नम्बर वानको बिरासत गुमाउँदै गएको छ भने अर्कातिर बैंकका २/३ वटा अर्थात् ४/५ अर्ब रुपैयाँ बराबरको कर्जा बिग्रियो ।

चालू आर्थिक वर्षको असार मसान्तमा इन्भेष्टमेन्ट बैंकको अहिलेसम्मकै खराब वित्तीय विवरण सार्वजनिक हुने निश्चित थियो । त्यो सम्झिँदै इन्भेष्टमेन्ट बैंकका ठूला लगानीकर्ताको आङ जिरिङ भइसकेको थियो ।

नम्बर वानको बिरासत जोगाउन इन्भेष्टमेन्ट बैंक बिग मर्जरमा जाने, छिट्टै खबर सुनाउँछौं: सीइओ पाण्डे

बिग्रिएको वित्तीय विवरण सार्वजनिक गर्दा लगानीकर्ताको विश्वास झनै गुम्ने र ओराली लागेको हरिणको चाल हुने उनीहरुको विश्लेषणका साथ जतिसक्दो चाँडो हिमालयन बैंकसँग मर्जरको सैद्दान्तिक समझदारी गरेर बजारलाई भाइब्रेन्ट गराउने रणनीति इन्भेष्टमेन्ट बैंकले लियो ।

यसो गर्दा नम्बर वानको आफ्नो बिरासत पनि जोगिइने र खराब वित्तीय विवरणबाट उत्पन्न हुनसक्ने जोखिम न्यूनिकरण हुने भयो ।

त्यसैले, अध्यक्ष पाँडे जतिसक्दो चाँडो मर्जरमा जान चाहन्छन् । हिमालयनसँग कुरा मिलेन भने अर्को कुनै वाणिज्य बैंक गाभेर भए पनि गाभ्ने पक्षमा छन् ।

मर्जरमा गएर एनआइसी एशिया र ग्लोबल आइएमइ बैंक विभिन्न सूचकका आधारमा नम्बर वान बनेपछि ठूला र पूराना भनिएका बैंकलाई दबाब परेको छ ।
मर्जर गरेर ठूलो बन्नुका साथै लागत घटाउनुपर्ने तीव्र दबाब छ ।

इन्भेष्टमन्ट बैंकको मूख्य कार्यालय आफ्नो भवनमा छैन । तत्कालीन एनआइडिसी क्यापिटल मार्केट अहिलेको राष्ट्रिय वाणिज्य बैंकसँग भाडामा इन्भेष्टमेन्ट बैंकले आफ्नो लिएर मुख्य कार्यालय राखेको छ ।

इन्भेष्टमन्टले राष्ट्रिय वाणिज्य बैंकलाई दरबारमार्गस्थित मूख्य कार्यालय राखेबापतको भाडामात्रै वार्षिक ८ करोड तिर्छ । त्यस्तै देशभर शाखा कार्यालय राखेको गरी कूल २४ करोड भाडा तिर्छ । जसकारण इन्भेष्टमेन्टलाई आफ्नै भवन बनाउने दबाब पनि छ ।

आफ्नै भवन बनाउनका लागि सबैभन्दा पहिला जग्गा चाहियो । इन्भेष्टमेन्ट बैंकसँग पुतलीसडकमा आफ्नो जग्गा छ ।

दरबारमार्ग र कमलादी बैंकको कार्यालय राख्न सबैभन्दा उपयुक्त स्थान हुन् । ती ठाउँमा इन्भेष्टमेन्ट बैंकसँग जग्गा छैन । दरबारमार्ग र कमलादीजस्तो प्राइम लोकेशनमा जग्गा किन्न ठूलो धनराशी खर्च हुन्छ । र, भवन बनाउन पनि ।

प्राइम लोकेशनमा जग्गा किनेर भवन बनाउँदा १ अर्ब रुपैयाँको हाराहारीमा खर्च हुन्छ ।

तर, हिालयन बैंकसँग कमलादीजस्तो प्राइम लोकेशनमा ४ रोपनी जग्गामा बनेको अत्याधुनिक भवन छ । दरबारमार्गमा ३ रोपनी र ठमेलमा २२ आना जग्गा छ । त्यस्तै वीरगञ्ज, पोखरालगायतका शहरहरुमा पनि हिमालयनको जग्गा छ ।

तसर्थ, हिमालयन बैंकलाई मर्ज गर्न पाइयो भने प्राइम लोकेशनमा जग्गा किनेर भवन बनाउन टाउको दुखाइरहनु पर्दैन भन्ने इन्भेष्टमेन्ट बैंकको विश्लेषण छ ।

त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकका सीइओ ज्योति पाण्डेको कार्यकाल एक/डेढ महिनामात्रै बाँकी छ । हिमालयन बैंकका सीइओ अशोक राणाको नयाँ कार्यकाल केही महिनाअघि मात्रै शुरु भएको छ ।

इन्भेष्टमेन्ट बैंकमा नयाँ सीइओ खोज्ने झन्झट गर्नुभन्दा मर्ज गरेर अशोक राणालाई सीइओ बनाउँदा बढी सहज र फाइदा हुन्छ । त्यतिमात्रै होइन, इन्भेष्टमेन्ट बैंकमा दोस्रो तहको व्यवस्थापन कमजोर छ । हिमालयन बैंकमा दोस्रो तहको व्यवस्थापन निकै अब्बल छ । हिमालयन बैंकमा विदेशी साझेदार छ । विदेशी साझेदार भएका बैंकमा सिस्टमले बढी काम गर्छ । किनभने विदेशीहरु सिस्टममा कम्प्रमाइज गर्दैनन् ।

कार्डमा हिमालयन बैंक निकै बलियो छ ।

तर, केहीदिन अघिमात्रै इटालीयन ठेकेदारका तर्फबाट तनहुँ हाइड्रोपावरमा बसेको काउन्टर ग्यारेन्टीबापतको फसेको पैसा इन्भेष्टमन्ट बैंकले प्राप्त गर्ने फैसला इटालीको अदालतले सुनाइसकेको छ ।

भरेभोलि नै इन्भेष्टमेन्ट बैंकको डुबेको २ अर्ब रुपैयाँ आउँदैछ । यसले असार मसान्तमा प्रोभिजनिङ गर्नैपर्ने झन्झट सकिएको छ । र, वित्तीय विवरण खराब अवस्थामा पुग्नबाट धेरै हदसम्म जोगिएको छ । जसकारण इन्भेष्टमेन्ट बैंकले मर्जरका लागि पहिलेकोजस्तो हतारो भने नगर्न सक्ने संभावना पनि छ ।

‘मर्जर बोल्नजति सजिलो छैन, कुरा मिल्यो भने छिट्टै तपाईंहरुलाई बिग मर्जरको सुखद खबर सुनाउँछौं,’ इन्भेष्टमेन्ट बैंकका सीइओ पाण्डे भन्छन् ।

हिमालयन किन इन्भेष्टमेन्ट नै चाहन्छ ?

हिमालयन बैंक आफूलाई सिस्टमले काम गर्ने असल बैंक दाबी गर्छ । तसर्थ नयाँ बैंकलाई उसले सिस्टमै नभएको बैंक भनेर इग्नोर गर्छ । सिभिल, सेञ्चुरी लगायतका केही बैंकले मर्जरको प्रस्ताव गर्दा हिमालयनले संस्कार पनि नमिल्ने र सिस्टम पनि नमिल्ने भन्दै अस्वीकार गरेको थियो ।

‘बैंक आकारले होइन, विश्वासले ठूलो हुन्छ,’ हिमालयन बैंकका सीइओ भन्छन्, ‘हामीलाई विदेशीले पनि विश्वास गरेका छन् र स्वदेशीले पनि ।’

हिमालयन बैंकले मर्जरमा गइहाल्न हतारो गरेको छैन । उ यतिकै अघि बढ्ने रणनीतिमा छ ।

तर, राष्ट्र बैंकले मर्जरको नीति ल्याएको र मर्जरमा जान आग्रह गरिरहेकाले मर्जरमा गइहाल्नु पर्यो भने इन्भेष्टमेन्ट बैंक नै सबैभन्दा उपयुक्त हो भन्नेमा कुनै दुईमत छैन ।

‘इन्भेष्टमेन्टसँग मर्ज हुने हो भने साँच्चिकै सिनर्जी आउँछ,’ सीइओ राणा भन्छन्, ‘सञ्चालकबीच कुराकानी भएको छ भने मलाई थाहा भएन, व्यवस्थापनको तहमा इन्भेष्टमेन्ट बैंकसँगको मर्जरबारे औपचारिक कुराकानी भएको छैन ।’

लामो समय नम्बर वान भएर राज गरेको र सर्वाधिक धेरै लाभांश दिने बैंकको पहिचान बनाएको इन्भेस्टमेन्ट बैंकसँग मर्ज भएको अवस्थामा बैंकको आधार पनि ठूलो हुने र लगानीकर्तालाई पनि उच्च प्रतिफल दिन सक्ने हिमालयन बैंकको विश्वास छ । र, अर्को कुरा इन्भेस्टमेन्ट बैंकसँग हिमालयन बैंकको भन्दा ठूला र धेरै कर्पोरेट क्लाइन्ट छन् ।

त्यसकारण पनि हिमालयन बैंक इन्भेस्टमेन्टसँगै मर्ज हुन आकर्षित छ । र, दुबै बैंकमा पाँडे र राणा अर्थात् उच्च कुल घरानाका व्यक्ति भएकाले संस्कार पनि मिल्ने उनीहरु बुझाइ छ ।

के के छन् समस्या ?
पहिलो समस्या, हिमालयन बैंकको साझेदार रहेको हबिब बैंक निस्किएर बेलायतको सीडीसी भित्रिने प्रक्रियामा छ ।

मर्जरको पहिलो बाधक नै विदेशी साझेदार हो । हबिब बाहिरी नसकेको र सीडीसी भित्रिइ नसकेको अवस्थामा उनीहरुको सहमतिबिना हिमालयन बैंक मर्जरमा जान सक्ने अवस्था छैन ।

यही कुरालाई बुझेर इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडेले सीडीसीका प्रतिनिधिलाई इमेल गरेर हिमालयन बैंक हामीसँग गाभिँदैछ, तपाईंहरु साझेदारको रुपमा नआए हुन्छ भन्नसमेत भ्याएका छन् ।

यसबारे सीडीसीले हिमालयन बैंकसँग जानकारी लिँदैछ । यसै हप्ता हिमालयन बैंकले मर्जरबारे पनि जानकारी गराउँदैछ । सीडीसीले ‘गो अ हेड’ भनेको अवस्थामा दुई बैंकबीचको मर्जर प्रक्रिया सकरात्मकरुपमा अघि बढ्नेछ ।

सीडीसीले हबिबको सेयर नकिनेको अवस्थामा कर्मचारी सञ्चय कोषले हबिबको सेयर किन्ने र इन्भेष्टमेन्टसँग मर्जरमा जाने योजनासमेत बनाइसकेका छन् । सञ्चय कोषले पनि हबिबलाई हामी सेयर किन्न तयार छौं भन्ने जानकारी गराइसकेको छ ।

दोस्रो, इन्भेष्टमेन्टको भन्दा हिमालयन बैंकका कर्मचारीको तलब तथा सेवा सुविधा बढी छ ।

‘हिमालयन बैंकका कर्मचारीको तलब हाम्रो बैंकको भन्दा बढी छ,’ इन्भेष्टमेन्ट बैंकका एक सञ्चालकले भने, ‘हामीले चाहेर मात्रै हुँदैन, कर्मचारीको व्यवस्थापन गर्न निकै कठिन हुन्छ ।’

हिमालयनभन्दा इन्भेष्टमेन्ट बैंकका कर्मचारीको तलब औषतमा १५ प्रतिशत कम छ ।

तेस्रो समस्या, सीडीसीले मानेको खण्डमा पनि मनोजबहादुर श्रेष्ठको समूहले मान्छ कि मान्दैन भन्ने हो । मनोजबहादुर श्रेष्ठको समूह सेञ्चुरी, एभरेष्ट वा अरु कसैसँग मर्जरमा जानुपर्छ भन्ने पक्षमा छ ।

हिमालयन बैंकको अर्को ठूलो सेयरधनी हो खेतान समूह । खेतान समूह इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने कुरामा सकारात्मक छ । राणा समूहमा कुनै समस्या छैन ।

हिमालयन बैंकका अध्यक्ष तुलसीराम गौतम बैंकको व्यक्तिगतरुपमा सेयरधनी होइनन् । सञ्चय कोषका जागिरे उनी संस्थागत प्रतिनिधित्व गरेर बैंकको अध्यक्ष बनेका हुन् । गौतम व्यापारी नभएकाले भोलिको ठूलो नाफाघाटा र आफ्नो पद के होला भनेर हेर्दैन् । बरु आफू अध्यक्ष भएको बेला सरकारी नीतिअनुरुप बिग मर्जर गराएको जस लिने पक्षमा छन् ।

त्यतिमात्रै होइन, हिमालयन बैंकका अध्यक्ष गौतम राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र नियमन विभागका कर्यकारी निर्देशक देवकुमार ढकालसँग क्याम्पस पढ्दादेखिकै दोस्ती हुन् । र, अहिलेसम्म पनि सुमधुर सम्बन्ध छ । शिवाकोटी र ढकालले पनि मर्जर राष्ट्र बैंकको नीति भएको उल्लेख गर्दै गौतमलाई मर्जरमा जान प्रोत्साहन गरिरहेका छन् ।

कस्को वित्तीय अवस्था कस्तो ? मर्जपछि नम्बर वान
चालु आर्थिक वर्षको चैत मसान्तसम्म हिमालयन बैंकले २ अर्ब ३१ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको छ भने इन्भेष्टमेन्ट बैंकको २ अर्ब ४९ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको छ ।

यी २ बैंकको मर्ज भए भने नाफा ४ अर्ब ८१ करोड २६ लाख रुपैयाँ हुन्छ । र, नाफाका आधारमा पनि नम्बर वान हुने देखिन्छ ।

चैत मसान्तसम्म हिमालयन बैंकको ९ अर्ब ३७ करोड २२ लाख ८१ हजार ४२८ रुपैयाँ चुक्ता पुँजी कायम गरेको छ भने इन्भेष्टमेन्टले सो अवधिसम्ममा १४ अर्ब २४ करोड ८९ लाख ५४ हजार रुपैयाँ पुँजी कायम गरेको छ ।

मर्जरपश्चात हुने बैंकको चुक्ता पुँजी २३ अर्ब रुपैयाँको हाराहारीमा हुन्छ । र, चुक्ता पुँजीका आधारमा नम्बर वान हुन्छ ।

रिर्जभमा हिमालयनले ६ अर्ब ७८ करोड ९० लाख ५६ हजार ६०९ रुपैयाँ राखेको छ  भने इन्भेष्टमेन्टले ११ अर्ब ५७ करोड ६९ लाख २६ हजार रुपैयाँ रहेको छ ।

मर्जरपछि रिजर्भमा १८ अर्ब ३६ करोड ५९ लाख ८२ हजार ६०९ रुपैयाँ हुनेछ । र, रिजर्भमा पनि नम्बर वान हुने देखिन्छ ।

यस्तै २०७६ चैत मसान्तसम्ममा हिमालन बैंकले १ खर्ब १६ अर्ब ३२ करोड ४४ लाख ८३ हजार १०९ रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५ अर्ब ८२ करोड १० लाख ३२ हजार ९३५ रुपैयाँ कर्जा लगानी गरेर खुदब्याज आम्दानी सो अवधिमा ३ अर्ब ८४ करोड २४ लाख ६४ हजार ४५६ रुपैयाँ आर्जन गरको छ ।

सोही अवधिमा इन्भेष्टमेन्ट बैंकले १ खर्ब ५६ अर्ब ७७ करोड ९७ लाख ३१ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३८ अर्ब १८ करोड ८९ लाख ८९ हजार रुपैयाँ कर्जा लगानी गरेर १ अर्ब ४७ करोड २५ लाख ९७ हजार रुपैयाँ खुदब्याज आम्दानी गरेको छ ।

दुई बैंक मर्जर भएमा निक्षेपको आकार २ खर्ब ७३ अर्ब १० करोड ४२ लाख १४ हजार १०९ रुपैयाँको हुनेछ भने कर्जाको आकार २ खर्ब ४४ अर्ब १ करोड २१ हजार ९३५ रुपैयाँको हुनेछ । निक्षेप र कर्जाको अकारका हिसाबले पनि नम्बर वान हुने देखिन्छ ।

उक्त अवधिमा खराब कर्जा हिमालनको १.११ प्रतिशत रहेको छ भने इन्भेष्टमेन्टको २.६७ प्रतिशत रहेको छ ।

हालसम्म हिमालन बैंकको उपत्यकाभित्र १८ र उपत्यका बाहिर ४७ वटा गरेर ६६ वटा शाखा कार्यलयहरु सञ्चालनमा छन् भने इन्भेष्टमेन्ट बैंकको उपत्यकाभित्र र उपत्यका बाहिर गरेर जम्मा ८२ वटा शाखा कार्यलयहरु सञ्चालनमा रहेका छन् । दुबै बैंक मर्ज हुँदा १४८ वटा शाखा सञ्जाल हुन्छ । जुन निकै ठूलो हो ।

यी दुई बैंक गाभिए भने अझै ८/१० वर्ष अर्को बैंकले मर्जरबिना नम्बर वान हुन्छु भनेर नचिताए पनि हुन्छ । त्यसैले, नबिल, एभरेष्टजस्ता ठूला बैंकलाई पनि मर्जरमा जान दबाब पर्ने निश्चित छ ।

अरु साना बैंकहरुलाई त झनै ठूलो दबाब पर्छ । राष्ट्र बैंकले साँच्चै मर्जर चाहेको हो भने यी आपसमा गाभिन चाहेका इन्भेष्टमेन्ट र हिमालयन बैंकको मर्जर सफल बनाउन सकारात्मक र रचनात्मक भूमिका खेलिदिए पुग्छ ।


पुष्प दुलाल