हङकङ र जापान उडानमा बढी भाडा लिएको विषयमा छानबिन गर्न पर्यटन मन्त्रालयद्वारा समिति गठन



काठमाडौं । नेपालमा रहेका विदेशी र भिसा सकिएका नेपाली नागरिक उद्दार गर्ने क्रममा यात्रुबाट अस्वभाविक रुपमा बढी मूल्यमा टिकट बिक्री गरेको सम्बन्धमा छानबिन गर्नका लागि पर्यटन मन्त्रालयले समिति गठन गरेको छ ।

बुधबार गठन गरिएको समितिले ७ दिनभित्र अध्ययन गरी प्रतिवेदन पेश गर्नेछ ।

‘नेपाल एयरलाइन्सको विमान हङकङ र जापान चार्टर गर्दा ट्राभल एजेन्सीहरुले यात्रुहरुबाट बढी रकम लिएको गुनासो आएपछि मन्त्रालयले समिति गठन गरेको हो ।

विमान चार्टर गरी यात्रु ओसार्दा टिकट बिक्री गर्ने चार्टर पार्टी एवम् ट्राभल एजेन्सीले यात्रुसँग के कस्तो आधारबाट के कति भाडा लिइएको हो सत्यतथ्य छानविन गरी ७ दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ ।

साथै, आगामी दिनमा विमान चार्टर गर्दा जुन देशका लागि चार्टर गर्न लागिएको हो उक्त मुलुकको सम्बन्धित कुटनीतिक नियोगबाट यात्रुहरुको नामावलीसहितको पूर्व स्वीकृति र यात्रुसँग लिने भाडा रकम समेत खुलाएर मात्र चार्टर उडानका लागि सम्बन्धित विमान कम्पनीमा निवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

भाडादर नखुलेको अवस्थामा र चार्टर गरेको रकमको आधारमा विमान कम्पनीले नियमानुसार दिने कमिसन र अन्य मुलुकमा बुझाउनुपर्ने कर दायित्वको आधारमा प्रस्तावित भाडा दर उचित भएको देखिएमा मात्र चार्टर उडान अनुमति प्रदान गरिने व्यवस्था मिलाइएको व्यहोरा समेत अनुरोध छ ।

पर्यटन सहसचिव सुरेश आचार्यको संयोजकत्वमा निर्देशक सुरेन्द्र थापा, पर्यटन विभाग सदस्य प्रमुख, हवाई यातायात महाशाखा, नेपाल नागरिक उड्डयन प्राधिकरण सदस्य, कानून मन्त्रालयका उपसचिव, र पर्यटन मन्त्रालयका सदस्य सचिव राजन नेपाल सम्मिलित समिति गठन गरिएको छ ।


क्लिकमान्डु