काउन्टर ग्यारेन्टीमा फसेको २ अर्ब उठेपछि इन्भेष्टमेन्ट बैंकका सीइओको खुसी- ठूलो खड्गो टर्यो



बिहीबार बिहान साढे ९ बजे नेपाल इन्भेष्टमेन्ट बैंकको दरबारमार्गस्थि मूख्य कार्यालय पुग्दा बैंकका सीइओ ज्योति पाण्डे खुसीले गदगद् थिए ।

३ दशकभन्दा बढीको करियरमा २ वर्षअघि भिजेको खिलले पाण्डेलाई निकै तनाव दिएको थियो । मंगलबार त्यो खिल निस्कियो । इन्भेष्टमेन्ट बैंकका पक्षमा इटालियन अदालतले २१ पेज लामो फैसला गर्यो ।

अर्थात् तनहुँ हाइड्रोमा इटालियन ठेकेदार सीएमसीका लागि काउन्टर ग्यारेन्टी बसेका कारण फसेको २ अर्ब रुपैयाँ फिर्ता आउने भयो ।

‘ठूलो खड्गो टर्यो,’ सीइओ पाण्डेले क्लिकमाण्डूसँग खुसी साटे, ‘इटालीको अदालतले हाम्रो पक्षमा फैसला गरेको छ, हामीले भुक्तानीका लागि दाबी पठाइसकेका छौं, केही दिनभित्रै हाम्रो खातामा पैसा आउँछ ।’

इन्भेष्टमेन्ट बैंक तनहुँ जलविद्युत् लिमिटेडको पक्षमा इटालीको इटालीको इन्टेन्सा सन्पाओला एसपीएको काउन्टर ग्यारेन्टी बसेको थियो ।

काउन्टर ग्यारेन्टीको रकम नतिरी इटालियन ठेकेदार भागेपछि पाण्डेलाई तनाव शुरु भएको थियो । किनभने त्यो काउन्टर ग्यारेन्टी बस्नका लागि पनि उनले निकै ठूलो मिहेनत गरेका थिए । ठेकेदारले बदमासी नगरेको भए प्रत्येक वर्ष बैंकलाई ८ करोड रुपैयाँभन्दा बढी कमाइ हुन्थ्यो ।

‘निकै ठूलो मिहेनत गरेर काउन्टर ग्यारेन्टीको बिजनेश लिएको थिएँ, काउन्टर ग्यारेन्टी बस्न पाएका दिन निकै खुसी भएको थिएँ, उसैले धोका दिँदा स्ट्रेस त हुने नै भयो,’ उनले प्रष्ट पारे, ‘तर, मलाई के चाहीँ विश्वास थियो भने त्यो पैसा एकदिन अवश्य उठ्छ, जुन आज उठ्यो पनि ।’

ठेकेदार भागेपछि तनहुँ हाइड्रोले काउन्टर ग्यारेन्टी बसेको इन्भेष्टमेन्ट बैंकसँग रकम दाबी गरेर भुक्तानी लिएको थियो ।

बैंकिङमा ग्यारेन्टी बस्ने र काउन्टर ग्यारेन्टी बस्ने व्यवसायिक काम हो । तनहुँ हाइड्रोपावरको ठेकेदार कम्पनी ओअपरेटिभा मुराटोरी एन्ड सिमेन्टिस्टी (सीएमसी)– सीएमसी दि रेभेना सोसाइटाका लागि नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआईबीएल)लाई ८५ करोड १४ लाख १६ हजार १२७ रुपैयाँ र युरो ८७ लाख ४९ हजार २३९ युरो (कुल रकम २ अर्ब १० करोड रुपैयाँ) को काउन्टर ग्यारेन्टी जारी गरेको थियो ।

यसैबीच, एनआईबीएलले सन् २०१९ फेब्रुअरीमा तनहुँ जलविद्युत् लिमिटेडकातर्फबाट ठेकेदार कम्पनी सीमएसीले आफ्नो करारअन्तर्गतको दायित्व उल्लंघन गरेको दाबी प्राप्त गर्यो । इन्टेन्सा सन्पाओला एसपीएमाथि बैंक ग्यारेन्टी राशीका लागि एनआईबीएलले माग दाबी गरेपछि उसले इटालीको ट्रिबुनल डे बोलोनाको आदेश भन्दैै रकम भुक्तानीका लागि अस्वीकार गर्यो ।

लामो अदालती मुद्दापछि ट्रिबुनाले बोलांगाको पूर्णइजालसले ९ जुन २०२० (२७ जेठ २०७७)मा यसअघिको इन्टेन्सा सन्पाओला एसपीएले एनआईबीएललाई बैंक ग्यारेन्टी रकम तिर्नबाट रोक्ने आदेशलाई खारेज गरेको छ ।

यो आदेशले अघिल्लो अदालतको आदेशलाई अमान्य घोषित गरेसँगै नेपाल इन्भेष्टमेन्ट बैंकलाई इटालियन बैंकबाट प्रभावकारीरूपमा बैंक ग्यारेन्टीको रकम प्राप्त गर्न आधार प्राप्त भएको छ । अबको केही दिनभित्र इटालीको बैंकबाट २ अर्ब रुपैयाँ आउने सीइओ पाण्डेले सुनाए ।

‘३४ वर्षको बैंकिङ करिअरमा बैंकिङ ग्यारेन्टीमा यतिको समस्या भोगेको थिइँन, सिएमसीको पैसा नआएपछि केही समय त ग्यारेन्टी बस्ने व्यवसाय नै नगर्ने भन्ने मनमा नआएको भने होइन,’ उनले भने ।

तर, बैंकिङमा ग्यारेन्टी बस्नु नै पर्ने थियो हस्ताक्षर गर्न नै डरको महशुस भएको अनुभव पाण्डेसँग छ ।

नेपाली बैंकसँग ठेकेदार कम्पनीको काउन्टर ग्यारेन्टीको विवाद देखिएपछि विकास निर्माणको काममा नै समस्या हुने खतरा देखिएको थियो । मेलम्चीको सुरुङ खन्न आएको चाइना रेल्वेसँग यसअघि हिमालयन बैंक र बैैंक अफ काठमाण्डूको ग्यारेन्टी विवाद थियो । चिनियाँ बैंकले पैसा नदिएर उतै मुद्दा हालेको थिए ।

नेपाल इन्भेष्टमेन्ट बैंकले पनि भारतको बैंकसँग विगतमा केही समय काउन्टर ग्यारेन्टीको विवाद भोगेको थियो । तर,केही समयमा नै त्यो मुद्दा किनारा लागेर भारतको आइसीसीआईसी बैंकले पैसा पठाएको थियो ।

नेपाललाई सानो देश भएको र सानो बैंक भएको हुँदा विदेशी बैंकले हेपेको कारण ग्यारेन्टीमा यतिठूलो विवाद आएको अनुभव पाण्डेको छ ।

‘विदेशका ठूला बैंकहरुले हामीलाई सानो देशको सानो बैंक भनेर हेपेको कारण कानूनी अड्चन उत्पन्न गराउने काम गरे, जसको कारण पैसा लिनको लागि समस्या भयो,’ उनले भने ।

सिएमसी फर्केपछि नेपाल इन्भेष्टमेन्ट बैंकले काउन्टर ग्यारेन्टी वापतको रकम लिनको लागि इटालीको इन्टेन्सा बैंकलाई पैसा फिर्ता गर्नको लागि पत्राचार गर्यो । पाण्डेसहित इन्भेष्टमेन्टका अधिकारीहरु सजिलै पैसा फिर्ता हुनेमा ढुक्क थिए । यतिका वर्षसम्म ग्यारेन्टी बस्ने काम गरेको हुँदा समस्या ठूलो नहोला भन्ने बुझाई थियो ।

तर, वास्तविकता यस्तो भएन । बैंकले कुनै जवाफ नदिएपनि चिसो पसेको र तनावको स्थिति शुरु भएको पाण्डे बताउँछन् ।

‘इटालीको दोस्रो ठूलो बैंकले यस्तो गर्ला भन्ने अनुमानपनि थिएन,मुद्दा अदालतमा गयो र स्टे हाम्रो पक्षमा आएन,’ उनले भने ।

पाण्डे आफैँ अदालतमा मुद्दा लड्नको लागि इटाली पुगे । र, ४ घन्टा अदालतमा उपस्थित पनि भए ।

तनहुँ हाइड्रोलाई भने बैंकले इटालीको बैंकबाट पैसा नआएपनि भुक्तानी गरेको थियो । यो वर्षको असारसम्ममा पैसा नआएमा २ अर्ब रुपैयाँ नेपाल इन्भेष्टमेन्ट बैंकले प्रोभिजन गर्नुपर्ने थियो ।

कोरोनाको कारण त्यसैपनि बैंकको ब्याज नउठेको कारण यो वर्ष नाफा अघिल्लो वर्षजस्तो हुने थिएन । त्यसमा सिएमसीको काउन्टर ग्यारेन्टी बस्दा तिरेको पैसा नआएमा बैंकले प्रोभिजनको लागि छुट्टाउनुपर्ने रकम ठूलो नै हुने थियो ।

मुद्दा लड्नका लागि बैंकको ५ करोड रुपैयाँ खर्च भएको पाण्डेले सुनाए ।

काउन्टर ग्यारेन्टीको विवादले कसको ग्यारेन्टी बस्ने वा नबस्ने त्यो कुरा भने बुझ्न निकै कठिन भएपनि त्यही शिक्षा डेढ वर्षमा सिकेको अनुभव पाण्डेसँग छ ।

‘नेपाली बैंकको बिजय भयो,’ उनले भने ।


पुष्प दुलाल