लकडाउन सकिएको ६ महिनामा भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्छौः पर्यटनमन्त्री भट्टराई



काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईले लकडाउन सकिएको ६ महिनाभित्र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने दाबी गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री भट्टराईले भने, ‘कोरोनाको असर नभएको भए यतिबेला थुप्रै माननीयज्यूहरु भैहरवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दोहा कतार जाने सौभाग्य पाउनुहुन्थ्यो ।’

उनका अनुसार भैरहवाको विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सन् २०२० को जनवरी १ मा निर्माण सम्पन्न भइ सञ्चालनमा आउने भनिए पनि समयमा निर्माण हुन सकेको थिएन । त्यसपछि विमानस्थल निर्माणको समय ३ महिना थप गरी मार्च महिनासम्म पुर्याइएको थियो ।

उनले पोखरास्थित विमानस्थलको निर्माणको काम भइरहेको र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतीको काम पनि भइरहेको बताए ।

उनले निजगढस्थित विमानस्थलको निर्माणको काम अगाडि बढाइएको बताए ।

उनका अनुसार मुलुकभरका ५४ वटा विमानस्थलमध्ये ३४ वटा विमानस्थल कालोपत्रे भएका छन् भने आगामी दिनमा बाँकी विमानस्थलमा पनि कालोपत्रे गरिने बताए ।

साथै तराइको विमानस्थलमा सबै विमानस्थलमा रात्रिकालिन सेवा शुरु गर्ने बताउँदै राजविराजमा केही समयपछि नै रात्रिकालिन उडान शुरु गर्ने बताए ।

उनले विमानस्थल निर्माण गर्दा ३ वटा मापदण्ड अपनाउनुपर्ने बताउँदै विकट भएको ठाउँमा, प्रचुर पर्यटनको सम्भावना भएको र प्रचुर व्यवासयिक सम्भावना भएका ठाउँमा मात्रै विमानस्थल निर्माण हुने बताए ।

यद्यपि आगामी आवको बजेटमा दाङको नारायणपुरमा भने नयाँ विमानस्थल निर्माण गर्ने उल्लेख गरिएको छ । जबकी दाङको टरिगाउँमा भएको विमानस्थल नियमित सञ्चालन हुन सकेको छैन । दाङ न त विकट छ, न त पर्यटकको अथाह सम्भावना छ । त्यस्तै, प्रचुर मात्रामा व्यवसायिक प्रतिफल हुन नसकेको यसअघिको विमानस्थलले प्रमाणित गरिसकेको छ ।


क्लिकमान्डु