हचुवाको भरमा बन्द गरिएको सेयर बजार, धितोपत्र बोर्डको भूमिकामा प्रश्न



काठमाडौं । नियामक निकाय कमजोर बन्दा त्यसको फाइदा अन्यले कसरी फाइदा लिन सक्छन भन्ने कुराको एउटा प्रमाण नेपालको पुँजी बजार हो ।

सरकारले लकडाउन गरेसँगै नेपालको सेयर बजार बन्द प्राय छ । स्थापनाको २८ औं वार्षिकउत्सव मनाएको धितोपत्र बोर्ड शसक्त नियामक निकाय अझै बन्न सकेको छैन ।

बीचमा २ दिन सेयर बजार खुला भएको थियो । त्यो बेलामा पनि २ दिन नै बजारमा नकारात्मक सर्किट लाग्यो र बन्द भयो । त्यसपछि बजार खुलेको छैन । असार ३२ गतेसम्म बजार बन्द हुने भन्दै नेप्सेले सूचना जारी गरेको छ । यता सरकारले भने आइतबारदेखि लकडाउनलाई निकै. खुकुलो बनाएको छ ।

लकडाउनको समयमा उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, उद्योग परिसंघ लगायत सबै सरोकारवाला निकायले उद्योग व्यवसाय खोल्न पटक पटक आग्रह गरेपछि अहिले बजारहरु खुलेका छन् ।अरु सबै निकायले बजार खुलाउन दवाव दिएपनि दुईचारजना भेला भएर लगानीकर्ताको संगठन बनाएका व्यक्तिहरुले अहिलेसम्म बजार खुलाउनको लागि कुनै पहल समेत गरेका छैनन् । संविधानले संघ संस्था खोल्न दिएको अधिकार प्रयोग गरेर खुलेका संस्थाहरुले कति लगानीकर्ताको प्रतिनिधित्व गर्छन् त्यो समेत प्रष्ट छैन ।

कमजोर नियामक निकायको फाइदा उठाँउदै केही लगानीकर्ताहरुले बजार बन्द गर्न दबाब दिए । फलस्वरुप अहिलेपनि बजार बन्द रहेको छ । धेरैले यो बेलामा पनि बजार खुला गर्नुपर्छ भनेर भनेपनि केही लगानीकर्ताको संगठनको दबाबमा बजार खुल्न सकेको छैन । यसको असर सेयर लगानीकर्ता र समग्र बजारलाई पर्छ । यसरी नै सेयर बजार खोल्न नदिने हो भने लाभांश खानको लागि मात्र सेयर कारोबार गर्नु औचित्य छैन । सेयर बजार घट्छ भनेर डराएर बजार नखोल्ने हो भने बजार जुवाघरभन्दा फरक नभएको प्रष्ट भएको छ ।

अहिले संसारका प्रायः सबै देशको बजार खुला रहेको छ । तर नेपालको सेयर बजार चैत ११ गतदेखि बिचमा २ दिन बाहेक बन्द नै रहेको छ ।
२ दिन बजार खुल्दा २ दिन नै नकारात्मक सर्किट लागेपछि  बजार घटने डरले बन्द गरियो ।  सेयर बजारका एक जानकारका अनुसार बजार अहिलेसम्म खुलेको थियो भने बजारमा केही सुधार हुने उनको तर्क छ । उनका अनुसार ‘बजार खुलेको भए यो बिचको अवधिले नेपालको बजार कता जाने थियो भनेर अध्ययन पनि गर्न सकिने थियो ।’

सुरुदेखि बजार खोल्दा घटेर ११ सयमा नै पुगेपनि अहिले १२ सयको हाराहारीमा पुग्ने जानकारहरुको भनाइ छ ।

अहिले सेटलमेन्टको काममा ब्रोकरलाई समस्या भएपनि लगानीकर्तालाई कुनै समस्या नभएको नेप्सेका अधिकारीको भनाइ छ ।  धितोपत्र बोर्ड,नेप्से ब्रोकरले लगानीकर्तालाई तालिम दिन नसकेको कारण पनि अहिलेको समस्या आएको उनको तर्क छ ।

नियामकले भनेपनि ब्रोकरले आफ्ना कर्मचारी घर गएको लगायतका बाहना बनाएर बजार नखुल्दा नियामक निकायको भूमिकामा नै प्रश्न उठेको छ । नियामकले गतिले भूमिका नखेल्दा त्यसको असर लगानीकर्ता र ब्रोकरलाई परेको छ । यता लगानीकर्ताका संगठनहरु ठूला कुरा गर्ने र बजार घट्छ भन्दा अनसन बस्ने र सामान्य प्रविधिमैत्रीपनि बन्न नसक्ने खालका छन् । त्यसको पनि असर देखिएको छ ।

यसले गर्दा नेपालमा भित्रने विदेशी लगानीमा समेत प्रश्न उठने भएको छ । सेयर बजार भनेको मन लागेको बेला भित्रने र मन लागेको समयमा बजारबाट बाहिरिने भएपनि अहिले त्यो अवस्था नरहेको देखिएको छ ।

जानकारका अनुसार यो बेला बजार खुलेको भए बजार घटनु र बढनु भन्दा पनि आगामी मौद्रिक नीतिमा के कुरा समावेश गर्ने के नगर्ने भन्ने पनि प्रस्ट हुनेमा अहिले बजार बन्द गर्दा त्यो सम्भावना पनि न्यून देखिएको छ ।


क्लिकमान्डु