कृषि क्षेत्रको बजेट ८० अर्बको हाराहारीमा छ, कृषिलाई समग्रतामा हेरौंः अर्थमन्त्री खतिवडा



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षमा कृषिको क्षेत्रमा झण्डै ८० अर्बको हाराहारीमा बजेट विनियोजन गरेको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा राजस्व र व्ययको बार्षिक अनुमानमा सांसदले सोधेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा. खतिवडाले यस्तो बताएका हुन ।

उनले कृषि मन्त्रालयलाई मात्रै कति बजेट गयो भनेर हेर्नु भन्दा पनि त्यससँग जोडिएर आउने सबैलाई हेर्नै आग्रह गरे ।

‘कृषि उत्पादनमा चाहिने सामग्री मात्रै होइन, कृषि भनेको भूमि हो । भूमिको लागि भूमि व्यवस्था मन्त्रालयमा बजेट रहेको छ, त्यो कृषि मन्त्रालयले व्यवस्थापन गर्दैन । भूमि बैंकको बजेट त्यहाँ रहेको छ । सहकारीले कृषि कार्य गर्न दिने अनुदान भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा रहेको छ ।

हाट बजारको विकास, शित भण्डार, बिउ पुँजी दिने विषय सहकारी मन्त्रालयमा छ’ उलने भने ‘कृषिको लागि नभइ नहुने सिंचाइ हो, त्यसको बजेट उर्जा मन्त्रालयमा छ । कृषिको आधुनिकीकरण र यान्त्रिकिकरणमा चाहिने विद्युत हो । त्यसको लागि उर्जा मन्त्रालयको ग्रामिण विद्युतिकरणमा रहेको छ ।’

उनले कृषिको भण्डारण, बजारिकरणको विषय उद्योग वाणिज्य मन्त्रालयमा रहेको स्मरण गराए । मन्त्री खतिवडाले कतिपय ग्रामिण सडकको विषय स्थानीय विकास पूर्वाधार मन्त्रालयमा रहेको बताए ।

‘यसरी हेर्दा कृषिको सम्पूर्ण उत्पादन सृखलालाई हेर्नुपर्ने हुन्छ । कृषि सामग्रीदेखि उत्पादित सामग्रिकको बजारिकणसम्मलाई हेर्नुपर्छ’,उनले भने ‘त्यो प्रत्येक बजेट शृखलालाई हेर्ने हो भने कृषि क्षेत्रलाई झण्डै ८० अर्बको हुन आँउछ, मन्त्रालयगत रुपमा बाँडफाँड गर्दा प्रशासनिक रुपमा बाँडफाँड गर्दा जति आएको छ त्यति देखिने हो । कृषिलाई समग्रतामा हेरौं । कृषि सामग्रीलाई एक ठाँउमा राखेर हेरौ ।’

कृषि क्षेत्रमा जनशक्ति उत्पादन गर्नको लागि कृषि क्याम्पसमा जाने अनुदानलाई पनि हेर्न सुझाव दिए । कृषिलाई आधुनिकिकरण, व्यवसायिकरण गराउने पनि उल्लेख छ । कृषि क्षेत्रको लागि प्रदेश र स्थानिय तहबाट पनि धेरै नै बजेट जाने भएकोले त्यसलाई नबिर्सन आग्रह गरेका छन् ।


क्लिकमान्डु