५ लाख रोजगारी सिर्जना गर्ने अर्थमन्त्रीको घोषणा



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनाको कारणले वैदेशीक रोजगारीबाट फर्किएर धेरै नेपालीहरु आएको र अझ आउने सम्भावना रहेका हुँदा बजेटमा सरकारले रोजगारीलाई प्राथमिकता राखेको बताएका छन् ।

उनले बिहिबार सार्वजनिक आगामी आर्थिक वर्षको बजेट सम्बन्धी पत्रकार सम्मेलनमा आन्तरिक र वाह्य क्षेत्रबाट रोजगारी गुमाएका युवाहरुलाई स्वरोजगार बनाउन अथवा रोजगारको अवसर प्रदान गर्नु सरकारको दायित्व भएको हुँदा बजेटमा रोजगारीलाई प्राथमिकता दिइएको बताए ।

‘कोरोनाको कारणले कतिपय व्यवसायहरु सुचारु भएका छैनन्, त्यस कारण काममा अवरोध भएको छ र काम टुट्ने सम्भावना बढ्दो भने कतिपयले रोजगारी गुमाइसकेका छन्,’ उनले भने,‘वैदेशिक रोजगारबाट मानिसहरु फर्किएर आउँछन्, उहाँहरुलाई हामीले श्रम बजारमा जोड्नु पर्छ ।’

सोही कारणले अतिरिक्त श्रम सिर्जना गर्नु पर्ने भएकाले रोजगारीलाई प्राथमिकता दिएको उनको भनाई छ ।

यसैगरी, कोरोनाले श्रम बजारमा ल्याएको समस्यालाई अवसरको रुपमा लिएर बजेटमा रोजगारीलाई प्राथमिकता दिइएको उनले बताए ।
‘नेपाली श्रम बजारमा विदेशी श्रमिकहरु ठुलो संख्यामा काम गरिरहेका थिए र हाल पनि गरिरहेका छन्,’ मन्त्री खतिवडाले भने ‘उद्योगी व्यवसायीहरुले दिएको तथ्यांक अनुसार त्यो संख्या दशौँ लाख छ ।’

दशौँ लाख विदेशी कामदारहरुले नेपाली श्रम बजारमा कामको फाइदा लिइरहेका हुँदा अब त्यस्ता अवसरहरु नेपालीलाई दिन सरकार अग्रसर भएको उनको तर्क छ ।

‘नयाँ रोजगारी सिर्जना गर्नु भन्दा विदेशी श्रमिकले पाएको अवसर नेपालीलाई नै दिन सकेमा ४/५ लाख रोजगारी यसैपनि बढ्छ,’ मन्त्री खतिवडाले भने ।

नयाँ रोजगारीको अवसरमा विभिन्न प्रकारका सीप युक्त रोजगारीको रहेको हुँदा कार्यस्थलमा नै तालिम प्राप्त गरी सीप दिएका युवाहरुलाई विभिन्न प्रतिष्ठानहरुले २ वर्षसम्म न्यूनतम काम लगाउन पर्ने सम्झौता गरेर रोजगारीको सुनिश्चतता गरिने उनले बताए ।

‘तालिम प्राप्त युवाहरुलाई रोजगारी दिने प्रतिष्ठानहरुले उनीहरुलाई दिने परिश्रमिकको ५० प्रतिशत ३ महिनासम्म सरकारले ब्यहोर्ने छ’ उनी भन्छन् ‘तालिममा हुने खर्च सरकारले सोझै सरकारले प्रतिष्ठानलाई उपलब्ध गराउने व्यवस्था गरेका छौँ ।’

सो बाहेक अन्य मन्त्रालयको कार्यक्रममा पनि रोजगारी सिर्जना हुन्छ त्यस तर्फ केन्द्रित हुने उनले बताए । साथै राष्ट्र बैंकबाट प्रवाह हुने पुनरकर्जा, बैंक तथा वित्तीय संस्थाबाट प्रवाह गर्ने स्वरोजगार कर्जा, कृषि बीमाको माध्यमबाट जोखिम कम गरी कृषि व्यवसायमा प्रोत्साहन गरेर क्षेत्रगत रुपमा रोजगारीका कार्यक्रमहरु अघि बढाएको उनले बताए ।


क्लिकमान्डु